Dec 14, 2017
–महासंघ पदाधिकारी–नेकपा(एमाले) अध्यक्ष ओली बीच भेटवार्ता– निजी क्षेत्रसँग बृहद छलफल गरी आर्थिक विकासका भावी रणनीति तयार गर्न सुझावमिति: २०७४/०८/२८
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको पदाधिकारी एवं कारिणी समिति सदस्यहरू सम्मिलित महासंघको प्रतिनिधिमण्डmले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उहाँकै निवास बालकोटमा भेटवार्ता गरेको छ । 

सो अवसरमा महासंघका अध्यक्ष राणाले अध्यक्ष ओलीलाई नेकपा एमाले नेतृत्वको बाम गठबन्धनले भखैरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा पाएको सफलताका लागि बधाई दिंदै प्राप्त परिणामले अव मुलुक स्थिरतातर्फ अगाडि बढ्ने आशा निजी क्षेत्रले गरेको बताउनु भयो । सम्पन्न ऐतिहासिक निर्वाचन पश्चात मुलुकभित्र नयाँ संविधान पूर्णरूपमा कार्यान्वयनमा गएको, राजनीतिक उपलव्धी संस्थागत भएको, लामो समयको राजनीतिक संक्रमण अन्त्य भएको र जनताले अव राजनीतिक नेतृत्वलाई आर्थिक समृद्धिमा लाग्न जनादेश दिएकाले मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि लैजान एमाले नेतृत्वले ऐतिहासिक भूमिका निर्वाह गर्ने विश्वास निजी क्षेत्रले लिएको बताउनुभयो । 



महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू उमेशलाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल, कार्यकारिणी समितिका सदस्यहरू भरतराज आचार्य, हेमराज ढकाल र प्रवलजंग पाण्डे, महासंघका महासचिव सुरेश मान श्रेष्ठ सम्मिलित महासंघको प्रतिनिधिमण्डलका तर्फबाट अध्यक्ष राणाले नयाँ बन्ने सरकारले चुनाव पूर्व एमाले नेतृत्वबाट महासंघसँग गरेको प्रतिवद्धताअनुसार महासंघसहित निजी क्षेत्रसँग बृहद् छलफल गरी आर्थिक विकासको भावी रणनीति तयार गर्न सुझाव दिनुभयो । 

सो अवसरमा महासंघका तर्फबाट नयाँ सरकारबाट योजनाबद्ध र समयको समेत किटान गरी आर्थिक विकासका योजनाहरू सार्वजनिक गर्नुपर्ने, निजी क्षेत्रको माग अनुसारको नीतिगत सुधार, सुशासनको आभास, स्वदेशी उत्पादनको प्रयोग आदि महत्वपूर्ण मु्द्दाहरू नयाँ सरकारको प्राथमिकता हुनुपर्ने सुझाव दिइएको 
थियो ।  



सो अवसरमा एमाले अध्यक्ष ओलीले निजी क्षेत्रको तर्फबाट प्राप्त सहयोग एवं सदासयताका लागि धन्यवाद दिनुहुँदै आफूले सधै नै महासंघको नेतृत्वसँग नजिकमा रहेर एकसाथ काम गर्ने विश्वास दिलाउनु भयो । अध्यक्ष ओलीले निजी क्षेत्रलाई उद्योग व्यवसायको विस्तार, पूँजी परिचालन र रोजगारी सृजना हुने क्षेत्रमा केन्द्रीत हुन सुझावसमेत दिनुभयो । 

अवको सरकारको प्राथमिकता भनेको आर्थिक विकासनै हो, मुलुकको समृद्धि र नेपाली जनताको मुहार हसिलो बनाउनेनै हाम्रो अभियान र ध्यान हुनेछ, अध्यक्ष ओलीले भन्नु भयो–आर्थिक विकासलाई तिव्रतररूपमा अगाडी बढाउन सरकारका तर्फबाट के–के गरिदिनु पर्दछ, निजी क्षेत्रले स्पष्टरुपमा भनोस, हामी त्यस अनुसार निजी क्षेत्रलाई वातावरण बनाईदिन तयार छौ, सरकार त आर्थिक विकासका लागि सहजकर्ता मात्र हो, आर्थिक विकासको नेतृत्वदायी भूमिका हामीले तपाई निजी क्षेत्रबाटै खोजेका छौं ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by