Oct 12, 2018
उवासंघ चितवनको शुभकामना आदान प्रदान कार्यक्रम

२०७५ असोज २६ गते

विजया दशमी, शुभदिपावली, नेपाल संवत् ११३९ एवं छठ पर्व २०७५ को अवसरमा उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । उद्यमी व्यवसायी, स्थानिय प्रशासन, सुरक्षा निकाय प्रमुख, राजनैतिकदलका प्रमुखहरुको उपस्थितिमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सबैलाई स्वागत गर्दै उद्योग वाणिज्य संघ-चितवनका अध्यक्ष सहनलाल प्रधानले हिन्दुहरुको महान चाड बडा दशैं,तिहार, नेपाल संवत एवं छठ पर्वको अवसरमा सबैलाई शुभकामना ब्यक्त गर्नु भयो । सोहि कार्यक्रममा बोल्दै अध्यक्ष प्रधानले समृद्ध महानगरको विकासका लागि उवासंघ चितवन स्थानिय निकायसंग सहकार्य गर्न तत्पर रहेको बताउंदै बर्तमान अवस्थामा आवश्यकतामा रहेको सिटिहल, रिङरोड, लिंकरोड, रंगशाला एव बजारका मुख्य स्थानहरुमा फ्लाई ओभर ब्रिज जस्ता पूर्वाधार विकासका कामहरुलाई तदारुकताका साथ अगाडी बढाउन महानगरपालिका तथा राजनैतिक दलहरुलाई अनुरोध गर्नु भयो । साथै संघको परिसर संगै जोडिएको पर्यटकिय स्थल नारायणी नदि संरक्षणमा उवासंघले नेतृत्व लिन तयार भएको बताउंदै सो सम्बन्धमा आवश्यक व्यवस्थाका लागि अनुरोध गर्नु भयो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले विगत देखि वर्तमानसम्म महानगरको विकासमा निजी क्षेत्रको हैसियतमा उद्योग वाणिज्य संघ-चितवनले पुर्याएको योगदानको कदर गर्दै आगामी दिनहरुमा पनि निजी क्षेत्रसंग सहकार्य गर्न महानगरपालिका तयार रहेको बताउनु भयो । कार्यक्रममा उहांले राजनैतिक दल, उद्यमी व्यवसायीहरुको समन्वयमा समृद्ध महानगर बनाउने अभियानमा सबै अगाडि बढ्न अनुरोध गर्दै आगामी २ बर्षमा सबैले अनुभूति गर्ने खालको महानगर निर्माण हुने विश्वास गर्नु भयो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेउवामहासंघका केन्द्रिय सदस्य कल्याण जोशी, उवासंघ-चितवनका निवर्तमान अध्यक्ष एवं नेउवामहासंघ प्रदेश नं. ३ का उपाध्यक्ष राजन गौतम, पूर्व अध्यक्ष मित्रराज दवाडी, चितवन उद्योग संघका अध्यक्ष्ँ भेषराज दवाडी, उवासंघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, नेपाली काँग्रेसका जिल्ला सचिव राजिव न्यौपाने, नेकपाका जिल्ला नेता तेजेन्द्र खड्का, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, औषधि व्यवसायी संघका अध्यक्ष बद्रि प्रसाद खनाल, लागयताले आ-आफ्नो तर्फबाट शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने संघका  कार्यकारी निर्देशक गौरव खतिवडाले सञ्चालन गर्नु भएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by