Jan 22, 2018
नेउवामहासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा आज महासंघ सचिवालयमा बसेको शोक सभाबाट देहायको शोक प्रस्ताव पारित  (२०७४/१०/०८)
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा आज महासंघ सचिवालयमा बसेको शोक सभाबाट देहायको शोक प्रस्ताव पारित गरियो । 

शोक प्रस्ताव

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य एवं वर्तमान कार्यकारिणी समितिमा निर्यात प्रवद्र्धन समितिका सभापति मनिष कुमार अग्रवालको यही माघ ६ गते शनिवारका दिन अल्पायुमै निधन भएको खवरले नेपाल उद्योग वाणिज्य महासंघ परिवार स्तव्ध भएको छ । मर्माहत भएको छ । उद्योगपति हरि प्रसाद अग्रवाल र आमा पद्मा अग्रवालका कान्छा छोरा स्वर्गीय अग्रवालको जन्म आजभन्दा ४५ वर्ष अघि बीरगंजमा भएको थियो ।  

केही समयअघिसम्म पनि अत्यन्त सक्रिय रुपमा काम गरीरहनु भएका यूवा उद्योगपति अग्रवाललाई एक्कासी व्लड क्यान्सर भएको पत्ता लागेपछि उहां परिवारका साथ भारतको मेदान्त अस्पतालमा उपचार गराई रहनु भएको र उपचारकै क्रममा गत शनिवार उहाँको निधन भएको खवरबाट महासंघ परिवार शोकमा डुवेको छ । उहाँको निधनबाट महासंघलाई अपुरणीय क्षति पुग्न गएको छ, सिंगो निजी क्षेत्रले एक होनाहार यूवा उद्यमी गुमाएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघमा विक्रम सम्वत २०६४–६७ देखि वर्तमान कार्यकारिणी समितिसम्म निरन्तर आवद्ध रहनु भएका स्वर्गिय अग्रवालले विगतका कार्यकारिणी समितिमा दुई कार्यकाल महासंघको रोजगारदाता परिषद्का उपसभापति जस्तो महत्वपूर्ण पदमा समेत रही श्रम विवाद निरुपण तथा श्रम सम्बन्धी नीति कानून निर्माणका क्रममा महासंघको तर्फबाट अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उद्यमी जमातमा एक अध्ययनशील उद्यमीको पहिचान बनाउनु भएका स्वर्गिय अग्रवाल श्रम, उत्पादनमुलक, आयात निर्यात लगायतका आर्थिक मुद्दाहरुका विषयमा जानकार मानिनुहुन्थ्यो ।

स्वर्गीय अग्रवालका तेल, मैदा, प्लाष्टिक्स, चिनी, जुट आदि उद्योगहरु संचालित छन् भने ती उद्योगहरुमा सयौ मानिसहरुले रोजगारी पाइरहेका छन् । अत्यन्त मृदुभाषी, कसैको पनि चित्त नदुखाउने, हसिलो र मिलनसार स्वभावका स्वर्गीय अग्रवाल नेपालको परिचत व्यवसायिक घराना एचसी अग्रवाल ग्रुप अफ कम्पनिज्का प्रवन्ध निर्देशक हुनुहुन्थ्यो । 
स्वर्गीय अग्रवाल महासंघको वस्तुगत सदस्य नेपाल वनस्पति घिउ तेल उत्पादक संघ, नेपाल चामल तेल तथा दाल उद्योग संघ, नेपाल चिनी उद्योग संघ लगायतका विभिन्न संघ संस्थासँग समेत आवद्ध हुनुहुन्थ्यो । स्वर्गीय अग्रवालका श्रीमती र एक छोरा हुनुहुन्छ ।  

दु:खको यस घडीमा महासंघ परिवार, स्वर्गीय अग्रवालकी धर्मपत्नी सहित सोकाकुल अग्रवाल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ । स्वर्गर्ीय आत्माको चिरशान्तिका लागि श्री परमेश्वरसँग प्रार्थना गर्दै बैठक यो शोक प्रस्ताव पारित गर्दछ । 

शोक सभामा स्वर्गीय अग्रवालको सम्झनामा एक मिनेट मौन धारण गर्नुका साथै महासंघका अध्यक्ष राणा, निर्वतमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरु, महासंघका सदस्य संघ/संस्थाका पदाधिकारी एवं महासंघ सचिवालयका कर्मचारीहरुबाट स्वर्गीय अग्रवालको तस्विरमा माल्यार्पण गरियो । साथै, स्वर्गीय अग्रवालको सम्मानमा महासंघ सचिवालय आज आधा दिन विदा दिने घोषणा समेत गरियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by