Sep 05, 2018

म्याग्दी उद्योग वाणिज्य संघले २५ औं साधारण सभा भदौ १६ गते सम्पन्न भयो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्र प्रसाद ढकाल विशिष्ट आतिथीको रूपमा सहभागी हुनुभएको थियो । सो कार्यक्रममा उपाध्यक्ष ढकालले म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी  एवं संघमा आबद्ध सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई संघको २५ औं साधारण सभाको उपलक्ष्यमा बधाई दिनुभयो । 

उपाध्यक्ष ढकालले पर्यटन, कृषि, वन तथा जलस्रोतमा प्रचुर सम्भावना रहेको प्रदेश नंं ४ को म्याग्दी लगायतका स्थानमा सरकारले लगानी मैत्री वातावरण बनाइदिए मात्र पुग्ने धारणा राख्नुभयो । जिल्लामा उद्यमी व्यवसायीहरूले, स्थानीय कर, कर्जा, भूमि दर्ता नविकरण लगायत विभिन्न खालका समस्या भोग्नु परेको बताउनुहुँदै उपाध्यक्ष ढकालले यी समस्याहरू उचित संबोधनका लागि सरकारमा पहल भैरहेको बताउनु भयो । 

साथै, उपाध्यक्ष ढकालले सरकारले निजी क्षेत्रलाई साझेदारीका रूपमा लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । आर्थिक संमृद्धिको सम्वाहक निजी क्षेत्रको सहकार्य विना कुनै पनि विकास कार्य सम्भव नहुने धारणा राख्नुहुँदै उपाध्यक्ष ढकालले लगानीको वातावरण निर्माणकालागि आग्रह समेत गर्नुभयो ।  
संघको २५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले निजी क्षेत्रसंगको सहकार्यबाटनै गण्डकी प्रदेशको विकास र समृद्धि संभव भएको बताउनुभयो । मन्त्री लम्सालले प्रदेश सरकार पर्यटन, वन, जलस्रोत र कृषि क्षेत्रमा लगानीको वातावरण तयार पार्नका लागि आवश्यक कानुनहरूको निर्माणमा जुटेको समेत जानकारी गराउनु भयो ।

कार्यक्रममा राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव कोइराला, मालिका गाउँपालिकाका अध्यक्ष श्री प्रसाद रोकाले साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यको सभापतित्वमा भएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by