Mar 06, 2018
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१८ को तयारी अन्तिम चरणमा (२०७४/११/२२)

नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गर्न लागिएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेला फागुन २४ देखि २८ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा हुँदैछ । नेपाल सरकार/वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह—आयोजनामा हुने मेलाको विशेष समारोहका बीच फागुन २४ गते, बिहीवार, सम्माननीय प्रधानमन्त्रीज्यूबाट समुद्घाटन हुने कार्यक्रम छ ।

“सोकेशिङ नेपाल एण्ड दी ग्लोव” (Showcasing Nepal & The Globe) को मुख्य थिममा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको यो सातौं संस्करण हो । 
मेलाका लागि सबै स्टलहरु बुक भैसकेका छन् । कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । मेलामा नेपाल सहित सार्क मुलुकहरू, चाइना, भारत, पाकिस्तान, बंगलादेश लगायतका देशहरूको सहभागिता रहनेछ । मेला स्थलमा स्टल निर्माण तथा सजावटको कार्य शुरु भैसकेको छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआइएस प्रोडक्टहरू रहने छन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको छ । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा, औषधि, फलाम तथा स्टील, सवारी साधन आदिका छुट्टाछुट्टै स्टलहरू रहने छन् । 

मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी वारे छलफल समेत हुने छ । यस वर्षको मेलामा स्वदेशी र विदेशी गरि करिव २ लाख अवलोकनकर्ताहरूले अवलोकन गर्ने लक्ष्य राखिएको छ । मेलामा भाग लिन तथा मेलाको अवलोकनका लागि चीनको व्यवसायिक प्रतिनिधिमण्डल नेपाल आइसकेको छ । 

राष्ट्रिय अन्तर्राष्ट्रियतहमा एउटा विशिष्ठ पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्‍याउने आशा एवं विश्वास महासंघले लिएको छ । 

यस वर्षको मेलाको सहयोगी संस्थाहरुमा चाइना एक्जिविसन एण्ड फोरम कम्पनी लि., अर्घाखाँची ओपीसी सिमेन्ट, गार्मेन्ट एशोसिएसन नेपाल, फुटवेयर म्यानुफेक्चरर्स एसोसिएसन अफ नेपाल, प्रान, ग्लोवल आइएमई बैंक, इभेन्ट म्यानेजमा डीएन इभेन्टस्, आफिसियल इन्स्योरेन्समा प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल, अफिसियल कार्गो गणेश एयर कार्गो लि., अफिसियल आइएसपीमा मर्कन्टायल कम्युनिकेशन प्रा.लि. रहेका छन् ।
 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by