Apr 06, 2018
सम्माननीय प्रधानमन्त्रीको सम्मानमा आयोजित विशेष कार्यक्रमलाई महासंघका अध्यक्ष राणाद्वारा संवोधन - नेपालमा अब ढिला नगरी लगानी बढाउन भारतीय लगानीकर्ताहरूलाई महासंघका अध्यक्ष राणाद्वारा आग्रह (२०७४/१२/२३)

मित्रराष्ट्र भारतको तीन दिने राजकिय भ्रमणमा रहनु भएका सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरूले नयाँ दिल्लीमा आयोजना गरेको नेपाल-भारत व्यवसायिक फोरम (Nepal-India Business Forum) बैठकलाई प्रतिनिधिमण्डलमा नेपाली निजी क्षेत्रको नेतृत्व गर्दै सहभागी रहनु भएकी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले संबोधन गर्नुभयो । 

भारतीय निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू भारतीय उद्योग वाणिज्य महासंघ (Federation of Indian Chambers of Commerce and Industry-FICCI), भारतीय उद्योग परिसंघ (Confederation of Indian Industry-CII) र एसोचेम (ASSOCHAM) ले संयुक्त रूपमा आज आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्नुहुंदै अध्यक्ष राणाले नेपालमा अब लगानी बढाउन ढिला नगर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो । 

सम्माननीय प्रधानमन्त्रीज्यूको मित्र राष्ट्र भारतको यो भ्रमण अत्यन्त उपयुक्त समयमा भएको चर्चा गर्नुहुंदै अध्यक्ष राणाले स्थिर सरकार, प्रधानमन्त्रीज्यू स्वयम् मुलुकभित्र आर्थिक वृद्धि, रोजगारी सृजना र सुशासन कायम गर्न प्रतिवद्ध रहनु भएको भारतीय लगानीकर्ताहरूलाई जानकारी गराउनुहु“दै सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा अव नेपाल आर्थिक समृद्धिको मार्गमा अगाडी बढ्ने विश्वास दिलाउनु भयो ।  

नेपाल र भारत दुबै प्राकृतिक स्रोत साधनले भरिपूर्ण र यूवा जनशक्तिले भरिभराउ देश रहेकाले यसको भरपुर उपयोग गर्दै समृद्धिको मार्गमा सहकार्य गरी अगाडी बढनु पर्ने धारणा अध्यक्ष राणाले राख्नु भयो । हामीसंग रहेको अपार स्रोतहरुको अधिकतम उपयोग मार्फत हाम्रा जनताहरूको जीवनस्तर उठाउन साझा उद्देश्य तथा रणनीतिक लक्ष्य निर्धारण गरी अघि बढ्नु पर्ने सुझाव उहाँको थियो । भारतले हासिल गर्दै गएको आर्थिक समृद्धिबाट लाभ लिन नेपाल संधै लालायित रहेको पनि अध्यक्ष राणाले बताउनु भयो । 

अध्यक्ष राणाले नेपाल भारत बीचको आर्थिक तथा व्यवसायिक सम्बन्धलाई नयाँ शिराबाट अगाडी बढाउनु पर्नेमा समेत जोड दिनु भयो । दुबै देशका निजी क्षेत्र बीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनुहुंदै अध्यक्ष राणाले आपसी सहकार्यका क्षेत्रहरूको बिस्तार तथा सहकार्यका नयाँ नयाँ क्षेत्रहरूको पहिचानमा समेत जोड दिनुपर्ने उहाँको सुझाव थियो । वदलिंदो परिस्थितिमा क्षेत्रीय तथा अन्तराष्ट्रियस्तरमा देखा परेका परिवर्तनहरूलाई आत्मसात गर्दै त्यसबाट लाभ उठाउन समेत आपसी सहकार्य जरुरी रहेको धारणा उहाँले राख्नु भयो । अत्यन्त नजिकको छिमेकी तथा विश्व अर्थतन्त्रमा शक्तिशाली राष्ट्रको रुपमा अगाडी बढीरहेको मित्रराष्ट्र भारतबाट नेपालमा पर्याप्त लगानी तथा प्रविधिको अपेक्षा नेपाली निजी क्षेत्रले गरेको अध्यक्ष राणाले बताउनु भयो । 

