Jun 13, 2018
पोखरामा महिला उद्यमीहरूको राष्ट्रिय भेला शुरू  (२०७५/०२/३०)

नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समितिको समन्वय एवं सहकार्य र पोखरा उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास उपसमितिको आयोजनामा आजदेखि पोखरामा महिला उद्यमीहरूको राष्ट्रिय भेला तथा उद्यमी मेला २०७५ शुरु भएको छ । "आर्थिक समृद्धिका लागि महिला उद्यमशीलता" भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रमको प्रदेश नं. ४ का कार्यवाहक सभामुख सिर्जना शर्माले एक विशेष समारोहका बीच समुद्घाटन गर्नुभयो । 

महिला उद्यमीहरूको उद्यमशिलता तथा क्षमता विकास, शीप विकास, बजार प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमलाई संवोधन गर्नुहुदै प्रमुख अतिथि प्रदेश नं. ४ का कार्यवाहक सभामुख शर्माले देशको आर्थिक क्षेत्रको विकासको लागि आर्थिक पाटाका कमजोरीहरू हटाउन सरकार एवं निजी क्षेत्र सवैको सहयोगको आवश्यकता रहेको बताउनु भयो । 

सिंगो मुलुककै अवको प्राथमिकता भनेको आर्थिक विकास र समृद्धिनै भएकाले महिला उद्यमीहरूको भूमिका र योगदान महत्वपूर्ण हुने र महिला उद्यमी विकासको लागि सवै तहबाट सहयोग हुनुपर्नेमा जोड दिनु भयो । महिलाको शिपलाई व्यवसायिक बनाउन सरकारको पनि ठूलो सहयोगको खाँचो रहेको भन्दै उहाँले त्यसको लागि स्थानीय सरकारलेनै महिला शशक्तिकरणको लागि बजेट बनाउनु पर्ने, सहुलियत दरको ऋण उपलब्ध गराउनु पर्ने, बजारको व्यवस्था गर्नुपर्ने लगायतका धारणा राख्नु भयो । 

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विदेशिन बाध्य ४० लाख युवाहरूले पठाएको रेमिट्यान्सबाट मुलुकको अर्थतन्त्र चलाउनु परेको यथार्थता राख्नुहुँदै स्वदेशमानै युवाहरूलाई उद्यम, रोजगार सिर्जना गर्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । उद्यमको लागि उपयुक्त जग्गा सहज रुपमा उपलब्ध हुनुपर्ने, बैंकको बढ्दो व्याजदरले महिला उद्यमीहरू समेतलाई मर्का परेकोले कम व्याजदरमा सहुलियत ऋण दिन सके मुलुकभित्र महिला उद्यमशीलता फस्टाउने बिचार वरिष्ठ उपाध्यक्ष गोल्छाले राख्नु भयो । औद्योगिक व्यवसायिक ऐनले महिला उद्यमीलाई स्थान दिएको तर आर्थिक ऐनमा महिला उद्यमीहरू बारे केही उल्लेख नभएको वस्तुस्थिति प्रस्तुत गर्नुहुँदै उहाँले ऐन नियममा एकरुपता ल्याउनुपर्ने आवश्यकता माथि जोड दिनुभयो ।  साथै उहाँले कुनै पनि उद्यमी व्यवसायीले आफ्नो क्षेत्रमा सफलता प्राप्त गर्नका लागि निरन्तरताको साथै निरन्तर रुपमा ज्ञान हासिल गरिराख्नुपर्ने सुझाव दिनुभयो । 

महासंघको महिला उद्यमी विकासका समितिका सभापति कमला श्रेष्ठले ७ वटै प्रदेशका महिला उद्यमीहरूबाट उत्पादित वस्तुहरूको प्रचार प्रसार एवं बजारीकरण गर्ने उद्देश्यका साथ आयोजना भएको यस मेलाबाट महिला उद्यमीहरूबाट उत्पादित वस्तुहरूको बजार प्रवर्द्धन र उद्यमशीलता प्रवर्द्धनमा सहयोग विश्वास प्रकट गर्नुभयो । 

उद्घाटन कार्यक्रममा महासंघ प्रदेश नं. ४ का अध्यक्ष संजिव कोइरालाले महिला उद्यमीहरुको विकासको आवश्यकता बारे धारणा राख्नु भयो ।

महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, महासंघको कार्यकारिणी समितिका सदस्यहरू जय प्रसाद शिवाकोटी, कृष्ण प्रसाद दुलाल र प्रकाशसिंह कार्कीको उपस्थितिमा रहेको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले धन्यवाद मन्तव्य दिनु भएको थियो । उक्त कार्यक्रमसँगै आयोजना भएको महिला उद्यमी मेला चार दिनसम्म संचालन हुने छ । मेलामा महिला उद्यमशीलता विकास, महिला उद्यमीहरूको लागि वैकिङ्ग सम्बन्धी भएका व्यवस्था, कर शिक्षा, इन्टरनेट आदि विभिन्न विषयहरूमा गोष्ठी समेत संचालन हुनेछन् । 

कार्यक्रम पोखरा उद्योग वाणिज्य संघको महिला उद्यमी विकास उपसमितिका संयोजक सीता बरालको सभापतित्वमा भएको थियो । 

WEE 2075, Pokhara

आर्थिक विकास र समृद्धिको लागि महिला उद्यमीहरू एक भई प्रतिस्पर्धात्मक तवरले अगाडी बढ्नुपर्ने, अनुकूल औद्योगिक व्यवसायिक वातावरण भएमा महिला उद्यमीहरू अझ अगाडी बढ्न सक्ने, महिला उद्यमी विकास समितिले सँस्थागत विकास, नीति नियममा सुधार, बजार प्रवर्द्धन, वित्तिय व्यवस्थापन लगायतका विषयमा प्राथमिकता दिई अगाडी बढ्नुपर्नेमा सो अवसरमा सहभागी महिला उद्यमीहरूले जोड दिए । महासंघकै पहलमा हालसम्म ५७ वटा जिल्ला/नगरस्तरीय उद्योग वाणिज्य संघहरूमा महिला उद्यमी विकास समिति गठन भई जिल्ला जिल्लामा महिला उद्यमशीलता प्रवर्द्धनका दिशामा कार्य भैरहेको छ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by