Apr 11, 2018
प्रधानमन्त्रीबाट ५२ औं वार्षिक साधारण सभा समुद्घाटन - प्रादेशिक आर्थिक बहस कार्यक्रमले मुलुकभित्र आर्थिक समृद्धिको जागरण ल्यायो - प्रधानमन्त्री (२०७४/१२/२८)

नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०७४ को सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक विशेष समारोहका बीच काठमाडौंमा समुद्घाटन गर्नुभयो । मुलुकभरका उद्यमी व्यवसायीहरू सहभागी रहेको साधारण सभालाई संवोधन गर्नुहुंदै प्रधानमन्त्री ओलीले आफ्नो सम्पूर्ण समय मुलुकको समृद्धिमा केन्द्रीत हुने दृढता व्यक्त गर्नुभयो । मुलुकभित्र उद्योग व्यवसाय र अर्थतन्त्रको विकासमा निजी क्षेत्रलाई नेतृत्व लिएर अगाडी बढ्न समेत उहाँले सुझाव दिनु भयो । 

तपाईहरू अगाडी बढ्नुहोस के सहयोग चाहिन्छ भन्नुहोस, सरकार तपाईहरूले चाहे जस्तो ऐन कानून संशोधन गर्न, नया“ ऐन कानून ल्याउन तयार छ, प्रधानमन्त्रीले कतिपय ऐन, कानूनहरू तपाईहरूकै सल्लाह अनुसार आएका छन् अव कतिपय ऐन कानूनहरू आउने तयारीमा रहेको भन्दै आफूले निजी क्षेत्रलाई समेत समावेश गरी गठन गर्ने परामर्श समूह छिट्टै गठन गर्ने विश्वास दिलाउनु भयो । 



मुलुकको आर्थिक विकासमा महासंघको योगदान निकै ठूलो रहेको चर्चा गर्नुहुंदै प्रधानमन्त्री ओलीले महासंघको नेतृत्वमा सम्पन्न प्रादेशिक आर्थिक वहस कार्यक्रमले मुलुकभित्र आर्थिक समृद्धिको जागरण ल्याउन सफल भएको आफूले पाएको बताउनु भयो । प्रादेशिक आर्थिक बहस कार्यक्रम आयोजना गर्ने महासंघको सक्रियताको म उच्च प्रशंसा गर्दछु प्रधानमन्त्रीले भन्नु भयो - सो क्रममा प्रदेश सरकार र महासंघ बीच प्रादेशिक आर्थिक समृद्धिका लागि भएको सहमतीले आर्थिक विकासमा नेतृत्व लिन निजी क्षेत्र तयार रहेको संदेश गएको छ ।  

प्रधानमन्त्री ओलीले आफुले जसरी पनि रेल सञ्चालन गरेरै छाड्ने बताउनु भएको छ । ‘मैले फेरी पनि उद्घोष गरे अब जसरी पनि रेल चलाउंछु,’ ‘तर, त्यो रेल भरेर पठाउने जिम्मा उद्योगी व्यवसायीहरूको हो ।’ सरकारले रेल संञ्चालन गरेसंगै उक्त रेलमा राखेर निर्यात गर्ने सामान उत्पादन गर्न व्यवसायीहरू तयार हुनुपर्ने उहाँको सुझाव थियो । ‘हामीले विदेशबाट सामान आयात गर्न मात्र रेल सञ्चालन गर्ने होइन,’ उहाँले भन्नु भयो - ‘सोही मात्रामा सामान राखेर निर्यात पनि गर्न सक्नुपर्छ । आजैदेखि उत्पादन वृद्धिमा लाग्न समेत उहाँले सुझाव दिनु भयो । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका उद्यमी व्यवसायीहरूलाई संवोधन गर्नुहुंदै प्रधानमन्त्रीले अव नयाँ प्रविधि, नयाँ मेशिनरीको प्रयोग मार्फत उत्पादन बढाउन, नयाँ उद्योग ल्याउन समेत उद्यमीहरूलाई सुझाव दिनु भयो ।
  