आर्थिक समृद्धिको मार्गमा भर्खर अगाडी बढ्ने तरखरमा रहेको नेपालका लागि यतिखेर भारतसंगको व्यापार घाटा अत्यन्त चिन्ताको विषय रहेको भन्नुहुंदै अध्यक्ष राणाले भारतीय लगानीकर्ताहरूको समेत बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा नेपालको समृद्धिको चाहनालाई पुरा गर्न भारतीय लगानीकर्ताहरूलाई नेपालमा पर्याप्त लगानी बढाउन अपिल गर्नुभयो । साथै उहाँले यतिवेला जस्तो नेपालमा लगानी गर्ने उपयुक्त समय कहिल्यै नभएको समेत प्रष्ट पार्नुभयो ।

सेवामुलक, उत्पादनमुलक र कृषि प्रशोधन जस्ता क्षेत्रहरूमा स्थानीय लगानी बढ्दै गएको बताउनुहुंदै अध्यक्ष राणाले नेपालले यतिखेर खासगरी उर्जा, पूर्वाधार र ठूला उत्पादनमुलक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खोजिरहेको भन्दै यी क्षेत्रहरुका अतिरिक्त पर्यटन खासगरी धार्मिक पर्यटन जस्तो वुद्ध सर्किट, रामसीता जन्मभूमी सर्किटमा आपसी सहकार्य हुन सक्ने बलियो आधार समेत प्रस्तुत गर्नुभयो । सरकारले विद्युत आपूर्तिको प्रभावकारी व्यवस्थापन गरेका कारणनै लोडसेडिङ अन्त्य हुनुका साथै उद्योग व्यवसायको क्षमतामा समेत सुधार भएको उदाहरण राख्नुहुंदै अध्यक्ष राणाले उर्जा उत्पादनमा अहिले निकै ठूला परियोजना समेत अगाडी बढेकाले आगामी दिनमा निकै धेरै उद्योगहरू आउनुका साथै उत्पादन क्षमतामा समेत ठूलो सुधार आउने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको स्पष्ट पार्नुभयो ।

चुनौतीहरूका बीच पनि नेपालमा कार्यरत भारतीय उद्योग प्रतिष्ठानहरूले निकै धेरै लाभ उठाउन सकेको उदाहरण दिनुहुंदै अध्यक्ष राणाले ती उद्योगहरूले आफ्नो परियोजना समेत विस्तार गर्दै गएको भन्दै निकै धेरै लगानी खोजिरहेको नेपालका लागि सहयोग गर्न भारतीय सरकार तथा निजी क्षेत्रलाई अपिल गर्नुभयो । सम्माननीय प्रधानमन्त्रीज्यूको सम्मानमा आयोजना गरिएको यस महत्वपूर्ण कार्यक्रमको भरपुर फाइदा उठाउन दुवै देशका निजी क्षेत्र सफल हुनुपर्ने जोड अध्यक्ष राणाको थियो । 

सम्माननीय प्रधानमन्त्रीको आजबाट शुरु मित्रराष्ट्र भारतको तीन दिने राजकीय भ्रमणका साथ महासंघका अध्यक्ष राणाको नेतृत्वमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू उमेश लाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान सहित कार्यकारिणी समितिका सदस्यहरू दिनेश श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, आनन्द कुमार अग्रवाल वगारिया, भरतराज आचार्य, प्रकाश सिंह कार्की, विजयसिं वैध, विरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्मा, नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्य, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नम्वर १ का उपाध्यक्ष राजेन्द्र राउत, व्यवसायी देश बन्धु  वस्नेत र महासंघका सहायक निर्देशक अरुण श्रेष्ठ सम्मिलित महासंघको प्रतिनिधिमण्डल यतिखेर भारतको भ्रमणमा रहेको छ । 

भारतमा रहंदा महासंघको प्रतिनिधिमण्डल प्रधानमन्त्रीसंगको औपचारिक समारोहमा सहभागी हुनुको साथै नेपाल भारत बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका लागि भारतीय निजी क्षेत्रसंग समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।
  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by