Nov 20, 2018
मंसीर ६ गते करदाता र कर प्रशासन बीच मैत्रीपूर्ण फूट आयोजना हुँदै: महासंघ सचिवालयमा कर परामर्श सेवा केन्द्र स्थापना, मुलुकको समृद्धिमा सरकार निजी क्षेत्र सहकार्यमा जोड (२०७५/०८/०४)

नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र आन्तरिक राजस्व विभागको सह-आयोजनामा करदाता र कर प्रशासन बीच यही मंसिर ६ गते विहीवार, काठमाडौंमा एकदिने मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । महासंघ र अर्थमन्त्रालय/आन्तरिक राजस्व विभागको सहकार्यमा पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना हुन लागेको हो ।  

  

विहीवार विहान ७:३० बजेबाट नेपाली सेनाको हेडक्वार्टको फूटबल मैदान, भद्रकालीमा हुने फूटवल प्रतियोगितामा सहभागिताका लागि आवश्यक जर्सी महासंघले उपलब्ध गराउने र जुत्ता सहभागी स्वयंले नै व्यवस्था गर्नुपर्नेछ । खेलको शुभारम्भ माननीय अर्थमन्त्री, अर्थ मन्त्रालयका सचिव, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सहित पदाधिकारीहरूबाट हुने छ । उक्त खेलमा भाग लिई कर प्रशासन र निजी क्षेत्र बीच सम्बन्ध प्रगाढ बनाई कर प्रशासनलाई अझ प्रभावकारी बनाउने उद्देश्यमा आ-आफ्नो स्थानबाट सहयोग गर्न महासंघले आफ्ना सवै सदस्यहरूमा अपिल समेत गरेकोछ । 

यतिखेर नेपाल सरकार अर्थमन्त्रालय/आन्तरिक राजस्व विभाग र नेपाली निजी क्षेत्र विभिन्न कार्यक्रमका साथ “कर : समृद्ध नेपाल, सुखी नेपालीको भर” भन्ने नाराका साथ सातौं राष्ट्रिय कर दिवस मनाई रहेका छन् । कर सप्ताह कार्यक्रमको शुरुवात मंसीर १ गते भई समापन आगामी ७ गते हुँदैछ । यसै अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ सचिवालयमा स्थापना गरिएको कर परामर्श केन्द्रको राजस्व सचिव शिशिरकुमार ढुंगाना र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले एक समारोहका बीच महासंघ सचिवालयमा शुभारम्भ गर्नुभयो । सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, आन्तरिक राजस्व  विभागका महानिर्देशक विष्णु प्रसाद नेपाल, सो मन्त्रालय अन्तगर्तका विभागिय प्रमुखहरू, सरकारका उच्च अधिकारी, महासंघको कर तथा राजस्व समितिका सभापति, उप-सभापति, कार्य समिति सदस्यहरू, उद्यमी व्यवसायी लगायतको उपस्थिति थियो । 



सो केन्द्रबाट देशका सबै ठाउँबाट आएका कर राजस्व सम्बन्धी गुनासाहरूलाई संकलन गरी प्रत्येक हप्ताको शुक्रवार गुनासा उपर छानवीन गर्ने, निप्टारा लगाउने र तत्तकाल निप्टारा लगाउन नसकिने गुनासाहरूलाई माथिल्लो निर्णय गर्ने निकाय समक्ष पुर्‍याइने छ । केन्द्रबाट राजस्व प्रशासनलाई बढी व्यवहारिक, प्रभावकारी र जनमैत्री बनाउने सरकारको अभियानमा सहयोग पुग्ने विश्वास महासंघले लिएको छ । साथै महासंघले आफूलाई परेका समस्या गुनासाहरू सोही केन्द्रमार्फत समाधानका लागि मद्दत लिन आग्रह समेत गरेको छ । 

