Sep 10, 2017
सेजन नवनिर्वाचित पदाधिकारी तथा कार्य समिति सदस्यको स्वागत - लगानीको वातावरण बनाउने कार्यमा आर्थिक पत्रकारसंग निजी क्षेत्रको अपेक्षा (२०७४/०५/२५)

नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज एक विशेष समारोहका बीच नेपाल आर्थिक पत्रकार समाज(सेजन)का नवनिर्वाचित पदाधिकारी एवं कार्य समिति सदस्यहरुको महासंघ सचिवालयमा स्वागत गरियो ।  

महासंघका अध्यक्ष भवानी राणा, महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकाल, कार्यकारिणी समिति सदस्यहरुको उपस्थितिमा आयोजित कार्यक्रममा सेजनको नवनिर्वाचित टीमलाई स्वागत गर्नुहुंदै अध्यक्ष राणाले मुलुकभित्र आर्थिक व्यवसायिक वातावरण बनाउने कार्यमा आर्थिक पत्रकारहरुबाट महत्वपूर्ण सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको बताउनु भयो । 

अध्यक्ष राणाले महासंघले मुलुकभित्र औद्योगिक विकास, रोजगारी सृजना तथा लगानीको बातावरण बनाउन बारम्बार सरकारसंग आग्रह गर्र्दै आएको बताउनु हु“दै विस्तारै काम गर्ने वातावरण बन्छ कि भन्ने अपेक्षा गर्यो फेरी उद्यमी व्यवसायीहरुको मनोवल घटाउने कार्य हुंदा निजी क्षेत्र निरुत्साहित हुन पुगेको बताउनु भयो । 

व्यापार घाटा अत्यधिक रुपमा बढेको, निर्यातमुलुक उद्योगहरु जीर्ण बन्दै गएको, प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्दै गएको, राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमा सम्पन्न हुन नसक्दा मुलुक नराम्रोसंग प्रभावित भैरहेको भन्नुहुंदै अध्यक्ष राणाले चुनौतीका बीच पनि आफ्नो कर्मपथमा निरन्तर लागेको निजी क्षेत्रलाई  सहयोग गर्न आर्थिक पत्रकारहरुलाई आग्रह गर्नुभयो । 



महासंघ र सेजन बीच संस्थागत सहमती भई सहकार्य हुंदै आएको, महासंघले सेजनको संस्थागत विकास तथा आर्थिक पत्रकारहरुको व्यक्तित्व विकासमा समेत सहभागी हुंदै आएको उल्लेख गर्नुहुंदै आगामी दिनमा निरन्तर रुपमा सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भयो । 

सेजनका नवनिर्वाचित अध्यक्ष पुष्पराज आचार्यले निजी क्षेत्रले उठान गरेका आर्थिक मुद्दाहरुलाई सहयोग रहने विश्वास दिलाउनु हुंदै आर्थिक विषयहरुमा आफ्नो टिमले महासंघसंग नजिकमा रहेर कार्य गर्ने प्रतिवद्धता जनाउनु भयो । मुलुकभित्र काम गर्ने वातावरणका लागि निजी क्षेत्रले माग गरेको नीतिगत स्थायीत्व, राजनीतिक स्थायीत्व, सुरक्षाको सुनिश्चिततानै भएकाले त्यसमा राज्यले उचित सहयोग गर्न पर्नुमा अध्यक्ष आचार्यले जोड दिनु भयो । 

महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले मुलुकभित्र यतिवेला लगानीकर्ताहरुमा मनोवलको कमी भएकाले मनोवल बढाउने वातावरण बनाई दिन संचारमाध्यमको ठूलो भूमीका हुने हुंदा आर्थिक पत्रकारहरुलाई त्यसका लागि सक्दो सहयोग गर्न आग्रह गर्नुभयो ।  

त्यसअघि महासंघका अध्यक्ष राणाले सेजनका नवनिर्वाचित अध्यक्ष सहित पदाधिकारी, कार्य समिति सदस्यहरुलाई माला लगाई महासंघ सचिवालयमा स्वागत गर्नुभएको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by