Nov 02, 2017
जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलन (२०७४/०७/१६)
नेपाल उद्योग वाणिज्य महासंघ र सार्क उद्योग वाणिज्य संघ र (SAARC Chamber of Commerce & Industry)को संयुक्त आयोजनामा दक्षिण एशियाली युवाहरू सम्मिलित जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलन आज काठमाडौमा आयोजना गरियो । माननीय युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार के.सी.ले समुद्घाटन गर्नुभएको सम्मेलनमा सार्क राष्ट्रका युवा उद्यमीहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै युवा तथा खेलकुद मन्त्री के.सी.ले विश्वमा नै जलवायु परिवर्तनको प्रभाव बढिरहेको बेला दक्षिण एशियाका युवाहरू सम्मिलित शिखर सम्मेलनको प्रशंसा गर्नुभयो । उहाँले सम्मेलन मार्फत युवाहरू जलवायु परिवर्तन यसको कारण, परिणाम र प्रभावका बारेमा थप सजग हुने र भविष्यमा जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । 

सो अवसरमा मन्त्री के.सी.ले मुलकको आर्थिक सम्बृद्धि एवं प्रभावकारी परिवर्तनमा युवाको भूमिका महत्वपूर्ण हुने महसुस गर्दै नेपाल सरकारले युवा तथा खेलकुद मन्त्रालय मार्फत युवाहरू लक्षित विभिन्न कार्यक्रमहरू संचालन गरिरहेको जानकारी गराउनुभयो । 

कार्यक्रममा सार्क चेम्बर अफ कर्मशका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज बैद्यले युवाहरू परिवर्तनका संवाहक भएकाले, युवाहरू एकजुट भएर जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । 

सो अवसरमा महासंघका अध्यक्ष भवानी राणाले जलवायु परिवर्तनको चरम अवस्था भोग्नु परेको दृष्टान्त दिनुहुँदैे हालै नेपाल, भारत, बंगलादेश लगायतका देशहरू बाढी पहिरोको मार खेपिरहेको बताउनुभयो । जलवायु परिवर्तनको चुनौतीलाई एक अवसरका रूपमा परिवर्तन गर्नुपर्ने समय आएको धारणा राख्नुहुँदै अध्यक्ष राणाले युवाहरू मार्फत गहन छलफल एवं विमर्श गरी पर्यावरण संरक्षण र प्राकृतिक स्रोतहरूको संरक्षण तथा प्रचार गर्दै उद्यमशीलता विकास गर्नुपर्ने बताउनुभयो । पर्यावरण संरक्षरण एवं उद्यमशीलता विकासका लागि दक्षिण एशियाली युवाहरूको उत्शाहजनक सहभागिताले आफूलाई खुशी बनाएको समेत अध्यक्ष राणाले बताउनुभयो ।

एक दिने शिखर सम्मेलनको समुद्घाटन् कार्यक्रममामा सार्क योङ इन्टरप्रिनियर फोरमका सभापति सिंग्य नामगेल दोर्जी (Mr. Singye Namgyal Dorji, Chairman, SAARC Young Entrepreneur Fourm) ले स्वागत गर्नुभएको थियो भने सार्क सचिवालयका डाइरेक्टर रिश्फा रशिद (Ms. Rishfa Rasheed, Director Social Affairs, SAARC Secretariat)ले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा विषयगत कार्यपत्रहरु प्रस्तुतीसमेत गरिएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by