Aug 14, 2018
नेउवामहासंघ/सार्क उवासंघ प्रतिनिधिमण्डलद्वारा उच्चस्तरीय भेटवार्ता (२०७५/०४/२९)

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी र सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष (नेपाल) चण्डिराज ढकालको नेतृत्वमा गएको महासंघ/सार्क उवासंघ(नेपाल)को प्रतिनिधिमण्डलले आज छुट्टाछुट्टै भेटवार्ता गरेको छ । प्रतिनिधिमण्डलले सम्माननीय राष्ट्रपति समक्ष सितलनिवास र सम्माननीय प्रधानमन्त्री समक्ष वालुवाटारमा औपचारिक भेटवार्ता गरेको हो । उक्त दुवै उच्चस्तरीय भेटवार्तामा प्रतिनिधिमण्डलका तर्फबाट मुलुकभित्र, दक्षिण एशिया सहित चीन लगायतका देशहरूबाट लगानी आकर्षणका लागि अनुकुल वातावरण बनाउनु पर्नेतर्फ जोड दिइयो ।

ती दुवै उच्चस्तरीय भेटवार्तामा महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष (नेपाल) ढकालले वैदेशिक व्यापार तथा आर्थिक सहयोगको लागि छेङदु संघ  (Chengdu Association for Foreign Trade and Economic Cooperation-CAFTEC), व्यापार तथा लगानी प्रवद्र्धनका लागि चिनियाँ परिषद् (China Council for the Promotion of International Trade-CCPIT-Sichuan) र सार्क उद्योग वाणिज्य संघले संयुक्त रुपमा आगामी सेप्टेम्वरमा छेङदुमा आयोजना गर्ने Chengdu Dialogue on South Asia Production Capacity Cooperation / 9th China - South Asia Business Promotion Round Table Conference कार्यक्रमका वारे सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्री समक्ष औपचारिक रूपमा जानकारी गराउनु भयो ।  



सो भेटवार्तामा चीनमा हुने उक्त कार्यक्रमका अवसरमा विभिन्न विषयमा व्यवसायिक भेटवार्ता गर्नुका साथै नेपालमा लगानीका लागि चिनियाँ लगायत अन्तराष्ट्रिय लगानीकर्ताहरूसँग महत्वपूर्ण छलफल गर्ने जानकारी प्रतिनिधिमण्डलले गरायो । प्रतिनिधिमण्डलले प्रत्यक्ष वैदेशिक लगानीको प्रवद्र्धन गर्न सरकारका नीतिहरु जटिल नभई सहज हुनु पर्नेमा समेत जोड दियो । ती दुवै भेटवार्तामा प्रतिनिधिमण्डलका तर्फबाट नेपालको आर्थिक विकासमा सार्क विकास कोषको लगानी ल्याउन आवश्यक परियोजनाहरू तयार गर्नुपर्ने र सरकारले समेत यसमा आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिइयो  । 

नेपाललाई दक्षिण एशिया र चीनको प्रमुख पारवहन हवको रुपमा विकास गर्न सरकारको सशक्त सहयोग भएमा निजी क्षेत्र यसलाई मूर्त रुप दिन तयार रहेको समेत प्रतिनिधिमण्डलले सो अवसरमा जानकारी गरायो । यसका लागि नयाँ एयरपोर्ट, ठूला राजमार्ग तथा रेलमार्ग, जलमार्ग आदिको निर्माण आवश्यक रहेको र यस क्षेत्रमा काम गर्ने अनुभवी व्यवसायीहरू समेत सार्क उवासंघमा आवद्ध रहेकाले उनीहरूको समेत सहयोगमा सरकारको लक्ष्यलाई पुरा गर्न सकिने हुंदा यस सम्बन्धी आवश्यक सामुद्रिक कानूनको निर्माणमा समेत सरकारको ध्यानाकर्षण गरायो ।



सो अवसरमा सम्माननीय राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक विकासमा नेतृत्वदायी भूमिकामा रहेर कार्य गर्ने निजी क्षेत्रलाई आफूले सधै उच्च प्राथमिकतामा राखेको विश्वास दिलाउनु भयो । सार्कको लगानी नेपालमा ल्याउन तपाईहरुको भूमिका महत्वपूर्ण छ, चीनमा हुने आगामी कार्यक्रम नेपालमा लगानी ल्याउन सफल हुने सम्माननीय राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गर्नुभयो । 



प्रतिनिधिमण्डलसँगको भेटमा सम्माननीय प्रधानमन्त्री ओलीले आफूले निजी क्षेत्रलाई सधै उच्च महत्व दिएको स्पष्ट पार्नुभयो । आफ्नो कार्यकालमा सुशासन, समृद्धि र खुशी नेपाली आफ्नो प्रमुख कार्य योजना सुनाउंदै प्रधानमन्त्रीले खुशीको सूचकांक बढेपछि मात्र जनता खुशी भएको सही अर्थमा मापन हुने भएकाले आफ्नो नेतृत्वको वर्तमान सरकारको प्रमुख लक्ष्य मुलुकको विकास नै हो भन्नु भयो । लगानीको वातावरण बनाउने कार्यमा सरकार निरन्तर लागीरहेको र नेपालको वातावरण लगानी मैत्री भएकाले सार्क उवासंघमा नेपालको प्रतिनिधित्वबाट यस क्षेत्रको नेपालमा लगानी आकर्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रतिनिधिमण्डललाई सुझाव दिनु भयो । सार्कलाई अझ बढी क्रियाशिल बनाउन आवश्यक भएकोमा जोड दिनुहुंदै प्रधानमन्त्रीले सार्कको युवा जनशक्तिलाई सृजनशील र क्रियाशील बनाई यस क्षेत्रको समृद्धि गर्नुपर्ने आवश्यकता समेत औल्याउनु भयो । 



प्रतिनिधिमण्डलका सदस्यहरूमा महासंघका उपाध्यक्ष एवं सार्क उवासंघ (नेपाल) का कार्य समिति सदस्य उमेशलाल श्रेष्ठ, नेउवामहासंघ प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठ, महासंघको कार्यकारिणी समितिका सदस्य हेमराज ढकाल, महासंघको कार्यकारिणी समिति सदस्य एवं सार्क उवासंघ (नेपाल) का कार्य समिति सदस्य ज्योत्सना श्रेष्ठ, महासंघको कार्यकारिणी समिति सदस्य एवं सार्क उवासंघ(नेपाल) का साधारण सदस्यहरू जय प्रसाद सिवाकोटी र मंगेशलाल श्रेष्ठ, सार्क उवासंघ (नेपाल) का कार्य समिति सदस्यहरू राजेन्द्रमान सेरचन, आरवी रौनियार, देशबन्धु वस्नेत अजित, वासुदेव प्रसाद गौतम, सार्क उवासंघ (नेपाल) का साधारण सदस्यहरू अरुण कुमार केसी, शोभा ज्ञवाली, विजय मल्ल, व्यवसायी किरण सा:ख, निमित्त महानिर्देशक गोपाल तिवारी र सहायक निर्देशक अरूण श्रेष्ठ हुनुुहुन्थ्यो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by