Feb 14, 2018
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ३ को दोस्रो वार्षिक प्रदेश सभा विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै चितवनमा सम्पन्न भयो । उद्योग वाणिज्य संघ चितवनको आतिथ्यतामा माघ २८ र २९ गते प्रदेश नम्वर ३ का ८८ प्रतिशत सदस्यहरुको सक्रिय सहभागितामा सम्पन्न बैठकले देहायको निर्णय गरेको छ । 

निर्णयहरु

१. समान उद्देश्य लिएर स्थापित भएका उद्योग वाणिज्य संघसँग मिल्दाजुल्दा संघ तथा संस्थाहरुमा पनि सदस्यता लिएका वा सदस्य भएका व्यक्तिहरुलाई स्पष्टीकरण लिई खारेजी गर्ने अधिकार पदाधिकारीहरुलाई दिने,

२. समय समयमा आयोजना हुने मेला महोत्सवहरुको भूमिका एवम् महत्वलाई मध्यनजर गदै यस किसिमका मेला महोत्सवहरु व्यवसायी प्रतिनिधिमूलक संस्थाहरुले मात्र गर्न पाउने वा मेला महोत्सवहरुलाई करको दायरामा लिई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने । साथै कर नउठाई टोल टोलमा बिभिन्न आवरणमा गरिने मेला महोत्सव गर्ने कार्य बन्द गरिनुपर्ने,

३. उद्योग व्यवसायहरुको आर्थिक लेखा परिक्षण मात्र गर्ने नकारात्मक अभ्यासलाई निरुत्साहित गर्दै भौतिक परिक्षण (Physical Audit) पनि गर्ने कार्य प्रारम्भ गर्नुपर्ने,

४. जिल्लास्थित घरेलु तथा साना उद्योग विकास कार्यालयसँग समन्वय गरी व्यवसाय दर्ता एवम् खारेजी गर्दा सम्बन्धित उद्योग वाणिज्य संघको सिफारिसमा हुनुपर्ने व्यवस्था गर्नुपर्ने,

५. बैंक तथा वित्तिय संस्थाहरुले कर्जा प्रबाह गर्दा अनावश्यक झन्झटिला कार्यहरु गराउने गरेका साथै व्याजदरमा पनि समय सापेक्ष नभएकोले व्याज दरमा मनपरि बढाउने कार्यलाई रोक्नु पर्ने,

६.खुद्रा तथा साना व्यापारीहरुलाई न्यून विजकिकरणले समस्या पारेकोले न्यून विजकिकरण गरि बिक्रिगर्ने कम्पनी सार्वजनिक गर्ने, बहिष्कार गर्ने र स्वदेशी उद्योगको बिक्रि मूल्य भन्दा कममा त्यस्तै सामान आयात गर्न नदिने र न्यूनमूल्यांकन सामान सरकारले खरिद गरि सर्वसाधारणलाई बिक्रि गर्ने कार्य गर्नुपर्ने,

७. लगानी मैत्री वातावरण बनाई देशको समृद्धिको लागि र उद्योग स्थापना गरी उत्पादन बढाउन बिभिन्न प्रोत्साहन र सुविधा दिई उद्योग स्थापना गर्न प्रोत्साहन दिई आगामी १० बर्ष राष्ट्रिय उत्पादन दशकका रुपमा सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने । 

प्रदेश सभा, प्रदेश महासंघको सर्बोच्च अंग हो । उक्त सभामा वार्षिक प्रतिवेदनको अतिरिक्त भावी कार्यक्रमहरु, निजी क्षेत्रका समस्याहरु, तिनका समाधान, आगामी चुनौती र अवसर वारे व्यापक छलफल भएको थियो । १३ वटा जिल्ला सहितको ३ नं. प्रदेशका उद्योगी र व्यवसायीहरुका प्रतिनिधि सहित जिल्ला, नगर, वस्तुगत एवम् एशोसियट सदस्यहरुको उपस्थितिमा सम्पन्न उक्त प्रदेश सभा महासंघका विशिष्ट सदस्य एवम् पूर्व अध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यता एवम् महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । 

त्यसअघि प्रदेश सभाको उद्घाटन गर्नुहुँदै महासंघका पूर्व अध्यक्ष ढकालले देशको आर्थिक क्षेत्रलाई चलायमान बनाउन सम्पूर्ण साना उद्योगी व्यवसायी देखि ठूला उद्योग समेतको प्रबद्र्धनका लागि काम गरि आएको निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था महासंघले मुलुकको आर्थिक परिवर्तनको नेतृत्वदायी भूमिका रहेर काम गर्ने बताउनु भयो । निजी क्षेत्रको धरोहर संस्था महासंघले स्थानीय, प्रादेशिक र संघीय सरकारसँग आर्थिक विकासका मुद्दामा आगामी दिनमा एकसाथ कार्य गर्नुपर्नेमा समेत जोड दिनु भयो । 

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले चितवनमा औद्योगिक क्षेत्रको डिपिआर अन्तिम चरणमा पुगेको र चीन र भारत जोड्ने छोटो राजमार्ग (ठोरी–केरुङ मार्ग) को विकासका लागि जोड दिनुभयो । न्यून विजकिकरणले साना व्यापारिहरु, खुद्रा व्यापारीहरु समस्यामा परेकाले समस्या समाधान गर्ने र अनुगमनका नाउमा व्यापारीको मानमर्दन गर्न नहुने बताउनु भयो । 

नेउवामहासंघ प्रदेश नं. ३ का अध्यक्ष दिनेश श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त भेलामा स्वागत मन्तब्य दिनुहुँदै प्रदेश नं. ३ को आर्थिक समृद्धीका लागि जन निर्बाचित सदस्य एवम् स्थानिय निकायहरुसँग समन्वय गरी एकद्धार कर लाग्ने गरी उद्योग व्यापार मैत्री वातावरण सिर्जनका लागि कार्य गर्ने बताउनु भयो ।

सभामा प्रदेश नं. ३ का उपाध्यक्ष कृष्ण अवालले समसामयिक विषयमा र कोषाध्यक्षश्री ज्ञानबहादुर विसुरालले आर्थिक प्रतिवेदन र आगामी वर्षका अनुमानित बजेट प्रस्तुत गर्नु भयो । संघका उपाध्यक्ष राजन गौतमले मेला महोत्सवलाई करको दायरमा ल्याउनुपर्ने औंल्याउंदै उद्योग वाणिज्य संघ–चितवनले गत बर्ष संचालन गरेको चितवन महोत्सवबाट यसको प्रारम्भ गरेको बताउनु भयो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by