परामर्श केन्द्रको समुदघाटन पश्चात महासंघ सचिवालयमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष राणाले मुलुकको आर्थिक विकासका लागि सरकारले ल्याउने सवै प्रकारको कार्यक्रममा सहयोग गर्न महासंघ तयार रहेको विश्वास दिलाउनु भयो । सरकारको कर प्रशासन सधै व्यवसायमैत्री हुनुपर्ने र कर तिर्ने वातावरण निर्माणमा सदैव चनाखो हुनुपर्नेमा समेत जोड दिनु भयो । अध्यक्ष राणाले मुलुकको अर्थतन्त्र अपेक्षाकृत सुधार हुन नसकेको तर्फ गुनासो गर्नुहुंदै सरकारले औद्योगिक विकास, आर्थिक विकासका लागि आवश्यक अध्ययन अनुसन्धानमा बढी भन्दा बढी लगानी गर्नुपर्ने समेत सुझाव राख्नु भयो । यसक्रममा उहाँले विभिन्न विकसित देशहरूको उदाहरण समेत दिनु भयो । 

कार्यक्रमका मुख्य अतिथि अर्थमन्त्रालयका राजस्व सचिव ढुंगानाले सरकार निजी क्षेत्रको साझा चासो भनेकै मुलुकको विकास र जनताको समृद्धिनै रहेकाले निजी क्षेत्रलाई सदैव साथ लिएर कार्य गर्ने विश्वास दिलाउनु भयो । अर्थमन्त्रालयले चालेका सवै प्रयासमा महासंघले पुर्‍याएको सहयोगको उहाँले प्रशंसा पनि गर्नुभयो । निर्यातमुलक उद्योगलाई बढावा दिई आयात प्रतिस्थापन गर्नु सरकारको मुख्य लक्ष्य भएकाले यो चुनौतीपूर्ण कार्यमा निजी क्षेत्रको साथ विना सम्भन नहुने भएकाले मुलुकभित्र उद्योग व्यवसायको विकासमा निजी क्षेत्रलाई सक्रियतापूर्वक लाग्न समेत आग्रह गर्नुभयो । दोहोरो करका विषयमा हालै गठित एक अधिकार सम्पन्न समितिले मन्त्रिपरिषद् समक्ष सुझाव पेश गरी सकेकाले यस विषयमा छिट्टै निर्णय आउने समेत स्पष्ट पार्नुभयो । साथै उहाँले अर्थमन्त्रालय करको दायरा बढाउने कार्यमा तीव्रताका साथ लागि परेको पनि बताउनु भयो । 

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको निजी क्षेत्र दक्षिण एशियामै बढी कर तिर्नेमा देखिएको भन्दै चालु आवको पहिलो त्रैमासमा लक्ष्य भन्दा ३३.४ प्रतिशत बढी कर संकलन भएको बताउनहुँदै देशको प्रगति देख्नेका लागि यो अत्यन्त सुखद समाचार भएको बताउनु भयो । तर सरकारले उद्योग व्यवसायको विकास र विस्तार नभएको तर्फ पनि सचेत भई के कारणले उद्योग व्यवसाय विस्तार हुन सकिरहेको छैन, लगानी आइरहेको छैन त्यसको सुक्ष्म अध्ययन गरी सोही अनुसार सुधार गर्न आग्रह समेत गर्नुभयो । सरकारी निकायहरू बीचनै समन्वय नहुँदा एक निकायले दिएको सुविधा अर्को निकायले नदिने परिस्थितिले उद्योगी व्यवसायी पिडित भएको उहाँले उदाहरणहरू प्रस्तुत गर्नुृभयो । 
कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक नेपालले कर तिर्ने वातावरणलाई अभिप्रेरित गर्ने उद्देश्यले कर सप्ताह कार्यक्रम मनाउने प्रथाको शुरुवात गरिएको स्पष्ट पार्नुभयो । यसमा निजी क्षेत्रको साथ र सहयोगका लागि उहाँले धन्यवाद समेत दिनुभयो । 

कार्यक्रममा आन्तरिक राजस्व विभागबाट आर्थिक ऐन २०७५ ले प्रदान गरेका छुट, सुविधा र अनलाईन प्रणालीबाट कर तिर्ने व्यवस्था सम्बन्धमा प्रस्तुती समेत भएको थियो । 

कार्यक्रममा महासंघको कर तथा राजस्व समितिका सभापति अशोक कुमार तोदीले धन्यवाद मन्तव्य दिनु भएको थियो भने उप-सभापति कृष्ण दुलालले आगामी विहीवार आयोजना हुने फुटवल प्रतियोगिता वारे जानकारी गराउनु भएको थियो र अर्का उप-सभापति सुनिलगोपाल श्रेष्ठले फूटवल कार्यक्रमको लजिष्टिक सहयोगका विषयमा प्रष्ट पार्नु भएको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by