Jun 19, 2018

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र चीनको साताव्यापी औपचारिक भ्रमणमा सहभागी भई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल प्रधानमन्त्रीका साथ आज त्यसतर्फ प्रस्थान गरेको छ । 

महासंघको प्रतिनिधिमण्डलमा अध्यक्ष राणा सहित निवर्तमान अध्यक्ष पशुपति मुरारका, महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर कुमार प्रधान, उमेशलाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्र लाल प्रधान, कार्यकारिणी समिति सदस्यहरू ज्योत्साना श्रेष्ठ र प्रवलजंग पाण्डे, स्वतन्त्र उर्जा उत्पादक संघ(आइपान) का अध्यक्ष शैलेन्द्र गुरागाई र महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी हुनुहुन्छ ।

चीनमा रहँदा महासंघको प्रतिनिधिमण्डल प्रधानमन्त्रीको औपचारिक कार्यक्रमहरुमा सहभागी हुनुको साथै व्यवसायिक भेटवार्तामा समेत व्यस्त रहने छ । पर्यटन, सेवा तथा उत्पादन मुलक, निर्माण सामग्री, व्यवसायिक कृषि, अटो, खाद्यान्न, जलविद्युत, बैकिङ, औषधि, केवलकार, रेमिटान्स, गरगहना सहित हस्तकला लगायतका क्षेत्रको प्रतिनिधित्व रहेको महासंघको प्रतिनिधिमण्डलले त्यहाँ रहँदा चिनियाँ साझेदारहरूसँग व्यवसायिक तथा लगानी सम्बन्धी छलफल गर्नेछ । महासंघको प्रतिनिधिमण्डल आजै साँझ वेइजिङस्थित नेपाली राजदुतावासले आयोजना गरेको कार्यक्रममा पनि सहभागी हुनेछ ।

सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चिनियाँ परिषद (China Council for the Promotion of International Trade-CCPIT) द्वारा भोलि विहान बेइजिङमा आयोजना हुने "चाइना - नेपाल विजनेस फोरम मिटिङ"मा महासंघको प्रतिनिधिमण्डलले भाग लिनेछ । उक्त कार्यक्रमलाई नेपाली निजी क्षेत्रको तर्फबाट महासंघका अध्यक्ष राणाले पनि संवोधन गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्रीको साथमा निजी क्षेत्रको समेत सहभागिताबाट नेपालमा चिनियाँ आर्थिक एवं व्यवसायिक सम्बन्ध तथा थप संयुक्त लगानी विस्तारमा समेत सहयोग पुग्ने विश्वास महासंघको रहेको छ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by