Jul 03, 2018
एसडीएफ साझेदारी सम्मेलनलाई महासंघका अध्यक्षबाट संबोधन  लगानीका लागि नेपाल उर्वर क्षेत्र, सार्कका लगानीकर्ताहरुलाई लगानी गर्न आग्रह (२०७५/०३/१९)
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भारतको नयाँ दिल्लीमा आयोजना भैरहेको सार्क विकास कोष (SAARC Development Forum) को साझेदारी सम्मेलन–२०१८ (SDF Partnership Conclave–2018) लाई संवोधन गर्दै नेपालमा लगानीका लागि सार्क क्षेत्रका लगानीकर्ताहरूलाई आग्रह गर्नु भएको छ  । 

सार्क सदस्य राष्ट्रका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, नीति निर्माताहरू, अर्थशास्त्रीहरू, सार्क सचिवालय, सार्क उद्योग वाणिज्य संघको सहभागिता रहेको उक्त सम्मेलनको दोस्रो प्राविधिक सत्रमा सामाजिक शीर्षक अन्तरगत गरिवी निवारण, मानव विकास, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा सह–वित्तियकरणका लागि सम्भावित परियोजनाहरूको पहिचान (Identifying Potential Projects for co-financing under Social Window of SDF) विषयक विशेष सत्रलाई संबोधन गर्नुहुँदै अध्यक्ष राणाले सो आग्रह गर्नु भएको हो ।
 


आइफाडका एशिया प्रशान्त क्षेत्रीय अर्थशास्त्री फेब्रिजीओ ब्रेससिआनी (Fabrizio Bresciani Lead Regional Economist, Asia and Pacific Division, Program Management  Department, IFAD) को अध्यक्षतामा आयोजित उक्त सत्रमा नेपालको निजी क्षेत्रको धारणा राख्नुहुँदै अध्यक्ष राणाले क्षेत्रीय आर्थिक विकासका लागि पूर्वाधार विकासमा जोड दिनु भयो । दक्षिण एशियाली राष्ट्रहरूको अर्थतन्त्रमा साना तथा मझौला उद्योगहरू (SMEs) को निकै ठूलो योगदान रहेकाले एसएमइजहरूलाई पछिल्लो प्रविधिहरूले सुसज्जित बनाउन र यस क्षेत्रमा प्रविधि आदान प्रदानमा विशेष जोड दिनुपर्ने अध्यक्ष राणाको सुझाव थियो । 

अध्यक्ष राणाले नेपाल दक्षिण एशियामा लगानीका लागि उर्वर क्षेत्र रहेकाले पर्यटन, पूर्वाधार, जलस्रोत, कृषि लगायतका महत्वपूर्ण क्षेत्रमा लगानी गर्न पर्याप्त अवसर रहेको जानकारी गराउनु भयो । अध्यक्ष राणाले सदस्य राष्टहरू बीच सम्पर्क (जल, स्थल, हवाई) विस्तार, सहज आवागमन तथा सिमापार व्यापारमा पनि जोड दिनु भयो । साथै उहाँले क्षेत्रीय स्तरमा अन्तराष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाको विस्तार, महिला शसक्तिकरण तथा समावेशी अर्थतन्त्रको विकासमा पनि आफ्नो धारणा राख्नु भयो । 

उक्त सम्मेलनमा सह–वित्तियकरणका लागि पर्यटन, साना तथा मझौला उद्यम(एसएमइज), कृषि, क्षेत्रीय प्रयोगशाला, उर्जा लगायतका सम्भावित क्षेत्रमा परियोजनाहरू प्रस्ताव गरिएको छ । 




अध्यक्ष राणासँगै उक्त सम्मेलनमा महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकाल, सार्क उवासंघका सदस्य वासुदेव गौतम र निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारीले भाग लिइरहनु भएको छ । आजै सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले सार्क उवासंघ(नेपाल)को तर्फबाट कार्यपत्र प्रस्तुत गर्नुभयो ।  



परियोजना साझेदारी तथा लगानीका माध्यमबाट क्षेत्रीय एकिकरण (Regional Incorporation through project collaboration and investments) विषय बस्तुमा केन्द्रीत दुई दिने सम्मेलन आजसम्म सम्पन्न हुँदैछ ।  
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by