अहिले नेपालको व्यापार घाटा उच्च रुपमा बढ्यो भन्नु नै गलत भएको उहाँको तर्क थियो । ‘हामीले सामान निर्यात गरे पो व्यापार घाटा घटबढ हुन्छ,’ उहाँले भन्नु भयो, ‘हामी सामान मात्र आयात गर्छौ निर्यात छैन कसरी व्यापार घाटा हुन्छ ।’ एक सय रुपैयाँको सामान आयात गर्दा ५/७ रुपैयाँ निर्यात गर्नुलाई व्यापार घाटासंग तुलना गर्न नमिल्ने उहाँको तर्क थियो । 

नेपालले तत्कालका लागि भ्यालु एड गरी महङ्गा बस्तु निर्यात तथा कृषि जन्य उत्पादनमा आत्मनिर्भर हुनेतर्फ लाग्नु पर्ने प्रधानमन्त्रीको सुझाव थियो । अझैपनि नेपालको जनसंख्याको ठूलो हिस्सा निरपेक्ष गरिबीको रेखामुनी रहेको भन्दै सबैले एक छाक खान र लाउन सक्ने वातावरण निर्माण गर्न सरकार अग्रसर रहेको बताउनु भयो । ‘हामीले सन् २०२२ सम्ममा विकाशिल देशमा स्तरोन्नती गरी सन् २०३० सम्ममा संयुक्त राष्ट्र संघले तयार गरेको शहश्राव्दी विकास लक्ष्य भेटाउनु छ,’ उहाँले भन्नु भयो ‘जसका लागि शिक्षा, स्वास्थ्य तथा गरिबी निवारणका लागि उल्लेख्य काम गर्नु जरुरी छ त्यसका लागि निजी क्षेत्र पनि तयार हुनुपर्छ ।’

यसैगरी सरकार व्यवसायी मैत्री वातावरण निर्माण गर्न तयार रहेको भन्दै प्रधानमन्त्रीले मौजुदा नियम कानून समेत परिमार्जन गरिने स्पष्ट पार्नुभयो । ‘सरकारले उद्योग व्यवसाय सम्बद्ध हरेक नियम कानून बनाउँदा व्यवसायीसंग सरसल्लाह गर्नेछ,’ उहाँले भन्नु भयो ‘स्वच्छ व्यवसाय गर्नका लागि सरकारले आवश्यक वातावरण निर्माण गर्नेछ ।’ 



त्यसअघि स्वागत मन्तव्य दिनुहुंदै महासंघका अध्यक्ष भवानी राणाले प्रधानमन्त्रीको सम्बृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफल पार्न व्यवसायीहरू पनि एकजुट भएर लाग्ने बताउनु भयो । जसका लागि सरकारले २०७५ देखि २०८५ लाई ‘समृद्धि अभियान दशक’ रुपमा घोषणा गर्न माग समेत अध्यक्ष राणाले गर्नुभयो । जस अन्तरगत पूर्वाधार विकास, औद्योगिकरण विस्तार, पर्यटन, उर्जा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न समेत आग्रह गर्नुभयो । साथै देश संघीयतामा गएसंगै देखिएको दोहोरो कर प्रणालीलाई अन्त्य गर्नुपर्ने समेत उहाँको सुझाव थियो । 

अध्यक्ष राणाले मुलुकभित्र अव कोही भोकले मर्न नपर्ने र त्यसको जिम्मेवारी सरकारले लिने प्रधानमन्त्रीको घोषणालाई साकार पार्न ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानमा सिंगो मुलुकलाईनै आर्थिक विकासको एकल शुत्रमा अगाडी लैजानु पर्ने र सोही अनुसार विकासका कार्यक्रमलाई तीव्ररुपमा अगाढी बढाउनु पर्नेमा जोड दिनु भयो । 

अध्यक्ष राणाले, मुलुकको अर्थतन्त्र निकै कमजोर रहेकाले मुलुकलाई समृद्धिको अभियानमा अगाडी बढाउन, नेपालमा अव लगानीको वातावरण बनेको छ, पर्याप्त लगानीका अवसरहरू छन् भन्ने संदेश राष्ट्रिय/अन्तराष्ट्रिय रुपमा दिन सरकारका तर्फबाट तत्काल प्रभावकारी कदम चाल्नुपर्ने सुझाव दिनु भयो । 



