Apr 17, 2018
–सम्माननीय राष्ट्रपति समक्ष महासंघ प्रतिनिधिमण्डलद्वारा भेटवार्ता– (मिति: २०७४/०१/०४)

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघका पदाधिकारी, कार्यकारिणी समिति सदस्यहरू सम्मिलित महासंघको प्रतिनिधिमण्डलले आज राष्ट्रपति भवन सितल निवासमा भेटवार्ता गर्‍यो ।
 
महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरू र महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठ समेत संलग्न रहनु भएको उक्त भेटवार्ताका अवसरमा महासंघका तर्फबाट सम्माननीय राष्ट्रपतिमा बधाई सहित नेपालको वर्तमान आर्थिक अवस्था, मुलुकको समृद्धिका लागि सरकार निजी क्षेत्र बीच सहकार्य, लगानी आकर्षण, उर्जा विकास, स्वदेशी उद्योगको प्रवद्र्धन, महासंघले हालै सम्पन्न गरेको प्रादेशिक आर्थिक बहस, भावी कार्यक्रम लगायतका विषयमा राष्ट्रपति समक्ष छलफल सम्पन्न भयो । 
सो अवसरमा सम्माननीय राष्ट्रपतिबाट आर्थिक विकासका लागि निजी क्षेत्र, उद्योग वाणिज्य क्षेत्र विज्ञ समूह भएकाले अव मुलुकको आर्थिक विकासमा सरकार निजी क्षेत्र एक जुट भएर लाग्नु पर्नेमा जोड दिनु भयो । 



अव हामीले आयात प्रतिस्थापन गर्ने उद्योगहरूको प्रवद्र्धनमा जोड दिनुहुंदै राष्ट्रपति भण्डारीले आम नेपाली जनताको स्तरीय जीवनयापन बनाउने स्वाबलम्वी अर्थतन्त्र विकास तर्फ हाम्रो सम्पूर्ण प्रयास केन्द्रीत हुनुपर्ने सुझाव दिनु भयो । 
साथै सम्माननीय राष्ट्रपतिबाट मुलुकभित्र पर्याप्त रोजगारीका अवसरहरू सृजना हुने उद्योग व्यवसाय संचालन गरी रोजगारीका लागि विदेशीएका नेपाली दाजुभाई दिदी बहिनीहरूलाई स्वदेश फर्काउने वातावरण बनाउन समेत निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by