Sep 17, 2018
क्याफ्टेकद्वारा आयोजित छेङदु संवाद कार्यक्रमलाई महासंघका विशिष्ट सदस्य ढकालद्वारा संवोधन नेपालबाट २८ परियोजनाहरूमा संयुक्त लगानीका लागि चिनियाँ लगानीकर्ता समक्ष प्रस्ताव (२०७५/६/०१)
नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले छेङदु एसोसिएसन फर फोरेन ट्रेड एण्ड इकोनोमिक कोअपरेशन (Chengdu Association for Foreign Trade and Economic Cooperation -CAFTEC) ले आयोजना गरेको दक्षिण एशिया, उत्पादन क्षमता अभिवृद्धि सहयोग (Chengdu Dialogue on South Asia Production Capacity Cooperation) संवाद कार्यक्रमलाई आज चीनको छेङदुमा संवोधन गर्दै नेपालका तर्फबाट संयुक्त लगानीका लागि २८ वटा परियोजना प्रस्ताव गर्नुभयो ।

नेपालका तर्फबाट प्रस्तावित परियोजनाहरूमा उर्जा (१०), सिमेन्ट(२), निर्माण सामग्री (२), कृषि(३) शिक्षा(२), अध्ययन अनुसन्धान(१), पर्यटन, होटल, रिसोर्ट(५), अफिस सप्लाई (१), उत्पादनमुलक र मेडिया (२) रहेका छन् । यी परियोजनाहरूमा संयुक्त लगानीका लागि उहाँले चिनियाँ लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो । 

सार्क राष्ट्र र चीनका उद्यमी व्यवसायीहरू, लगानीकर्ताहरूको सहभागिता रहेको उक्त अन्तराष्ट्रिय कार्यक्रममा महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष ढकालको नेतृत्वमा महासंघका उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल, महासंघको कार्यकारिणी समितिका सदस्यहरु दिनेश श्रेष्ठ, अविनास वोहोरा, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, सार्क उवासंघ(नेपाल)का सदस्यहरु सहित १६ सदस्यीय महासंघको प्रतिनिधिमण्डलले भाग लिइरहेको छ । 

कार्यक्रमलाई संवोधन गर्नुहुँदै टोली नेता ढकालले दुई ठूला अर्थतन्त्रको बीचमा रहेको नेपाल, पारवहन आर्थिक  केन्द्र (transit economic center) बन्ने सम्भावना रहेको भन्दै नेपाल यतिखेर अन्तराष्ट्रिय लगानीका लागि उर्वर क्षेत्र भएको बताउनु भयो ।  नेपाल सरकार विभिन्न सहुलियत प्याकेज सहितको नीतिगत सुधारका माध्यमबाट वैदेशिक लगानी आकर्षण गर्न लागिपरेको भन्दै उहाँले भन्नु भयो–नेपाल सरकारसँग नजिकमा रहेर साझेदारी गरीरहेको नेपाली निजी क्षेत्रले द्विपक्षीय तथा वहुपक्षीय व्यापार तथा लगानी आकर्षणका लागि उपयुक्त वातावरण निर्माणमा सहजीकरण गरीरहेको जानकारी गराउनु भयो । 

नेपालमा लगानी गर्ने चीन सवैभन्दा प्रमुख राष्ट्र भएको भन्दै उहाँले केन्द्रीय तथ्यांक विभागको पछिल्ला तथ्यांक अनुसार नेपालमा करिव १ हजार ३२३ वटा संयुक्त लगानीका परियोजनाहरू संचालनमा रहेको तथ्यांक पेश गर्नुभयो ।  



नेपालमा राजनीतिक स्थिरता कायम हुंदै गएको, पाँच वर्षका लागि स्थिर सरकार गठन भई क्रियाशिल रहेको र ऐन कानूनहरू पनि वैदेशिक लगानी मैत्री रहेको बताउनु भयो । उपाध्यक्ष ढकालले उर्जा विकासका लागि नेपाल–भारत सरकार बीच उर्जा व्यापार सम्झौता सम्पन्न भई प्रशारण लाइन निर्माण लगायत उर्जा क्षेत्रसँग सम्बन्धी महत्वपूर्ण गतिविधिहरू संचालन भैरहेको जानकारी गराउनु भयो । यसले गर्दा नेपालमा उत्पादित विजुली भारतीय बजारमा सहज निर्यातका लागि आवश्यक पूर्वाधार समेत तयार भैरहेको पनि स्पष्ट पार्नुभयो । उर्जा क्षेत्रमा लगानी गर्नेहरूका लागि नेपाल सरकारले निकै धेरै सहुलियत र सुविधा समेत दिएको जानकारी गराउँदै नेपालमा लगानी गर्ने लगानीकर्ताले शत प्रतिशत मुनाफा स्वदेश फिर्ता लैजान सक्ने कानुनी व्यवस्था रहेको स्पष्ट पार्नु भयो । 



विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले खासगरी अतिकम विकसित र विकासशील देशहरूको आर्थिक विकासमा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै टोली नेता ढकालले चीनले अगाडी सारेको बेल्ट एण्ड रोड इनिशिएटिभ (the Belt and Road Initiative-BRI) को अवधारणाले नेपाल लगायत सार्क सदस्य राष्ट्रहरू समेत गरी विश्वका ६० भन्दा बढी देशहरूलाई जमिन, जल र इन्टरनेटका माध्यमबाट जोड्दै आश्चर्यजनक रूपमा आर्थिक अवसरहरू सृजना गर्ने दावी गर्नुभयो । आफ्नो संवोधनका क्रममा नेपालको पर्यटन विकासमा चिनियाँहरूको आकर्षण बढाउनु पर्नेमा जोड दिनु हुंदै टोली नेता ढकालले नेपालमा क्षेत्रगत लगानीका अवसर, सरकारले उपलव्ध गराएका नीतिगत सुविधाका विषयमा अन्तराष्ट्रिय लगानीकर्ताहरूलाई जानकारी गराउनु भयो । 

तुलनात्मक रूपमा दक्षिण एशिया विश्वका अन्य राष्ट्रहरूसँग जोडिन नसकेको परिप्रेक्षमा बीआरआइले दक्षिण एशियालाई पान एशिया, यूरेशिया, सेन्ट्रल एशिया, अफ्रिका, यूरोप र त्यसभन्दा पनि बाहिरका राष्ट्रहरूसँग समेत सम्पर्क स्थापित गरी विकासका सम्भावनालाई उजागर गर्न सहयोग पुर्‍याउने दावी समेत गर्नुभयो । 

दक्षिण एशिया खासगरी यूवा जनसंख्याले भरिपूर्ण क्षेत्र भएको भन्दै विस्तारित अर्थतन्त्र रहेको यस क्षेत्रमा उर्जा, पूर्वाधार विकास र सामाजिक–आर्थिक विकासका लागि निकै धेरै लगानी आवश्यक रहेको समेत यथार्थता राख्नु भयो ।  

(श्री ढकालले दिनु भएको संवोधन भाषणको पूर्ण पाठ यसैसाथ संलग्न छ)

  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by