कार्यक्रममा धन्यवाद मन्तव्य दिनुहुंदै महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लगानीको वातावरणको लागि आवश्यक आधारभूत कुरा नीतिगत निरन्तरता, सरल एवं सहज किसिमको प्रकृयागत सुधार, खुल्ला बजारको अवधारणा अनुसारको ऐन नियमको संशोधन, विधिको शासन, सरल तथा सुलभ पूंजीको उपलव्धता, समयमा निर्णय गर्ने परिपाटीको विकास, कम लागत लगायतका व्यवस्थाहरू प्रारम्भ भई देशमा अनुकूल औद्योगिक व्यवसायिक वातावरण सृजना हुनेमा निजी क्षेत्र विश्वस्त रहेको बताउनु भयो । 

वरिष्ठ उपाध्यक्ष गोल्छाले विद्यमान परिस्थितिमा उद्योग व्यवसाय क्षेत्रमा देखा परेका प्रमुख मूलभूत बिषयहरू तर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विभिन्न वहानामा उद्यमी व्यवसायीहरू माथि मुद्दा मामिला लगाउने कार्य यथावत रूपमा रहेकाले करको मुद्दामा ५० प्रतिशतसम्म धरौटी राख्नु पर्ने व्यवस्थाबाट उद्यमी व्यवसायीहरू माथि ठूलो अन्याय भएको भन्दै यस्तो व्यवस्था तत्काल अन्त्य हुनु पर्ने बताउनु भयो । 

वरिष्ठ उपाध्यक्ष गोल्छाले भन्नु भयो - अहिले उद्योग व्यवसाय क्षेत्रमा अनुगमनको नाममा एक दर्जन भन्दा बढी निकायहरूले अनुगमन गर्दै आएका छन् । अनुगमन हुनु हुंदैन भनी हामी उद्योगी व्यवसायीहरूले कदापी भनेका छैन । अनुगमन हुनु पर्दछ र सीमित निकायहरूबाट मर्यादित किसिमले अनुगमन गर्ने व्यवस्था हुनु पर्दछ । उद्यमी व्यवसायीहरूको मान मर्यादा छविमा आँच नपुग्ने गरी मर्यादित ढंगबाट अनुगमन हुनु पर्ने तर्फ प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहान्छु । 



समुद्घाटन कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले महासंघद्वारा सदस्य जिल्लानगर उद्योग वाणिज्य संघ, बस्तुगत संघहरुलाई प्रदान गरिएको कदर सम्मान सम्बन्धमा विस्तृत जानकारी गराउँदै कदर सम्मान पाउने संघ संस्थाको नाम घोषणा गर्नु भयो ।

कार्यक्रममा महासंघका सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघहरुलाई विभिन्न विधामा कदर सम्मानबाट सम्मानित गरियो । साथै महासंघले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत वाढी पहिरो पिडीतहरुको सहयोर्थ संचालन गरेको अभियानमा सहयोग पुरयाउने विभिन्न उद्योग प्रतिष्ठान तथा व्यक्तिहरुलाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो । त्यसैगरी महासंघ २५ वर्ष सेवा अवधि पुरा गर्नु भएका पियन कोप प्रसाद तिवारीलाई नगद सहित सम्मानपत्रबाट सम्मानित गरियो ।

यसै बीच आजै साँझ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं वार्षिक साधारण सभामा भाग लिन मुलुकभरबाट आउनु भएका उद्यमी व्यवसायीहरूको सम्मानमा प्रधानमन्त्री निवास बालुवाटारमा चियापान समारोहको आयोजना गर्नु भयो । 



चियापान समारोहमा महासंघका अध्यक्ष भवानी राणा, महासंघका पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरु, उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो । 

कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले अव समृद्धिको मार्गमा अगाडी बढ्न र जिल्ला जिल्लामा त्यही संदेश लिएर जान निजी क्षेत्रलाई आग्रह गर्नुभयो । मुलुकको पछौटेपनाका वारे तपाईहरु सवै जानकार हुनुहुन्छ, अव हामीले हामीसंग रहेको अतिकम समयको सदुपयोग गरी मुलुकको विकास निर्माणमा लाग्नु पर्ने र सुखी नेपाली समृद्ध नेपालको अभियानमा तपाईहरुलाई अग्रभागमा रहेर काम अनुरोध गर्दछु ।  



फोटोको लागि यहाँ क्लिक गर्नु होला (For more photos, please click here)

On Facebook

नेउवामहासंघको वर्तमान नेतृत्वको एक वर्ष कार्यकालमा सम्पन्न प्रमुख कार्यक्रम 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by