Jul 06, 2018

नेपाल उद्योग वाणिज्य महासंघ, सार्क विकास कोष (SAARC Development Fund-SDF) र सार्क उद्योग वाणिज्य संघ (SAARC Chamber of Commerce and Industry-SCCI) का पदाधिकारीहरू बीच हालै नयाँ दिल्लीमा सम्पन्न बैठकमा नेपालको साना तथा मझौला उद्यम व्यवसाय (MSMEs) को विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त भएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रुवान इदिरिसिंहे (Mr. Ruwan Edirisinghe, President, SAARC Chamber of Commerce and Indsutry) सार्क उवासंघका उपाध्यक्ष (नेपाल) एवं महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, विकास कोषका प्रमुख कार्यकारि अधिकृत डा. सुनिल मोतिवाल (Dr. Sunil Motiwal, CEO, SAARC Development Fund-SDF) सहभागी रहनु भएको उक्त बैठकमा नेपालमा साना तथा मझौला उद्यम व्यवसाय (Micro, small and medium enterprises-MSMEs) मा समयवद्ध परियोजनामा सहयोग गर्नेमा कोषले प्रतिवद्धता जनाएको छ । 

सार्क विकास कोषले सार्क सदस्य राष्ट्रहरूमा सम्भाव्य परियोजनालाई अगाडी बढाउने र नेपालको सन्दर्भमा अर्थतन्त्रमा सवैभन्दा बढी योगदान रहेको MSMEs को विस्तार तथा उनीहरूलाई पछिल्लो प्रविधिबाट सुसज्जित बनाउन आवश्यक रहेको र यसो हुन सकेमा नेपालको अर्थतन्त्रलाई अगाडी बढाउन थप सहयोग पुग्ने धारणा महासंघका तर्फबाट राखिए पछि कोषबाट सहयोग गर्ने प्रतिवद्धता आएको थियो । 

एक तथ्यांक अनुसार नेपालको अर्थतन्त्रमा करिव ९० प्रतिशत योगदान रहेको यो क्षेत्र आवश्यक वित्तिय सेवाको अभावमा पछाडी परिरहेको तथ्यांक सो अवसरमा प्रस्तुत गरियो । कोषले आवश्यक वित्तिय जोहो गरिदिने हो भने यो क्षेत्र रोजगारी सृजना, आयआर्जन वृद्धि, पूजी निर्माण तथा सरकारको राजस्व अभिवृद्धिमा सहयोगी हुनुको साथै व्यवसाय प्रवद्र्धन सहित समग्र अर्थतन्त्रको विकासमा उल्लेख्य सहयोग पुग्ने धारणा महासंघको थियो । 

सो अवसरमा महासंघका अध्यक्ष राणाले केही समयका लागि हामीले खोजेको सहयोग हुन सकेमा MSMEs को प्रभावकारी संचालन मार्फत व्यवसाय प्रवद्र्धनका साथै राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन सकिने सुझाव राख्नु भयो । संघीय संरचनामा गएको नेपालका लागि विद्यमान प्रदेशहरूलाई सशक्त ढंगबाट अगाडी बढाउन पनि प्रत्येक प्रदेशमा आर्थिक गतिविधि विस्तार आवश्यक छ, यसका लागि MSMEs लाई प्रभावकारी ढंगबाट संचालन गर्न सकियो भने त्यो सम्भव छ, अध्यक्ष राणाले उक्त भेटवार्तामा स्पष्ट पार्नुभयो । 

सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष(नेपाल) ढकालले नेपाल लगायत दक्षिण एशियामै MSMEs को अर्थतन्त्रमा निकै धेरै योगदान रहे पनि यो क्षेत्र छायाँमा पर्नुलाई सार्क नेतृत्व र निजी क्षेत्रले गम्भीर रूपमा लिनु पर्ने सुझाव राख्नु भयो । आर्थिक विकास, सामाजिक प्रगति, गरिवी निवारणका लागि यसलाई पहिलो र प्रभावकारी माध्यमको रुपमा लिनुपर्ने उहाँको सुझाव थियो । नेपालमा करिव ७४ प्रतिशत रोजगारी यसै क्षेत्रले दिएको तथ्यांक पेश गर्नुहुंदै उहाँले कोषलाई यस क्षेत्रको विकासमा वित्तिय स्रोत जुटाई दिन आग्रह समेत गर्नुभयो ।

बैठकमा महासंघको तर्फबाट, क्षेत्रीय आर्थिक विकासका लागि बहुपक्षीय विकास बैंकहरू, क्षेत्रीय वित्तिय संस्थाहरू, वाणिज्य बैंकहरू, सार्वजनिक तथा निजी क्षेत्रका प्रतिष्ठानहरू, दातृ निकाय तथा संस्थाहरूको साझेदारी निर्माणमा जोड दिइयो । 

साथै बाँसमा आधारित व्यवसाय विकास, सार्क मुलुकका महिला उद्यमीहरूको क्षमता अभिवृद्धि तथा संजाल विस्तार, उर्जाको सहज व्यवस्था पहुँच सहित महिलाहरूको आर्थिक शसक्तिकरण, मुल्य अभिवृद्धि, उद्यमशीलता तथा क्षमता विकासमा सहयोग, बंगलादेश र भारतसँगको सहभागितामा नेपालमा उर्जा विकास, सार्क क्षेत्रमा साना किसानहरूका उत्पादनहरूको मुल्य वृद्धिको माध्यमबाट जीवनस्तर सुधारमा जोड, ग्रामिण क्षेत्रको सशक्तिकरण लगायतको सुभव प्रस्तुत गरिएको थियो । बैठकमा महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी, सार्क विकास कोष सचिवालय, सार्क उवासंघ सचिवालयका उच्च अधिकृतहरूको उपस्थिति रहेको थियो ।  

(सो अवसरमा महासंघका तर्फबाट राखिएका धारणाहरु
  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by