Mar 08, 2018
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१८ को सम्माननीय प्रधानमन्त्रीबाट समुद्घाटन अव मुलुकमा कसैले पनि भोकले मर्न नपर्ने, त्यसको जिम्मा सरकारले लिने प्रधानमन्त्रीको उद्घोष (२०७४/११/२४)

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आजदेखि काठमाडौंमा शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गरिएको मेलाको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले एक विशेष समारोहका बीच समुद्घाटन गर्नुभयो । नेपाल सरकार/वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह-आयोजना मेला आयोजना भएको हो । 

कार्यक्रमलाई संवोधन गर्नुहुंदै प्रधानमन्त्री ओलीले मेलाको सफलताको कामना गर्दै नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला समग्र मुलुकको व्यवसायिक प्रवर्द्धनमा कोशेढुंगा हुने विश्वास प्रकट गर्नुभयो । प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय व्यापार मेलाले नेपाललाई अन्तर्राष्ट्रिय मंचमा प्रवर्द्धन गर्न सघाउ पुर्‍याउने वताउंदै नेपालमा रहेको लगानी सम्भाव्यता तथा प्रचुर स्रोत साधनका विषयमा बाह्य जगतमा संदेश पुर्‍याउन समेत मेला सहयोगी धारणा राख्नु भयो । 

जनताको जीवनस्तर उकास्न आफूले सम्पूर्ण प्रयास गर्ने विश्वास दिलाउनु हुंदै प्रधानमन्त्रीले अव मुलुकमा कसैले पनि भोकले मर्न नपर्ने र त्यसको जिम्मा सरकारले लिने उद्घोष समेत गर्नुभयो । अन्तराष्टिय प्रदर्शनी स्थल निर्माणका विषयमा आफूले अध्ययन गरेर छिट्टै निर्णयमा पुग्ने समेत निजी क्षेत्रलाई विश्वास दिलाउनु भयो । 

मेलाले रोजगारी सृजना, मुलुकको निर्यात वृद्धि, नयाँ वस्तु उत्पादन विस्तार, नेपाली उत्पादनको अन्तराष्ट्रिय बजार प्रवर्द्धनमा समेत मद्दत आशा लिएको छु । मेलामा भाग लिन आउनु भएका स्वदेशी एवं विदेशी उद्यमी व्यवसायीहरु बीच मेलाका अवसरमा हुने भेटघाट, अन्तरक्रिया, छलफल, परामर्श नेपाली उद्यमी व्यवसायीहरुका लागि आफ्ना व्यवसायिक सम्बन्ध विस्तारमा महत्वपूर्ण हुने मैले विश्वास लिएको छु प्रधानमन्त्री ओलीले भन्नु भयो । 

आफ्नो सरकारको सम्पूर्ण ध्यान मुलुकको प्रगतिमा लगाउने बताउदै प्रधानमन्त्री भन्नु भयो - अव मेरो कार्यकाल जनताको चाहना अनुसारको विकास गरी उनीहरुलाई सुखी समृद्धि बनाउनुनै हुनेछ । मैले तपाईहरुसंगको भेटमा भनेको छु तपाईहरु आर्थिक विकासको नेतृत्वदायी भूमिका रहेर काम थाल्नुहोस । तपाईहरुलाई कस्तो सहयोग चाहियो म सहयोग गर्न तयार छु ।

सरकार आर्थिक विकासका लागि उत्तिकै सेचत छ । महासंघ लगायत निजी क्षेत्रको सल्लाह सुझाव अनुसारनै सरकारले केही महत्पूर्ण ऐन कानूनहरु ल्याई सकेको छ ।  आर्थिक विकासका लागि आवश्यक बाँकी ऐन कानूनहरु केके छन् तपाईहरुकै सल्लाहमा सरकारले पारित गर्ने, नयां ल्याउने काम गर्ने विश्वास दिलाउदछु प्रधानमन्त्रीले भन्नु भयो । 

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको आर्थिक अवस्थाका विषयमा निजी क्षेत्र जानकार रहेको र यो कठिन अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउन तपाईहरुको नेतृत्वदायी भूमिका सरकारले खोजेको समेत स्पष्ट पार्नुभयो । उहाँले सरकारले उद्योग व्यवसाय विस्तार गर्ने होइन तपाईहरुलाई सहयोग गर्ने हो, सरकार पूर्णत सहयोग गर्न तयार छ अर्थमन्त्री खतिवडाले भन्नु भयो । उहाँले यो मेला समग्रमा मुलुकको प्रवर्द्धन, लगानी आकर्षण र व्यवसायिक सम्बन्ध विस्तारमा सफल हुन सकोस अर्थमन्त्रीले शुभकामना दिनु भयो । 



उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले आआफ्नो क्षेत्रगत स्वार्थ त्यागेर अव सवैले देशको स्वार्थमा अगाडी बढ्नु पर्ने सुझाव राख्नु भयो । तपाईहरु काम गर्न होस, लगानी ल्याउनुहोस, कुनै पनि झमेला उत्पन्न भयो र त्यस्ता झमेलामा सरकारको कोही पनि सामेल भएको पाइएमा आफूले तत्काल कारवाही गर्ने पनि उहाँले विश्वास दिलाउनु भयो । सरकार लगानीको प्रत्याभुति दिन्छ, वाह्य लगानी प्रवर्द्धनमा उद्यमी व्यवसायीहरुलाई आव्हान गर्दै वाणिज्य मन्त्री यादवले भ्रष्टाचारमा सरकारको शुन्यशहनशीलता रहेको समेत दोहोर्याउनु भयो । लगानी ल्याउन, विकासका कार्यक्रमका लागि सरकार तपाईहरुसंग बसेर घण्टौ छलफल गर्न तयार छ, लगानीमैत्री वातावरण बनाउन सरकारले के गर्नुपर्छ, सहयोग गर्न तयार छ, वाणिज्य मन्त्री यादव स्पष्ट पार्नुभयो । 



त्यसअघि महासंघका अध्यक्ष भवानी राणाले आर्थिक समृद्धिको अभियानको थालनी महासंघले शुरुवात गरिसकेको भन्दै अन्तराष्टिय व्यापार मेला समग्रमा नेपालको प्रवद्र्धनमा महत्वपूर्ण मंच रहेको स्पष्ट पार्नुभयो । अध्यक्ष राणाको स्वागत मन्तव्य यसैसाथ संलग्न छ । 


महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले धन्यवाद मन्तव्यका क्रममा पूर्वाधार निर्माणमा प्राथमिकीकरण गरिदिने काममा महासंघको भूमिका रहने स्पष्ट पार्नुभयो । वरिष्ठ उपाध्यक्ष गोल्छाले भन्नु भयो – पूर्वाधारमा लगानी ल्याउन निजीक्षेत्रले व्यवसायीलाई प्रोत्साहन गर्न सक्छ । पूर्वाधार अथवा लगानीका लागि निजीक्षेत्रलाई चाहिने ऐन कानुन निर्माणमा हामीले सरकारलाई सघाउन सक्छौं । यस विषयमा हामी सरकारसंग निरन्तर वसेर विकासका मोडलहरु दिन तयार छौं । वरिष्ठ उपाध्यक्ष गोल्छाले दिनु भएको धन्यवाद मन्तव्य यसैसाथ संलग्न छ । 



कार्यक्रममा महासंघको व्यापार मेला समितिका सभापति दिल सुन्दर श्रेष्ठले मेलाका वारेमा जानकारी गराउनु भएको थियो । सभापति श्रेष्ठले दिनु भएको मन्तव्य यसैसाथ संलग्न छ । 



कार्यक्रममा चीनको वाणिज्य मन्त्रालयको व्यापार विकास विभागका उप निर्देशक चीन होङ  (Jin Hong, Deputy Director-General, Trade Development Bureau, Ministry of Commerce, China)  मेलाले दुई देशको आर्थिक व्यापारिक सम्बन्ध विस्तारमा सहयोग पुर्याउने धारणा राख्नु भयो ।

“सोकेशिङ नेपाल एण्ड दी ग्लोव”(Showcasing Nepal & The Globe) को मुख्य थिममा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको यो सातौं संस्करण हो । 

कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिएको छ । मेलामा नेपाल सहित सार्क मुलुकहरू, चाइना, भारत, पाकिस्तान, बंगलादेश लगायतका देशहरूको सहभागिता रहेको छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआइएस प्रोडक्टहरू रहेका छन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको छ । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा, औषधि, फलाम तथा स्टील, सवारी साधन आदिका छुट्टाछुट्टै स्टलहरू रहेका छन् । 



यस वर्षको मेलाको सहयोगी संस्थाहरुमा चाइना एक्जिविसन एण्ड फोरम कम्पनी लि., अर्घाखाँची ओपीसी सिमेन्ट, गार्मेन्ट एशोसिएसन नेपाल, फुटवेयर म्यानुफेक्चरर्स एसोसिएसन अफ नेपाल, प्रान, नेपाल टेलिकम, ग्लोवल आइएमई बैंक, इभेन्ट म्यानेजमा डीएन इभेन्टस्, आफिसियल इन्स्योरेन्समा प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल, अफिसियल कार्गो गणेश एयर कार्गो लि., अफिसियल आइएसपीमा मर्कन्टायल कम्युनिकेशन प्रा.लि. रहेका छन् । 

समुद्घाटन कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डिराज ढकाल, पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकाल, ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरु, पूर्व पदाधिकारीहरु, नेपाल सरकारका उच्च पदाधिकारीहरु,  विभिन्न देशका राजदुतहरु, राजदुतावासको उच्च अधिकारीहरु, महासंघका सदस्य संघ संस्थाका पदाधिकारीहरु, उद्यमी व्यवसायीहरु लगायत सहभागिता रहेको थियो ।  




  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by