Jul 15, 2018
सार्क उवासंघको विधान संशोधन समितिको सभापतिमा  महासंघका विशिष्ट सदस्य ढकाल चयन (२०७५/०३/३१)
बंगलादेशको ढाकामा भैरहेको सार्क उद्योग वाणिज्य संघको ७५ औं कार्य समिति बैठकले नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकाललाई संघको विधान संशोधन समितिको सभापतिमा चयन गरेको छ । 

संघको विद्यमान विधानलाई अझ बढी स्पष्ट र क्रियाशिल बनाउन संशोधन गर्न लागिएको बैठकमा जानकारी गराइयो । विधान संशोधन समितिका सदस्यहरूमा संघका वर्तमान उपाध्यक्ष विनोद जुनेजा (Vinod Juneja, India), संघका पूर्व अध्यक्ष एवं वर्तमान उपाध्यक्ष दासो उगेन थेक्चुप दोर्जी (Dasho Ugen Tsechup Dorji, Bhutan), पाकिस्तान उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं संघका वर्तमान कार्य समिति सदस्य जुवेर अहमद मल्लिक (Zubair Ahmed Malik, Pakistan) र बंगलादेश उद्योग वाणिज्य महासंघका पूर्व महासचिव तथा संघका कार्य समिति सदस्य सफकात हैदर (Shafquat Haider, Bangladesh) हुनुहुन्छ । त्यसैगरी सार्क उवासंघका कार्य समिति सदस्य देश बन्धु बस्नेत (अजित) संघको मानव संशाधन समितिको सदस्यमा मनोनित हुनुभएको छ । 



कार्य समिति बैठक पश्चात सार्क उवासंघद्वारा ढाकामा आयोजित A Climate Resilient South Asia: Turning Climate Smart Investment Opportunities Into Reality विषयक सम्मेलनलाई महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले संबोधन गर्नुभयो । सम्मेलनको प्रमुख आतिथ्यता बंगलादेश सरकारका उर्जा, बन तथा वातावरण मन्त्री अनिसुल इस्लाम मोहमद (Anisul Islam Mahmud) ले गर्नुभएको थियो । कार्यक्रममा सार्क उवासंघका अध्यक्ष सहित पदाधिकारीहरू, सदस्यहरू, निजी क्षेत्रका उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो ।

संबोधनका क्रममा सार्क उवासंघका उपाध्यक्ष ढकालले यस क्षेत्रको आर्थिक विकासमा मुख्य समस्या बन्दै गएको वातावरण परिवर्तनको चुनौतीलाई साझा समस्याको रूपमा संवोधन गर्नुपर्ने धारणा राख्नुभयो । वातावरण परिवर्तनबाट देखापर्ने चुनौतीलाई संबोधन गर्दै आर्थिक विकास, लगानी आकर्षण, रोजगारी सृजना गर्दै यस क्षेत्रका जनताको जीवनस्तर सुधारमा साझा एजेण्डा तय गर्न उहाँले सुझाव दिनु भयो । वातावरण परिवर्तनबाट उत्पन्न हुन सक्ने समस्यालाई मध्यनजर गर्दै आफ्ना विकास रणनीति तय गर्न विकसित देशहरुले निकै धेरै प्रगति गरी सकेकाले दक्षिण एशियाली देशहरूले पनि सोही अनुसारको तयारी गर्ने बेला आइसकेको उहाँले बताउनु भयो । 



स्वच्छ उर्जा र उर्जा दक्षता अभिवृद्धिमा भएको लगानी वातावरणमा देखिएको परिवर्तनका कारण दीगो हुन नसकेको बताउनु हुंदै उहाँले वातावरण परिवर्तबाट हुन सक्ने असरलाई समयमै संवोधन नगर्ने हो भने यस क्षेत्रमा सन् २०३० सम्म करिव १० करोड मानिसहरु गरिवीको रेखामुनी धकेलिने तथ्यांक प्रस्तुत गर्नुभयो । गरिवीको रेखामुनी जानबाट यस क्षेत्रका जनतालाई जोगाउने हो भने आगामी सन् २०३० सम्म यस क्षेत्रमा स्वच्छ उर्जा उत्पादनमा करिव ४१० विलियन अमेरिकी डलर लगानी गर्नुपर्ने, करिव ६७० विलियन अमेरिकी डलर वरावरको लगानी यातायात सुधारमा खर्चनु पर्ने तथ्यांक पूर्व अध्यक्ष ढकालले प्रस्तुत गर्नुभयो । साथै उहाँले वातावरण क्षेत्रमा भएको खर्बौ लगानीलाई परिणामदायी बनाउन आवश्यक सुधारको खाँचो समेत औल्याउनु भयो । 



दक्षिण एशिया सहित विश्वभरका व्यवसायी तथा लगानीकर्ताहरूले आफ्नो व्यवसाय, आफ्ना उत्पादन/सेवा तथा कार्यस्थलहरुलाई समेत वतावरणमैत्री बनाउदै लगेका बताउनु हुँदै दक्षिण एशियाली देशहरूमा भारतले सौर्य उर्जा, श्रीलंकाले हरित आवास योजना, भुटानले विद्युतीय सवारी साधन, बंगलादेश र नेपालले सार्वजनिक निजी साझेदारीमा सार्वजनिक यातायातको प्रवद्र्धन तथा उर्जा विकासमा पहल गरीरहेको उल्लेख गर्नुभयो ।  



कार्यक्रममा भाग लिइरहेको महासंघको प्रतिनिधिमण्डलका सदस्यहरुमा सार्क उवासंघका कार्यकारिणी समिति सदस्य देशबन्धु बस्नेत(अजित), साधारण सदस्यहरु शोभा ज्ञवाली, विजय मल्ल, सार्क महिला उद्यमी परिषदबाट रिता भण्डारी, प्रभा राजभण्डारी र महासंघको उर्जा तथा वातावरण विज्ञ डा. उत्तम कुँवर हुनुहुन्छ । कार्यक्रम आजसम्म चल्नेछ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by