May 31, 2018
अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०७ औं अधिवेशनलाई महासंघको रोजगारदाता परिषदका सभापति ढकालद्वारा जेनेभामा संवोधन (२०७५/०२/१७)

स्वीटजरलैण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०७ औं अधिवेशनलाई नेपालको रोजगारदाता संगठनको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकालले आज संवोधन गर्नुभयो । उक्त अधिवेशनमा भाग लिन सभापति ढकाल हाल जेनेभामा हुनुहुन्छ । उक्त अधिवेशनमा महासंघको कार्यकारिणी समितिका सदस्य नरेन्द्र कुमार खड्का र महासंघका उपमहानिर्देशक हंसराम पाण्डेले समेत भाग लिइरहनु भएको छ । सम्मेलन आगामी जुन ८ तारिखसम्म संचालन हुनेछ ।

संवोधनका क्रममा श्री ढकालले अहिलेको विश्वको साझा चुनौती भनेकै दीगो समावेशी आर्थिक विकास, गरिवी निवारण, रोजगारी सृजना र वातावरण परिवर्तनबाट परेको असरको न्यूनिकरण गर्नु पर्ने कुरामा जोड दिंदै आधुनिक प्रविधिको प्रयोगले श्रम बजारमा नयाँ शीपयुक्त जनशक्तिको माग बढ्दै गएको कुरा उल्लेख गर्नु भयो ।

सभापति ढकालले नेपालमा हाल स्थिर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएकाले लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आग्रह समेत गर्नुभयो । दीगो सरकार निर्माण भई राजनीतिक स्थायित्व समेत प्राप्त गरेकाले नेपाल लगानीका लागि महत्वपूर्ण गन्तव्यको रुपमा विकास भैरहेको समेत उहांले स्पष्ट पार्नु भयो ।  

श्रमिकहरुको सामाजिक सुरक्षा सहितका विषयलाई समेटेर नेपालमा नयाँ श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन आएकाले औद्योगिक विकास तथा प्रवर्द्धनका साथै श्रमिकहरुको हितका लागि समेत उक्त ऐन महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो । साथै उहाँले नेपालमा औद्योगिक श्रम सम्बन्ध अत्यन्त सुमधुर बन्दै गएको समेत विश्व समक्ष जानकारी गराउनु भयो ।  

आर्थिक विकासको प्रतिफल देशको तल्लो तहका जनतासम्म पुग्न सक्नुपर्नेमा जोड दिंदै यसका लागि उद्यमशिलताको दिगो विकासमा नेपाली निजी क्षेत्रको जोड रहेको धारणा राख्नुभयो । सम्बोधनका क्रममा श्री ढकालले नेपालको आर्थिक तथा प्राविधिक क्षेत्रमा आइएलओको सहयोगको खाँचो समेत औल्याउनु भयो । अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा विश्वका १८० भन्दा बढी देशका सरकार, रोजगारदाता र ट्रेड युनियनहरुको सहभागिता रहेको छ ।  

सोही अवसरमा उपाध्यक्ष ढकालले औद्योगिक विकासका अतिरिक्त असल औद्योगिक सम्बन्ध विकासका विविध पक्षहरु बारेमा  सम्मेलनका सहभागी विश्वका विभिन्न मुलुकका प्रतिनिधिहरुसाग विस्तृत विचार विमर्श गर्नु हुने कार्यक्रम छ । साथै उहांले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) र अन्तर्राष्ट्रिय रोजगारदाता संगठन (IOE) का पदाधिकारीहरुसंग समेत भेटघाट एवं छलफल गर्नु हुनेछ ।

  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by