Jul 29, 2018
महासंघको प्रतिनिधिमण्डलद्वारा वन तथा वातावरण मन्त्री समक्ष भेटवार्ता (२०७५/०४/१३)

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले माननीय वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत समक्ष वन तथा वातावरण मन्त्रालयमा भेटगरी वनजन्य व्यवसाय प्रवर्द्धनका लागि सरकार तथा निजी क्षेत्रको सहकार्यमा कार्यक्रमहरु संचालनका लागि आग्रह गरेको छ । 

सो अवसरमा महासंघका उपाध्यक्ष प्रधानले केहि वर्ष अगाडि वहु सरोकारवाला वन कार्यक्रम (MSFP) मार्फत सरकार एवं निजी क्षेत्रको सहकार्यमा देश व्यापीरुपमा कार्यक्रमहरु गरेता पनि त्यसले निरन्तरता पाउन नसकेकोले कुनै ठोस उपलब्धी हासिल गर्न नसकेको जानकारी गराउनुहुँदै आगामी दिनमा दीर्घकालिन योजनाका साथ सहकार्यमा जोडदिनुभयो । 

उपाध्यक्ष प्रधानले पूर्ण योजनाका साथ सरकार तथा निजी क्षेत्रको सहकार्यमा वनजन्य व्यवसायलाई प्रवर्द्धन एवं विस्तारका कार्यक्रमहरु कार्यान्वयन गर्न सफल भएमा निकट भविष्यमा नै नेपाल वनजन्य व्यवसायमा आत्मनिर्भर हुनसक्ने निजी क्षेत्रको विश्वास रहेको धारणा राख्नुभयो । 

उक्त अवसरमा माननीय वन तथा वातावरण मन्त्री बस्नेतले महासंघबाट वनजन्य  व्यवसायको प्रवर्द्धन एवं विस्तारका लागि सरकार तथा निजी क्षेत्रको सहकार्यको लागि गरेको आग्रहलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको बताउनु भयो ।

मन्त्री बस्नेतले सरकारले पनि वन संरक्षरण एवं प्रवर्द्धनको नीति लिएको बताउनुहुँदै मन्त्रालयले काष्ठजन्य एवं गैरकाष्ठजन्य व्यवसायको विकास एवं विस्तार योजनाबद्ध ढंगबाट क्रमश: कार्यान्वयन गर्दै जाने विश्वास दिलाउनु भयो ।

 प्रतिनिधिमण्डलका सदस्यहरुमा महासंघको कार्यकारिणी समिति सदस्य सुदर्शन कार्की र महासंघका उप महानिर्देशक मीना श्रेष्ठ हुनुहुन्थ्यो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by