May 28, 2018
नेउवामहासंघको निमित्त महानिर्देशकमा गोपाल तिवारी नियुक्त (२०७५/०२/१४)

नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशकमा गोपाल प्रसाद तिवारी नियुक्त हुनु भएको छ । उहाँलाई जेष्ठ ९ गते उक्त पदमा नियुक्त गरिएको हो । सार्वजनिक–निजी क्षेत्र, नेपालस्थित विभिन्न दातृ निकायहरू र संचार क्षेत्रमा लामो समय बिताउनु भएका तिवारी पछिल्लो पटक नेपाल सरकारबाट प्रवद्र्धित एवं सार्वजनिक-निजी संवाद प्रतिष्ठानको रूपमा रहेको नेपाल व्यवसाय मंच (Nepal Business Forum-NBF)  मा सल्लाहकार/परामर्शदाताको रूपमा कार्यरत हुनुहुन्थ्यो । 

अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका विभिन्न प्रतिष्ठित संघ/सँस्थाहरूसँग आवद्ध श्री तिवारी निजी क्षेत्र, आर्थिक व्यवसायिक विषयवस्तुका साथै समग्र अर्थतन्त्रका जानकार मानिनुहुन्छ । अर्थशास्त्रमा स्नातकोत्तर श्री तिवारी नेपालमा लगानीको वातावरण सुधार सम्बन्धी (Investment Climate in Nepal) विषयमा विद्याबारिधी गर्दै हुनुहुन्छ । श्री तिवारी सन् २०१६ मा नर्वेबाट सोसिएल इन्टरप्रेनियूरशीप एण्ड इनोभेसन म्यानेजमेन्ट (Social Entrepreneurship and Innovation Management)  मा ग्रयाजुएट र सन् २०१४ देखि बीजनेश स्कूल अफ नेदरल्याण्डसमा Management Scholar हुनुहुन्छ । साथै उहाँ नर्वे स्थित Fil Dr Jan-U Sandal Institute मा Independent Scientific researcher समेत हुनुहुन्छ ।

निमित्त महानिर्देशक तिवारीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सँस्था मार्फत आर्थिक विषयमा अनुसन्धान पनि गर्नु भएको छ भने उहाँका विभिन्न अन्तराष्ट्रिय जर्नलमा अनुसन्धानमुलक लेखहरू समेत प्रकाशित भएका छन् । उहाँका पुस्तक सहित व्यापार, अर्थतन्त्र, निजी क्षेत्र विकास, सामाजिक उद्यमशीलताका विषयमा दर्जनौ लेखरचनाहरू समेत प्रकाशित भएका छन् । श्री तिवारी, नेपालको एक मात्र अर्थशास्त्रीहरूको सँस्था नेपाल आर्थिक संघका महासचिव समेत हुनुहुन्छ ।
विभिन्न अन्तर्राष्ट्रिय सभा, सेमिनार र बैठकहरूमा समेत भाग लिई नेपालको आर्थिक व्यावसायिक विषयमा प्रतिनिधित्व गर्नुभएका नवनियुक्त निमित्त महानिर्देशक तिवारीको अनुभवबाट आर्थिक व्यवसायिक क्षेत्रमा निजी क्षेत्रका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न बल पुग्ने विश्वास महासंघले लिएको छ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by