Aug 29, 2017
एफएनसीसीआई पदाधिकारी र आइएलओ टीम बीच भेटवार्ता (२०७४/५/१३) 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, महासंघका पदाधिकारी र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को नेपालका लागि देशिय निर्देशक डा. रिचार्ड हवार्ड (Dr. Richard Howard, Country Director, International Labour Organisation-ILO, Nepal) को नेतृत्वमा आएको आइएलओ उच्च प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा भेटवार्ता भयो । 



महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, परिषद्का उपसभापति भरतराज आचार्य, आइएलओ मुख्यालय र नेपाल कार्यालयका उच्च अधिकारीहरू, महासंघ सचिवालयका उच्च अधिकृतहरु सहभागी रहनु भएको सो भेटवार्तामा नेपालमा हालै पारित श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन, नेपालमा भैरहेका नीतिगत एवं कानूनी सुधार लगायत नेपालको आर्थिक विकास तथा रोजगारी सृजनाका विषयमा विस्तृत छलफल भयो । 

कार्यक्रममा आइएलओ टीमलाई महासंघ सचिवालयमा स्वागत गर्नुहुंदै वरिष्ठ उपाध्यक्ष गोल्छाले नेपालमा सवै प्रकारको अस्थिरताको विस्तारै अन्त्य हुंदै गएको, निजी क्षेत्रले धेरै समयदेखि माग गर्दै आएका ऐन कानुनहरू पास हुंदै गएका, लोड सेडिङ्गको अन्त्य र स्थानीय निकायको चुनाव समेत सम्पन्न भइसकेकाले अव लगानीको वातावरण बन्नेमा निजी क्षेत्र विश्वस्त रहेको बताउनु भयो । रोजगारदाता र ट्रेड यूनियनहरूको संयुक्त सहकार्य र सहमतीमा आएको श्रम ऐन, सामाजिक सुरक्षा ऐन हाम्रा लागि महत्वपूर्ण रहेको भन्नुहुंदै अव यसको प्रभावकारी कार्यान्वयन मार्फत मुलुकभित्र आर्थिक विकास र रोजगारी सृजना गर्ने महत्वपूर्ण अवसर आएको बताउनु भयो । 

महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष ढकालले नेपालमा निकै धेरै क्षेत्रमा काम गरी रोजगारीका अवसर सृजना गर्न सकिने उदाहरण दिनुहुंदै नयाँ श्रम ऐन र सामाजिक सुरक्षा ऐन औद्योगिक विकासको महत्वपूर्ण औजार हुने विश्वास प्रकट गर्नुभयो । उपाध्यक्ष ढकालले रोजगारदाता र ट्रेड यूनियन बीचको संयुक्त सहकार्यमा आएको श्रम ऐन र सामाजिक सुरक्षा ऐन प्रभावकारी ढंगमा कार्यान्वयन हुनेमा निजी क्षेत्र विश्वस्त रहेको बताउनु भयो । 



महासंघको रोजगारदाता परिषद्का उपसभापति भरतराज आचार्यले नेपाल अव विस्तारै आर्थिक विकासको मार्गमा अगाडी बढ्ने विश्वास निजी क्षेत्रमा बढ्दै गएको बताउनु भयो । आइएलओ र महासंघ बीचको सहकार्य उत्कृष्ठ रहेको बताउनुहुंदै उपसभापति आचार्यले आगामी दिनमा अझ बढी सहयोग एवं सहकार्यको खाँचो औल्याउनु भयो । 

आइएलओका देशिय निर्देशक डा. रिचार्डले नयाँ श्रम ऐन र सामाजिक सुरक्षा ऐन नेपालको आर्थिक विकास, रोजगारी सृजना एवं रोजगारदाता र ट्रेड यूनियनहरू बीचको सम्बन्ध अझ मजवुद बनाउन महत्वपूर्ण कडी हुने विश्वास प्रकट गर्नुभयो । उहाँले महासंघको रोजगारदाता परिषद्लाई अझ बढी सशक्त ढंगबाट अगाडी बढाउन र परिषद् मार्फत उद्यमशीलता विकास तथा आवश्यक प्राविधिक सहयोग गर्न आइएलओ तयार रहेको विश्वास दिलाउनु भयो । टिममा सहभागी आइएलओ प्रतिनिधिहरूले श्रम ऐन र सामाजिक सुरक्षा ऐनमा भएको प्रावधानहरू, रोजगारदाता ट्रेड यूनियन बीचको सहकार्य, महासंघको विद्यमान सञ्जाल तथा कार्य योजना, आगामी आपसी सहयोगका विषयमा जिज्ञासा राख्नु भएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by