Nov 23, 2017
छैठौं राष्ट्रिय कर दिवस २०७४ को सप्ताहव्यापी कार्यक्रम समापनः कर सम्बन्धी विद्यमान व्यवस्थामा रहेका मूलभूत समस्याहरूलाई तत्काल संवोधन गर्न महासंघको सुझाव (२०७४/०८/०७)

कर सप्ताह कार्यक्रमको समापन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा कर सम्बन्धी विद्यमान व्यवस्थामा रहेका मूलभूत समस्याहरूलाई तत्काल संवोधन हुनुपर्नेमा जोडदिंदै विभिन्न सुझावहरू प्रस्तुत गरियो । 

महासंघ र आन्तरिक राजस्व विभागद्वारा छैंठौं राष्ट्रिय कर दिवस २०७४ को समापन समारोहका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा महासंघका तर्फबाट व्यवसायिक क्षेत्रका कानून तथा नीति नियमहरू समयानुसार परिवर्तन हुनु पर्ने, राजस्व नीतिलाई उद्योग वाणिज्य क्षेत्रमा लगानी अभिवृद्धि उत्पादन, उत्पादकत्व, व्यापार र रोजगारीसंग जोडिनुपर्ने, अन्तरसरकारी निकाय बीच राम्रो समन्वय हुन हुनुपर्ने लगायतमा जोड दिइयो । साथै महासंघका तर्फबाट नीतिगत, कर प्रशासनको ढाँचा, उद्योग तथा लगानी प्रवद्र्धन, आयकर, मुल्य अभिवृद्धि कर, अन्तः शुल्क, यातायात र राजस्व सम्बन्धी न्यायिक प्रणाली लगायतमा विस्तृत सुझाव समेत दिइयो । 



कार्यक्रमलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि अर्थ मन्त्रालयका सचिव(अर्थ) शंकर प्रसाद अधिकारीले मुलुकको मुख्य चुनौती आर्थिक बृद्धिदर रहेको बताउनुभयो । सचिव अधिकारीले आर्थिक समृद्धिको नेतृत्व निजी क्षेत्रले लिनुपर्ने र त्यसको लागि लगानीको वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभयो । 

विश्वका अधिकांश मुलुकको आर्थिक समृद्धिको मुख्य कारण उद्योगधन्दाको विकासनै रहेको उदाहरण दिनुहुंदै सचिव अधिकारीले कर प्रणालीमा भएका समस्या समाधानका लागि निजी क्षेत्रसंग निर्णायक संयुक्त बैठकको अपेक्षा आफूले गरेको बताउनुभयो । सचिव अधिकारीले संघीय संरचना पश्चात राजस्व संरचनामा थप विस्तार गर्ने, करको दायरा बढाउने, प्रक्रियालाई सरलीकृत गर्ने लगायत विभिन्न किसिमका कर मैत्री वातावरणको प्रयास गरिने बताउनुहुंदै यसले निजी क्षेत्रले राखेका गुनासाहरूको संवोधन हुने विश्वास समेत दिलाउनु भयो ।  

कार्यक्रमको प्रारम्भमा स्वागत मन्तब्य व्यक्त गर्नुहुंदै महासंघका अध्यक्ष भवानी राणाले उद्योगी व्यवसायीहरू सदैव कर तिर्न इच्छुक एवं तत्पर रहेको स्पष्ट पार्नुभयो । अध्यक्ष्ँ राणाले करको दायरा विस्तार गर्दै अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउन सके राजस्व परिचालनमा सहयोग पुग्ने धारणा राख्नुभयो । कर दिवसको अवसरमा अन्तरिक राजस्व विभाग र सो अन्तरगतका कर कार्यालयहरूले जिल्ला/नगर उद्योग वणिज्य संघहरुको सहभागितामा देशैभरी कर शिक्षा कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्नुहुंदै उहाँले कर प्रशासन र करदातामा भएका कमी कमजोरीको विश्लेषण गरी दुबै पक्षका कमी कमजोरीमा सुधार गरी करदाता शिक्षालाई विस्तार गर्न सके कर दिवसको सान्दर्भिकता अझै बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले करदाताहरूलाई सम्मान गर्नुले सकारात्मक संदेश जानुका साथै करदातालाई प्रोत्साहन मिल्ने बताउनुभयो । निवर्तमान अध्यक्ष मुरारकाले स्वच्छ प्रशासन, स्वच्छ कर प्रणाली हुनुपर्ने सुझाव दिंदै कर सप्ताह कार्यक्रमले कर प्रणालीमा भएका कमी कमजोरीलाई न्यूनिकरण गर्न मद्धत पुर्याउने धारणा राख्नुभयो । 
कार्यक्रममा आफ्नो धारणा राख्नुहुंदै अर्थ मन्त्रालय राजश्व व्यवस्थापन महाशाखाका सहसचिव शोभाकान्त पौडेलले कर दाताले कर तिर्ने जिम्मेवारी र सरकारको कर असुल्ने सार्वभौमिक अधिकारलाई नभुली कर प्रणालीलाई सुधार एवं व्यवस्थित गर्नुपर्ने धारणा राख्नु भयो । आन्तरिक राजस्व विभागका महानिर्देशक किशोरजंग कार्कीले निजी क्षेत्रको सुझाव अनुसारको करको एकद्धार प्रणाली, संघिय ढाँचा अनुसारको कार्यालय विस्तार, जनशक्तिको क्षमता अभिबृद्धि लगायतमा विभागले कार्यहरू थालनी गरिसकेको जानकारी गराउनु भयो । 

समापन मन्तव्य दिनुहुंदै महासंघका उपाध्यक्ष्ँ चन्द्र प्रसाद ढकालले उद्योग व्यवसाय क्षेत्रको विकासमा राज्यको पर्याप्त दृष्टि पुग्नु पर्नेमा जोड दिनु भयो । साथै कर प्रणालीमा व्यापक सुधार गरी मुलुकलाई औद्योगिककरणको दिशा तर्फ अगाडी बढाउनु पर्ने सुझाव दिनु भयो ।



कार्यक्रममा धेरै र समयमै कर तिर्ने २५ जना व्यवसायी र संघ/संस्था करदातालाई सम्मान तथा उपत्यकाका विभिन्न आन्तरिक राजस्व कार्यालयका १९ उत्कृष्ट कर्मचारीलाई सम्मानसहित पुरस्कृत गरिएको थियो । नेपाल सरकारका उच्च अधिकारीहरू, महासंघको कार्यकारिणी समितिका सदस्यहरू उद्योगी व्यवसायीहरू, महासंघका महासचिव सुरेश मान श्रेष्ठको उपस्थिति रहेको कार्यक्रममा महासंघको कर तथा, राजश्व समितिका सभापति अशोक कुमार तोदी र उपसभापति नारायण बजाजले संयुक्त रुपमा सुभाव सहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by