Feb 04, 2018
चिनीयाँ उद्यमी र नेपाली उद्यमी बीच महासंघ सचिवालयमा व्यावसायिक भेटवार्ता (बी टु बी मिटिङ) सम्पन्न(२०७४/१०/२१)

 


नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आज महासंघ सचिवालयमा व्यावसायिक भेटवार्ता सम्पन्न भयो । ग्वाङ्गजाओका लागि नेपाली महावाणिज्यदूत रवि भट्टराईको समन्वयमा चीनबाट व्यावसायिक भेटवार्ताका लागि नेपाल आएको ६ सदस्यीय प्रतिनिधिमण्डललाई महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले एक कार्यक्रम बीच स्वागत गर्नुभयो । 

सो अवसरमा वरिष्ठ उपाध्यक्ष गोल्छाले नेपालमा रहेका सम्भावनाहरूको खोजी गरी सहकार्यको हात अगाडि बढाउन नेपाल आएका चिनियाँ प्रतिनिधिमण्डललाई नेपालको लगानीका क्षेत्रहरूका बारेमा जानकारी गराउनुभयो । नेपालमा स्थानीय एवं प्रादेशिक निर्वाचनहरू सम्पन्न भैसकेको जानकारी गराउनुहुँदै वरिष्ठ उपाध्यक्ष गोल्छाले अव मुलुकमा राजनैतिक स्थिरता हुनुका साथै लगानीको वातावरण अझ प्रभावकारी हुने बताउनुभयो । नेपालमा यस अघि पनि धेरै चिनियाँ कम्पनीहरूको लगानी रहेको र नेपाल एक व्यवसायिक नाफा कमाउन सकिने मुलुकको रूपमा स्थापित भैसकेको उदाहरणहरू सहित प्रष्ट पार्नुभयो । 

महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, विभिन्न वस्तुगत क्षेत्रका प्रतिनिधि एवं व्यवसायीहरूको उपस्थिति रहेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोल्छाले नेपाल र चीनका लगानीकर्ताहरू, रियल स्टेट डेभलपर्स, कृषि व्यवसायिहरू, सौर्य उर्जा एवं पूर्वाधार निमार्णसँग सम्बन्धित व्यावसायिहरूको भेटवार्ता (बी टु बी मिटिङ)ले सकरात्मक कार्यको थालनी हुनुका साथै यसले दुवै देशलाई व्यावसायिक रूपमा अझ बढी प्रगाढ बनाउने विश्वास रहेको बताउनुभयो । 

सो अवसरमा महावाणिज्यदूत रवि भट्टराईले नेपाल लगानीको लागि उत्तम देश भएको र यहाँ लगानी गर्नेहरूले सफलता हासिल गर्न सक्ने धारणा राख्नुभयो । साथै, महावाणिज्यदुत भट्टराईले नेपालीहरू पनि चीनमा आफ्नो व्यापार/व्यवसाय विस्तार गर्न ईच्छुक रहेको समेत जानकारी गराउनु भयो । 

उक्त भेटवार्तामा चिनीयाँ प्रतिनिधिमण्डलका व्यवसायीहरू र नेपाली व्यवसायीहरू बीच व्यावसायिक सम्बन्धको शुरुवात भयो । सो अवसरमा हाल नेपालमा उल्लेखित क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्ने साथै निकट भविष्यमा अन्य क्षेत्रमा पनि आफूहरू लगानी गर्न इच्छुक रहेको धारणा चिनीयाँ व्यावसायिक प्रतिनिधिमण्डलले व्यक्त गरे । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by