May 13, 2018

आज बिहान करिव ३:४५ बजे भरतपुर महानगरपालिका– १० स्थित भाटभटेनी सुपर मार्केटमा भएको बम विस्फोटको घटना प्रति उद्योग वाणिज्य संघ–चितवनको गम्भिर ध्यानाकर्षण भएको छ । बिभिन्न समयमा बिभिन्न राजनितिक दलहरु तथा बिभिन्न समुहले आफ्नो राजनैतिक एवम् दलिय अभिष्ट पुरा गर्ने उदेश्यले गरिने यस किसिमका घटनाहरुले कसैको पनि भलो नहुने हाम्रो ठहर रहेको छ । कुनै पनि राजनैतिक दल वा समुदायलाई आफ्नो अधिकारको माग गर्ने, असहमती ब्यक्त गर्ने साथै विरोध गर्नेर्े अन्य बिभिन्न बिकल्पहरु समेत रहने अवस्थामा यस किसिमको ध्वंसात्मक गतिबिधि गरि जनमानसमा डर , त्रास फैलाउनुका साथै भौतिक संरचनाहरुमा क्षति पुर्‍याउंने र बन्द, हड्ताल जस्ता गतिविधिहरु आयोजना गर्ने अवाञ्छित अभ्यास एवम् संस्कारको उद्योग वाणिज्य संघ–चितवन सदैव विरोध गर्दै आइरहेको छ । आजको नेपाल बन्द कार्यक्रमलाई लक्षित गरि गरिएको भनिएको उक्त बम विस्फोट एक निन्दनिय कार्य भएको संघको ठम्याई छ । नेपाल सरकारले तय गरेका निति, नियम र परिधिहरुको पालना गरी व्यवसाय गर्दै आइरहेका व्यवसायीहरु लाई लक्षित गरी गरिने बन्द हड्ताल जस्ता क्रियाकलापले व्यवसायीहरु मात्र होईन सर्वसाधारणको दैनिक जीवनमा समेत नकारात्मक असर पार्नुका साथै देशको आर्थिक अवस्था पनि धरासायी बन्ने निश्चित देखिन्छ । बिगतका दिनहरुमा यी र यस्ता खाले गतिविधिहरुबाट आक्रान्त व्यवसायीक समुदाय र सर्वसाधारण यस किसिमका कार्यहरु संधैका लागि बन्द हुनुपर्दछ भन्ने मान्यतामा रहंदै आएका छन् । अत: व्यवसायीहरुको निर्बाध रुपमा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता प्रदान गर्न सम्बन्धित निकाय समक्ष उद्योग वाणिज्य संघ–चितवन हार्दिक अपिल गर्दछ । साथै सम्बन्धित राजनैतिक दललाई यस्ता गतिबिधिहरु नदोहोर्‍याउन समेत उद्योग वाणिज्य संघ–चितवन हार्दिक अपिल गर्दछ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by