Feb 24, 2018
नवनियुक्त प्रधानमन्त्रीलाई नेउवामहासंघको भेटघाट सहित बधाई - आर्थिक विकासका कार्यक्रम ल्याउन महासंघको माग, आफ्नो लक्ष्य नै मुलुकको समृद्धि - प्रधानमन्त्री (२०७४/११/१२)

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्यो । 

महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरु, महासंघका महासचिव सुरेश मान श्रेष्ठ, सदस्य संघ/संस्थाका प्रतिनिधिहरु सहभागी रहनु भएको महासंघको प्रतिनिधिमण्डलका तर्फबाट अध्यक्ष राणाले नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिनुहुँदै मुलुकलाई अव आर्थिक समृद्धितर्फ अगाडी बढाउन प्रधानमन्त्रीज्यूबाट नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । 

अध्यक्ष राणाले मुलुक राजनीतिक रुपमा पूर्णत नयाँ संरचनामा रूपान्तरण भएकाले प्राप्त उपलव्धीलाई संस्थागत गर्दै अव जनताका मुहार उज्यालो बनाउने अभियानमा सरकार लाग्नु पर्ने सुझाव राख्नु भयो । अवको अभियान भनेको आर्थिक समृद्धिनै हुनुपर्नेमा जोड दिनुहु“दै अध्यक्ष राणाले सम्माननीय प्रधानमन्त्रीज्यूले त्यसको सफल नेतृत्व लिने विश्वास निजी क्षेत्रलाई भएको र सरकारको आर्थिक विकासको कार्यक्रममा निजी क्षेत्रले पूर्णत सहयोग गर्ने विश्वास दिलाउनु भयो । 

उद्यमी व्यवसायीहरुले कर लगायत स्थानीय तहमा अहिले पनि निकै धेरै समस्या व्यहोर्नुपरेको, उद्योग व्यवसाय क्षेत्रले मात्र गर्नुपर्ने कार्यक्रमहरु अन्य क्षेत्रबाट समेत हुन जाँदा त्यसको असर समग्र उद्योग व्यवसायमा पर्न गएको, संघीय राज्य प्रणालीमा गएपछि कर लगायतका विषयमा उद्यमी व्यवसायी स्पष्ट हुन नसकेको र अन्यौलता बढेकाले यस्ता विषयमा अहिलेदेखिनै निजी क्षेत्रलाई विश्वस्त पार्न आग्रह गर्नुहुँदै अध्यक्ष राणाले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्नेदेखि नयां योजनाहरु ल्याउन समेत प्रधानमन्त्री समक्ष आग्रह गर्नु भयो ।  

प्रधानमन्त्री समक्ष अध्यक्ष राणाले अवको एक दशकलाई समृद्ध नेपाल निर्माण दशक घोषणा गर्न समेत माग गर्नुभयो । पूर्वाधार विकास, औद्योगिकीकरण, पर्यटन, ऊर्जा र कृषि क्षेत्रलाई केन्द्रमा राखेर ठोस योजना, लक्ष्य तथा कार्यक्रम ल्याउन अध्यक्ष राणाले महासंघका तर्फबाट सुझाव राख्नु भयो । 

सो अवसरमा महासंघका पदाधिकारीहरु सहित सदस्य संघ/संस्थाका प्रतिनिधिहरुले बधाई सहित आर्थिक व्यावसायिक विकासका विषयमा आ-आफ्ना धारणा सहित स्थानीय तहमा रहेका बास्तविक समस्याहरु राख्नु भएको थियो ।
 
महासंघको प्रतिनिधिमण्डललाई संवोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नु भयो - मेरो यो अवधिको प्रमुख लक्ष्य र अभियान भनेकै आर्थिक रुपमा मुलुकलाई समृद्ध बनाउने हो, महासंघ जस्तो निजी क्षेत्रको संशक्त प्रतिनिधिमुलक संस्था र नेतृत्वनै मेरो कार्यक्रमलाई सफल पार्ने उर्जा हो, इन्जिन हो भन्दै अवको आर्थिक विकासको नेतृत्वदायी भूमिका लिन तयार हुन समेत निजी क्षेत्रलाई आग्रह गर्नुभयो । 

तपाईहरु मुलुकभित्र उद्योग व्यवसाय विस्तार गर्ने, रोजगारी सृजना गर्ने, आर्थिक वातावरण बनाउने काममा आजैबाट लाग्नुहोस, मैले के गर्नुपर्छ ठोस सुझाव ल्याउनुहोस, मुलुकको समृद्धिका लागि तपाईहरुले ल्याउने जुनसुकै सहयोग गर्न म तयार छु, प्रधानमन्त्रीले विश्वास दिलाउनु भयो । प्रधानमन्त्री ओलीले अव कुनै प्रकारको श्रम समस्या नआउने र औद्योगिक व्यवसायिक वातावरण सुमधुर बन्ने सुनिश्चितता समेत दिलाउनु भयो ।

प्रधानमन्त्री ओलीले महासंघले केही समय अघि आयोजना गरेको आर्थिक बहस कार्यक्रमको स्मरण गर्नुहुँदै सो कार्यक्रममा आफूले भने जस्तै अव निजी क्षेत्रका नेतृत्वहरु र प्रतिष्ठित उद्यमी व्यवसायीहरु सम्मिलित एक परामर्श समूह (Consultation Group) बनाई कार्य गर्ने विश्वास समेत जानकारी गराउनु भयो ।  

मुलुकभित्र यस अवधिमा निजी क्षेत्रका तर्फबाट महासंघले निर्वाह गरेको भूमिकाप्रति आफू अत्यन्त खुशी भएको र महासंघले दिएका सुझावहरुले आफूले आफ्नो कार्यकालमा कार्यान्वयन समेत गरेको स्मरण गराउनु भयो । अहिले पनि निकै राम्रा सुझावहरु आएका र महासंघका सुझावहरुलाई सरकारका आगामी कार्यक्रमहरुमा राख्ने विश्वास दिलाउनु हुंदै सरकारले ल्याउने सवै कार्यक्रममा महासंघलाई एकसाथ लैजाने प्रतिवद्धता प्रधानमन्त्रीले जनाउनु भयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by