May 29, 2018
उवासंघ –चितवनको आयोजनामा स्क्रिन प्रिन्ट सम्बन्धि तालिम सम्पन्न
१५ जेष्ठ २०७५, चितवन 

उद्योग वाणिज्य संघ –चितवनको आयोजना तथा स्क्रिन प्रिन्ट नेपालको सहयोगमा २ दिने स्क्रिन प्रिन्ट सम्बन्धि तालिम आज यहाँ एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ । वेरोजगार, अर्ध वेरोजगार एवम् गृहणी महिलाहरुलाई स्क्रिन प्रिन्ट सम्बन्धि शिप दिई स्वरोजगार बनाउंदै आय आर्जनमा टेवा पुर्याउने उदेश्यले उक्त तालिमको आयोजना गरिएको हो । 

तालिमको समापन समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र वितरण गर्दै संघका अध्यक्ष सहनलाल प्रधानले शिप उद्यमशिलता विकासको लागि एक अनिवार्य सर्त भएको बताउंदै आफुले सिकेको शिपलाई दैनिक जिवनमा उतार्न सहभागी प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नु भयो । उहाँले आफुले सिकेको सिप रोजगारीका लागि मात्र नभई स्वरोजगार तथा उद्यमशिलता विकासमा लगाउनुपर्ने बताउंदै यस किसिमका शिपमुलक तालिम संचालन गर्नका लागि उद्योग वाणिज्य संघ - चितवन सदैव तत्पर रहेको जानकारी गराउनु भयो । 

सोहि कार्यक्रममा बोल्दै सहआयोजक संस्था स्क्रिन प्रिन्ट-नेपालका अध्यक्ष प्रभात ढुंगानाले आफ्नो संस्थाले यस किसिमका तालिमहरु आयोजना गर्न सदैव सहयोग गर्ने बताउंदै न्यूनतम लगानीमा मनग्य आम्दानी गर्न सकिने व्यवसाय भएकोले सिकेको शिपलाई खेर नफाल्न अनुरोध गर्नु भयो । सोहि कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ-चितवनकि कार्यसमिति सदस्य एवम् कार्यक्रम संयोजक योगिता पियाले तालिममा महिलाहरुको उपस्थितिले आफुलाई हौषला मिलेको बताउँदै आजकै दिनबाट सिकेको सिपलाई व्यवहारमा उतार्न अनुरोध गर्नु भयो । 

कार्यक्रममा स्क्रिन प्रिन्ट नेपालका द्वय प्रकाश श्रेष्ठ र भविश्वर पाण्डेले प्रशिक्षकको भूमिका निर्वाह गर्नु भएको थियो । तालिमको समापन समारोहको अवसरमा संघका निवर्तमान अध्यक्ष एवम् नेउवामहासंघ प्रदेश नं. ३ का उपाध्यक्ष राजन गौतम, संघका पदाधिकारी, कार्यसमिति सदस्य लगायतको उपस्थिति रहेको थियो ।  दुई दिनसम्म संचालित उक्त तालिममा ३५ जना महिलाहरुको सहभागिता रहेको थियो । संघको सभाहलमा सम्पन्न उक्त तालिमको समापन संघका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो भने संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको उक्त कार्यक्रम संघका कार्यक्रम अधिकृत निलबहादुर के.सी.ले संचालन गर्नु भएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by