Aug 13, 2017
बाढी प्रभावितहरूलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न नेउवामहासंघद्वारा  उद्योगी व्यवसायी लगायत सवै जनसमुदायमा अपिल (२०७४/०४/२९)
केहि दिनदेखि अविरलरूपमा परेको वर्षाका कारण मुलुकभर भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ गहिरो दु:ख व्यक्त गर्दै विपत्तिमा परेका जनताको तत्काल सहयोगार्थ महासंघले आफ्ना सदस्य एवं अन्य संघ संस्थाहरूको समेत सहयोगमा नगद तथा जिन्सी गरी करिव रु. १ करोड रुपैयाँ बराबरको सहयोगको घोषणा गरेको छ ।
 
उक्त सहयोगमा, महासंघको तर्फबाट नगद रु. १० लाख, नेपाल औषधि उत्पादक संघको तर्फबाट रू. ५० लाख नगद वरावरको औषधि, नेपाली यूवा उद्यमी मञ्चबाट नगद तथा जिन्सी गरी रू. १५ लाख, शंकर ग्रुपको तर्फबाट नगद तथा जिन्सी गरी रू. ५ लाख,  वागमती सफाई महाअभियानका तर्फबाट रू. १० लाख नगद र अन्य संघ संस्थाबाट रू. १० लाख गरी पहिलो चरणमा महासंघका तर्फबाट उक्त सहयोगको घोषणा गरिएको हो । साथै यसका लागि कार्य गर्न महासंघको सामाजिक सेवा फोरमका सभापति जय प्रसाद सिवाकोटीको संयोजकत्वमा १७ सदस्यीय बाढी पहिरो व्यवस्थापन कार्यदल २०७४ समेत गठन गरिएको छ ।

बाढी प्रभावित जनताको सहयोगार्थ महासंघले बैंक अफ काठमाडौंमा एफएनसीसीआई रिलिफ खाता संचालनमा ल्याएको छ । विपत्तिमा परेका जनताहरूको सहयोगार्थ महासंघले संचालनमा ल्याएको Bank of Kathmandu मा रहेको FNCCI Relief Fund A/C N0: 012500000635 खातामा आआफ्नो क्षेत्रबाट नगद सहयोग गर्न महासंघ आफ्ना सवै सदस्य उद्योग वाणिज्य संघहरू, वस्तुगत संघहरू, द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरू, एसोसिएट सदस्यहरु, उद्यमी व्यवसायीहरू, गैर आवासीय नेपाली संघ लगायत अन्य संघ संस्थाहरू समेत सवैमा हार्दिक अपिल गर्दछ । जुनसुकै बैंकबाट पनि महासंघको उक्त खातामा सहयोग रकम पठाउन सकिने छ ।

विपत्तिको यस घडीमा प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने वस्तु तथा सेवाको प्राथमिकीकरण गरी यथाशीघ्र महासंघ सचिवालयमा जानकारी गराउन तथा विपतको यस घडीमा अग्रस्थानमा रहेर जनताको सेवा गर्न महासंघ आफ्ना सवै सदस्य उद्योग वाणिज्य संघ सदस्यहरु लगायत सवै जनसमुदायमा आग्रह समेत गर्दछ । साथै महासंघका सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघहरूद्वारा हाल प्रभावित क्षेत्रमा भैरहेको सहयोगको महासंघ हार्दिक सराहना समेत गर्दछ ।

संस्थागत सामाजिक दायित्वबाट निजी क्षेत्र सदैव अभिप्रेरित रहेको र मुलुक र मुलुकवासीमा प्राकृतिक विपत्तिका वखत सदैव खुला ह्दयले सहयोग गर्दै आएको स्मरण गराउंदै महासंघले आफ्ना सवै सदस्य संघ संस्थाको सहयोग र सहकार्यमा अग्रस्थानमा रहेर विपत्तिमा परेका जनताको सहयोग गर्ने प्रतिवद्धता नेपाल सरकार समक्ष व्यक्त गर्दछ ।  
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by