Sep 30, 2018
महिला उद्यमी राष्ट्रिय कार्यशाला गोष्ठी तथा कर्पोरेट नाइट : महिला उद्यमशीलता प्रवर्द्धनका लागि विज्ञहरुबाट महत्वपूर्ण सुझाव प्रस्तुत (२०७५/६/१५)
मुलुकभित्र महिला उद्यमशीलता प्रवद्र्धनका लागि व्यवसाय सम्बद्ध नीति, कानुन र नियमनको वातावरण हुनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । 

उद्यमी मैत्री प्रशासन, व्यवसाय प्रवद्र्धन र सम्बद्र्धनमा सहयोगी वातावरण, पूँजीमा पहुँच र सुलभता र न्यूनतम आधारभूत पूर्वाधार आवश्यक रहेको पनि विज्ञहरूको जोड छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा हालै ललितपुरमा आयोजित महिला उद्यमी राष्ट्रिय कार्यशाला गोष्ठी तथा कर्पोरेट नाइट (Women-Entrepreneurs National Conference and Corporate Night -2018) मा विज्ञहरूले सो कुरा औल्याएका हुन । 



सरकारी, निजी र बैंकिङ क्षेत्रका तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको उक्त कार्यक्रममा तथ्यांक विभागद्वारा हालै सार्वजनिक राष्ट्रिय आर्थिक गणना २०७५ मा मुलकभर ९ लाख २२ हजार चारसय व्यवसाय संचालनमा रहेको र सोमा करिव ३४ लाख श्रम मध्ये महिलाको संख्या १३ लाख ६३ हजार अर्थात ४० प्रतिशत हिस्सा महिलाहरूको रहेको तथ्यांक प्रस्तुत गरियो । 
विगत एक दशक यता ठुलो संख्यामा पुरुष बिदेशिएकाकारण परिवारको लालनपालन गर्न नेपाली महिलाहरू आय आर्जन पेशामा आवद्ध हुन थालेको कुरा पनि सो अवसरमा औल्याइयो । 
महिला उद्यमीको स्थलगत सहभागिताको स्थिति हेर्दा २०/२५ नगर र सहरी क्षेत्रहरू र व्यापारिक केन्द्रहरूमा उपभोक्ता माँगमा केन्द्रित केही लघु, घरेलु र साना उद्योगस्तरमा व्यवसायहरू संचालनमा रहेको तथ्यांक सो अवसरमा प्रस्तुत गरियो । खासगरी महिला संलग्न व्यवसायमा कम लगानी, सिमित उत्पादन र व्यापार रहेको पनि सो अवसरमा विज्ञहरूबाट प्रस्तुत कार्यपत्र औल्याइएको थियो ।  

अन्य अधिकांश क्षेत्रहरूमा महिला उद्यमीहरूको सहभागिता स्थानिय कृषि, खनिज र बनस्पती कच्चा पदार्थमा आधारित लघु र घरेलु उद्योग वर्गीकरणका प्राय फुर्सदको समयमा गर्ने गतिबिधि जिबिकोपार्जन स्तरको रूपमा रहेको समेत कार्यक्रममा जानकारी गराइयो । औद्योगिक नीति, औद्योगिक व्यवसाय ऐन, आर्थिक ऐन र वार्षिक कार्यक्रमहरूमा प्रवद्र्धन पक्षमा विशेष जोड दिइए पनि उपलव्धी भने अपेक्षाकृत हासिल हुन नसकेको गुनासो विज्ञहरूको थियो । 



विज्ञहरुका अनुसार महिला उद्यमशीलता विकासमा मुलत: सिमित जानकारीका कारण प्रतिस्पर्धात्मक क्षमताको कमी र आत्मविश्वासको कमी, सामाजिक सँस्कारको कारण निजी जिम्मेवारी निभाउने क्रममा व्यवसायमा केन्द्रित हुन नसक्ने, परम्परागत सँस्कारको कारण गतिशिलता र जोखिमी उठाउने मनोभावनाको कमी, अधिकांशमा श्रृजनात्मक र नयाँ सोचको साटो देखासिकी गरी व्यवसाय सुरु गर्ने चलन, अधिकांशको अचल सम्पत्तिमा स्वामित्व नहुँदा व्यवसाय सुरू गर्न पूँजी जुटाउन कठिनाई, बैक वित्तिय संस्थाबाट कर्जा र व्ौकल्पिक लगानी, पूँजी स्रोत उपलब्ध गर्न जानकारीको अभाव र पहुँचमा कठिनाई समस्याहरू रहेको औल्याइयो ।



