Apr 30, 2018

१२९ औं अन्तर्राष्ट्रिय मे दिवसको उपलक्ष्यमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्र प्रसाद ढकालले शुभ–कामना सहित सबै श्रमिक कामदार साथीहरुमा हार्दिक बधाई ज्ञापन गर्नु भएको छ । 

अध्यक्ष राणाले आफ्नो शुभ-कामना संदेशमा भन्नु भएको छ–

अनेक आरोह अवरोह पार गर्दै मुलुक अहिले ईतिहासको नयाँ मोडमा उभिएको छ । हामी सबैको संघर्ष र बलिदानबाट संविधान सभाबाट जारी नयाँ संविधानको सफल कार्यान्यनका साथै संघीय गणतन्त्र नेपालको प्रारुप अनुसार सरकारको तीनै तहको सफलता पूर्वक सम्पन्न निर्वाचन पश्चात केन्द्रमा तीन चौथाई भन्दा बढिको समर्थन प्राप्त सरकारको निर्माणसंगै संक्रमण कालको पनि अन्त्य भएको छ । यो हामी सबैको लागी अभूतपूर्व ऐतिहासिक उपलब्धी पनि हो । मुलुक नयाँ युगमा प्रवेश गरेको यस अवसरमा मनाईन लागेको यो मे दिवसले हाम्रा लागि अझ विशेष महत्व राख्दछ । 

राजनैतिक उपलब्धीको जर्गेना गर्दै मुलुकको आर्थिक एवं सामाजिक रुपान्तरणको लागी हामी एक भएर अघि बढनुपर्ने अर्को ऐतिहासिक जिम्मेवारी हामीमा थपिएको छ । हाम्रा सामु विविध चुनौतीहरु छन तथापी हामी एकजुट भएर अघि बढयौ भने ति चुनौतिको सामना गर्न गार्‍हो पनि छैन । मुलुकको आर्थिक विकासलाई केन्द्र विन्दुमा राखेर पुँजी र परिश्रमको उच्चतम प्रयोग गर्नुको विकल्प हामी संग छैन । यही वस्तु तथ्यलाई मनन् गरि दिगो आर्थिक विकास, सम्मुनत जीवन र समृद्ध राष्ट्रका निर्माणका लागि प्रतिवद्ध भई काम गरौ भन्ने आग्रहका साथ सबै श्रमिक दाजुभाई दिदि बहिनीहरुको प्रगतीको लागि शुभ-कामना व्यक्त गर्दछु । 

रोजगारदाता परिषद्का सभापति ढकालले आफ्नो शुभ–कामना संदेशमा भन्नु भएको छ–

आर्थिक बृद्धि र मुलुक भित्रै पर्याप्त रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता हो । यसका लागी हामीले हाम्रो साधन श्रोतको परिचालनका साथै श्रमिकको दक्षता विकास एवं उद्योग व्यवसायको क्षमता अभिबृद्धि गर्नु अपरिहार्य छ । हाम्रा सामू रहेका यी चुनौति र आवश्यकतालाई मध्यनजर गरी मुलुकको अर्थतन्त्रको विकास र समुन्नतिका लागि हाम्रो प्रयत्न र प्रतिबद्धताले ठूलो महत्व राख्दछ । 

संक्रमण कालको अन्त्यसंगै मुलुक अब आर्थिक सम्बृद्धिको यात्रा तर्फ उन्मुख भएको छ । अब हामीले आर्थिक समृद्धिका लागी साझा लक्ष्यका साथ अघि बढनुको विकल्प छैन । हामी बीच हुदै आएका सहकार्य र समझदारीको प्रतिफलको रुपमा नयां श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन पारित भई कार्यान्वयनमा आएको कुरा स्मरण गर्दै आगामी दिनहरुमा पनि श्रम क्षेत्रको विकास एवं आर्थिक सम्बृद्धिको लागी हामी बीच थप सहकार्य हुनुपर्ने कुरामा जोड दिन चाहन्छु । हालै भएको कानूनी सुधारले श्रम क्षेत्रमा रहेका अधिकाशं समस्याहरु संवोधन भई नेपालको श्रम सम्बन्धमा गुणात्मक सुधारका साथै दिगो औद्योगिक शान्ती कायम हुने विश्वासका साथ सम्पूर्ण श्रमिक कामदार मित्रहरुको सुस्वास्थ्य र समुन्नतीको कामना गर्दछु ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by