Jul 01, 2018
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा भारतको नयाँ दिल्लीमा भोलिदेखि आयोजना हुन लागेको सार्क विकास फोरम (SAARC Development Forum) को साझेदारी सम्मेलन–२०१८ (SDF Partnership Conclave–2018) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।  
अध्यक्ष राणासँगै उक्त सम्मेलनमा महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकाल, सार्क उवासंघका सदस्य वासुदेव गौतम र निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारीले भाग लिनुहुने छ । 
सार्क विकास फोरमले आयोजना गरेको उक्त साझेदारी सम्मेलनमा महासंघका अध्यक्ष राणाले नेपाल र सार्क राष्ट्रहरू बीचको आपसी सम्बन्ध, साझेदारी तथा सहकार्यका सम्भाव्यता विषयमा नेपाली निजी क्षेत्रको धारणा राख्नु हुने कार्यक्रम छ । सार्क सदस्य राष्ट्रका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू र सार्क उद्योग वाणिज्य संघको सहभागिता रहने उक्त सम्मेलनलाई दक्षिण एशियाको रणनीतिक एवं क्षेत्रीय महत्व बढाउने महत्वपूर्ण कार्यक्रमको रुपमा लिइएको छ । 
परियोजना साझेदारी तथा लगानीका माध्यमबाट क्षेत्रीय एकिकरण (Regional Incorporation through project collaboration and investments) विषय बस्तुमा केन्द्रीत रहने उक्त दुई दिने सम्मेलनमा आर्थिक, सामाजिक, सामाजिक उद्यमशीलता विकास तथा साना तथा मझौला उद्यम लगायतका विषयमा व्यापक छलफल गरी सम्भावित परियोजनामा लगानी जुटाउने वातावरण समेत बनाइने छ । 
तीव्र आथिक विकासका माध्यमबाट दक्षिण एशिया भित्र सामाजिक रुपान्तरण तथा गरिवी निवारण गरी यस क्षेत्रका जनताहरूको जीवनस्तर सुधारमा कार्य गर्ने उद्देश्यले सार्क विकास फोरमको गठन सन् २०१० अप्रिलमा भएको हो । यसको मुख्यालय भुटानको थिम्पुमा रहेको छ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by