Aug 11, 2018
सम्माननीय प्रधानमन्त्री र महासंघ प्रतिनिधिमण्डल बीच भेटवार्ता– उद्योग व्यवसायको विकासमा अगाडी बढ्नुहोस, सरकार वातावरण बनाउन तयार छ–प्रधानमन्त्री ओली (२०७५/०४/२६)

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीसमक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरू सम्मिलित प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास वालुवाटारमा भेटगरी मुलुकभित्र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाई दिन आग्रह गरेको छ । सो अवसरमा सम्पूर्ण निजी क्षेत्रको तर्फबाट महासंघका अध्यक्ष राणाले दुई तिहाईको सरकार आएपछि नयाँ उर्जाका साथ मुलुक समृद्धिको मार्गमा अगाडी बढ्ने अपेक्षा निजी क्षेत्रले गरेकोमा त्यसको महशुस हुन नसकेको गुनासो प्रधानमन्त्री समक्ष गर्नु भयो । 

अध्यक्ष राणाले पाँचदशक भन्दा बढी समयदेखि मुलुकभित्र उद्योग व्यवसायको विकास मार्फत सामाजिक रुपान्तरणमा क्रियाशिल रहँदै आएको निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघले आमुल राजनीतिक परिवर्तनमा समेत विगतमा ऐतिहासिक भूमिका निर्वाह गरेको स्मरण गराउनु भयो । महासंघले सरकारका हरेक काममा सहयोग गर्दै आएको जानकारी गराउनु हुंदै अध्यक्ष राणाले प्रधानमन्त्रीले अगाडी सार्नुभएको समृद्धि नेपाल सुखी नेपालीको अभियानलाई साकार बनाउन महासंघको प्रतिवद्धता समेत जनाउनु भयो । प्रधानमन्त्रीले अगाडी सार्नु भएको अभियानलाई साकार बनाउन निजी क्षेत्र तयार छ, यसका लागि उपयुक्त वातावरण बनाई दिन प्रधानमन्त्री समक्ष अध्यक्ष राणाले आग्रह समेत गर्नुभयो ।  

अध्यक्ष राणाले प्रधानमन्त्रीले यसअघि दिनु भएको निजी क्षेत्र सम्मिलित परामर्श समूह गठन गर्ने आश्वासनलाई छिटो पूर्णता दिनुपर्नेमा समेत ध्यानाकर्षण गराउनु भयो । स्थानीय तहमा दोहोरो तेहोरो करको समस्यालाई संवोधन गरी एकिकृत कर प्रणाली लागू गर्न, कर प्रणालीमा सुधार गर्न, कालो बजारी ऐन लगायतका पुराना ऐन कानूनहरूलाई पुनरलेखन, शंसोधन र परिमार्जन गर्न समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भयो । साथै उहाँले सरकारका तर्फबाट उत्पादकत्व अभिवृद्धि गर्ने, लगानी आकर्षण गर्ने खालका "स्टीमुलस प्याकेज" घोषणा गर्न समेत आग्रह गर्नुभयो । अध्यक्ष राणाले प्रादेशिक सरकार र निजी क्षेत्र हातेमालो गरी आर्थिक विकास गर्न महासंघ र प्रदेश सरकार बीच सहमती समेत भएको स्मरण गराउनुहुंदै महासंघले सातै प्रदेशमा आयोजना गरेको प्रादेशिक आर्थिक वहसबाट आएका निष्कर्श समेतलाई समेटेर केन्द्रमा संघीय सरकारलाई सुझाव पेश गर्ने कार्यक्रम समेत रहेको प्रधानमन्त्री समक्ष जानकारी गराउनु भयो । 

महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर प्रधान, उमेशलाल श्रेष्ठ र चन्द्र प्रसाद ढकालले औद्योगिक विस्तार सहित रोजगारी सृजना र व्यापार घाटा कम गर्ने रणनीतिक योजना ल्याउनु पर्ने, उद्योगी व्यवसायीका समस्या र गुनासा सुन्ने स्थायी संयन्त्र निर्माण गरिनुपर्ने, सरकारले कुनै पनि निर्णय गर्नुअघि सरोकारवाला निकायहरूसँग पर्याप्त छलफल गरेमा त्यो बढी प्रभावकारी हुने लगायतका सुझावहरू राख्नु भयो । 

महासंघको कार्यकारिणी समितिका सदस्यहरू, जिल्ला नगर उवासंघका पदाधिकारीहरूको समेत सहभागिता रहेको सो भेटवार्तामा उद्योग स्थापनाको प्रक्रियालाई छिटो र सरल पार्न एकै थलोबाट गर्ने व्यवस्था गर्नुपर्ने, तीनै तहका सरकारले अनिवार्य स्वदेशी वस्तुको प्रयोग गर्ने नीति लिनुपर्ने, स्थानीय तह र प्रदेश सरकारबाट कर निर्धारण गर्दा स्थानीय उवासंघको अनिवार्य सहभागिता गराइनु पर्ने, कृषिको आधुनिकीकरणमा जोड दिनु पर्ने लगायतका सुझावहरू राखिएको थियो । 

सो अवसरमा प्रधानमन्त्री ओलीले महासंघसँगको भेटवार्ता महत्वपूर्ण रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले उद्योग व्यवसायको विकासका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहयोग सम्बन्धी ठोस सुझाव लिखित रूपमा ल्याउन आग्रह गर्नुभयो । प्रधानमन्त्रीले पुराना ऐन कानूनहरूमा कहाँ, के संसोधन, पुनरलेखन, परिमार्जन आवश्यक छ सुझाव दिन समेत निजी क्षेत्रलाई अनुरोध गर्दै ती सुझावहरूलाई आफूले तत्काल कार्यान्वयन गर्ने विश्वास समेत दिलाउनु भयो । मुलुकलाई समृद्धितर्फ लैजान पर्याप्त आधार र स्रोतहरू मुलुकभित्रै रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले विशाल छिमेकी देशहरूको बीचमा रहेको नेपालका लागि बजार तथा लगानीको समेत अभाव नहुने धारणा राख्नु भयो । निजी क्षेत्रलाई अर्थतन्त्रको विकासमा अगाडी बढ्न आग्रह गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नु भयो–सुविधा दिन सरकारले कुनै कन्जुस्याई गर्दैन, तपाईहरू उद्योग व्यवसाय बढाउनुहोस, लगानी ल्याउनुहोस के सहयोग चाहिन्छ खोजेको सहयोग गर्न सरकार तयार छ, म तयार छु ।  साथै प्रधानमन्त्री ओलीले सो अवसरमा सरकार र निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघ बीच मुलुकको आर्थिक समृद्धिका लागि हातेमालो गरी अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by