सो कार्यक्रमको उद्घाटन मन्तव्यमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थम माया थापाले देशमा लामो समयसम्म राजनीतिक अस्थिरता र अन्यौलको वातावरण भएकोले उद्योग व्यवसाय क्षेत्र धरासायी भएको प्रष्ट पार्नुहुदै अब देशमा राजनैतिक स्थिरता आएको र विभिन्न ऐन, कानूनहरूको निर्माण भइ अनुकुल वातावरण बन्दै गएकाले उद्यमी व्यवसायीले आ–आफ्ना स्थानबाट सीप, क्षमता एवं दक्षताको उपयोग गरी समृद्ध नेपाल र सुखी नेपाली सरकारको उद्देश्यलाई सफल पार्न सहयोग गर्न आग्रह गर्नुभयो । 



महासंघका विशिष्ट सदस्य पूर्व अध्यक्ष चण्डिराज ढकालले उद्यमशील महिलाहरूले आफ्नो उद्यम व्यवसायलाई मेहनत गरी लगनशील एवं अनुशासित भई निरन्तरता दिएमा राष्ट्रमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा समेत स्थापित हुन सक्ने बताउनु भयो । साथै उहाँले उद्यमशीलता विकासमा देखापरेका तगाराहरूको समाधान गरी घरघरबाट उद्यमशीलता बढाउन सरकारको सहयोग आवश्यक रहेको बताउनु भयो । 

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महिला उद्यमीहरूको उद्यमशीलता विकासको लागि सीप विकासका साथै सहज रूपमा कर्जा उपलब्ध हुनुपर्नेमा जोड दिनु भयो । यी कार्यहरू नेपाल सरकार एवं निजी क्षेत्रको साझेदारीमा हुन जरुरी भएको बताउनु भयो । उहाँले जुनसुकै क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व ३३ प्रतिशतबाट बढेको हेर्न चाहेको पनि बताउनु भयो । 



महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठले जवसम्म एउटी गृहणी सम्पूर्ण रूपमा उद्यमी बन्न सक्दिन तवसम्म मुलुक विकास र प्रगति पथमा अगाडी बढ्न नसक्ने भन्दै घरघरबाट उद्यमशीलता प्रवद्र्धन गर्ने अभियानमा महासंघ लागिरहेको बताउनु भयो । कार्यक्रममा महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति ज्योत्सना श्रेष्ठले पनि शुभ–कामना मन्तव्य दिनु भएको थियो । 



नेपालका ७७ वटै जिल्लाका महिला उद्यमीहरूको प्रतिनिधित्व रहेको उक्त कार्यशाला गोष्ठीमा महिला उद्यमीहरूका महत्वपूर्ण विषयवस्तुहरू जस्तै: महिला उद्यमी एवं उद्योग व्यवसाय क्षेत्रको प्रवद्र्धनका लागि हुनुपर्ने व्यवस्थाहरू, कर राजस्व सम्बन्धी नीति, ऐन नियममा भएका व्यवस्थाहरू, औद्योगिक व्यवसाय ऐन, वाणिज्य नीति एवं अन्य सम्बन्धित नीति, ऐन नियमहरूमा भएका व्यवस्था र कार्यान्वयनको स्थिति साथै  बैँक तथा वित्तिय सँस्थाबाट कर्जा प्रवाहको लागि गरिएका व्यवस्थाहरूबारे सम्बन्धित विषयका विशेषज्ञहरुबाट प्रस्तुतिकरण गरिएको थियो । 

कार्यक्रम पश्चात राष्ट्रिय कलाकारहरूको सहभागितामा साँस्कृतिक साँझको समेत आयोजना गरिएको थियो ।  

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by