Nov 07, 2017
सिंगापुरमा लगानी रहेका जापानी उद्यमी व्यवसायीहरु नेपाल भ्रमणमा महासंघसँग काठमाडौंमा भेटवार्ता (२०७४/०७/२१)

    

नेपालमा लगानीको वातावरण अध्ययन गर्न यहाँ आएको जापानी उद्यमी व्यवसायी र लगानीकर्ताहरु सम्मिलित प्रतिनिधिमण्डलसँग नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज काठमाडौंमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । सिंगापुरमा लगानी गरीरहेका विभिन्न आठ वटा कम्पनीहरुको प्रतिनिधित्व गर्दै आएको १२ सदस्यीय जापानी प्रतिनिधिमण्डल र नेपाली उद्यमी व्यवसायीहरु बीच भएको अन्तरक्रियामा जापानी लगानीकर्ताहरुका तर्फबाट नेपालमा लगानीको वातावरण, लगानीका क्षेत्रहरु, बजार, नीतिगत कुराहरुका विषयमा जिज्ञासा राखिएको थियो । 


महासंघका अध्यक्ष भवानी राणा, महासंघका पदाधिकारीहरु, नेपालका लागि जापानी राजदुत मासासी ओगावा (H.E.Mr. Masashi Ogawa,  Ambassador of Japan to Nepal)  र जापान चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रि सिंगापुरका अध्यक्ष तोचिओरी ताकुहिरो  (Mr. Tochiori, Takuhiro, President, Japan Chamber of Commerce and Industry, Singapore)  को नेतृत्वमा आएको प्रतिनिधिमण्डलले कार्यक्रममा नेपालमा उर्जा, कार्गो, होटल व्यवसाय, लजिष्टिक सेवाहरु, कृषि, पर्यटन आदि क्षेत्रमा लगानी तथा आयात निर्यात व्यापारमा इच्छा देखाएका छन् । 


महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, रोजगारदाता परिषदका उपसभापति भरतराज आचार्य उद्यमी व्यवसायी इच्छाराज तामाङ्ग, महासंघका महासचिव सुरेश मान श्रेष्ठ, जापान चेम्वर अफ कमर्स नेपालका पदाधिकारीहरु, जापानसँग व्यापार व्यवसाय गर्दै आएका उद्यमी व्यवसायीहरु सहभागी रहनु भएको कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणाले नेपालमा लगानीका लागि सवै प्रकारको सहयोग गर्न महासंघ तयार रहेको विश्वास दिलाउनु भयो । 


लगानी आकर्षणसँग जोडिएका महत्वपूर्ण ऐन कानूनहरु पारित गर्नुका साथै विदेशी लगानी भित्रयाउन सरकार समेत अत्यन्त उत्साहित भएकाले यो समयमा लगानी गरी नेपालको विकास प्रयासमा सहयोग गर्न अध्यक्ष राणाले जापानी लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो । 


अर्थतन्त्रका परिसूचकहरु निकै सकारात्मक दिशातर्फ उन्नमुख भएको, राजनीति पनि स्थिरतातर्फ उन्नमुख भएको, राजनीतिक दलहरुले आर्थिक विकासको एजेण्डालाई पहिलो प्राथमिकतामा राखेको, स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र राष्ट्रिय निर्वाचनको पनि मिति तय भैसकेकाले यो समय नेपालमा लगानीका लागि अतिनै उपयुक्त भएको स्पष्ट पार्नुभयो । तपाईहरुले सिंगापुरमा गरीरहेको लगानीको सानो अंश तथा तपाईहरुको प्रविधिक अनुभव नेपालमा पनि विस्तार गर्नुहोस, कस्तो प्रकारको सहयोग चाहिन्छ सहयोग गर्न महासंघ तयार छ– अध्यक्ष राणाले जापानी लगानीकर्ताहरु समक्ष विश्वास दिलाउनु भयो । 


नेपालका लागि जापानी राजदुत मासासी ओगावा (H.E.Mr. Masashi Ogawa,  Ambassador of Japan to Nepal ले जापानी लगानी बढाउन कुटनीतिक तर्फबाट पनि पहल भैरहेको जानकारी गराउनुहुंदै नेपालमा जापानी लगानी तथा विकासको आदान प्रदान गर्न जापानी लगानीकर्ताहरुलाई अनुरोध गर्नुभयो । उहांले यस भ्रमणबाट लगानीका क्षेत्र पहिचान तथा विस्तारमा समेत सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो ।  


नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलका नेता एवं जापान चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रि सिंगाप्ु्रका अध्यक्ष तोसिओरी ताकुहि (Mr. Tochiori, Takuhiko, President, Japan Chamber of Commerce and Industry, Singapore) ले व्यापार तथा लगानीको वातावरण अध्ययन गर्न आफूहरु नेपालमा आएको जानकारी गराउनु हुँदै नेपाल वसाईका क्रममा नेपाली उद्यमी व्यवसायीहरुसँग भेटवार्ता गरी लगानीका क्षेत्र, बजार सम्भाव्यता, नीतिगत विषय, यूवा शक्तिको अधिकतम सहयोग मार्फत गर्न सकिने उद्यम व्यवसायका वारेमा अध्ययन गरी लगानी विस्तारका योजना बनाउने भ्रमणको उद्देश्य रहेको स्पष्ट पार्नुभयो । आफ्नो संघले यसका लागि महासंघ नजिकमा रहेर काम गर्ने विश्वास समेत दिलाउनु भयो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by