Aug 03, 2017
महासंघ प्रतिनिधिमण्डलद्वारा माननीय वाणिज्य मन्त्री समक्ष भेटवार्ता– निजी क्षेत्रसंग सहकार्यका लागि आग्रह( २०७४/४/१८)
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघका पदाधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डलले आज माननीय वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा समक्ष सिंहदरवारमा भेटवार्ता गर्‍यो । 

महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष उमेशलाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समिति सदस्य एवं मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठ, उक्त समितिका सदस्यहरू र महासचिव सुरेश मान श्रेष्ठ सम्मिलित प्रतिनिधिमण्डलका तर्फबाट नवनियुक्त माननीय वाणिज्य मन्त्रीलाई बधाई दिनुका साथै व्यापार तथा वाणिज्य क्षेत्रका अतिरिक्त नीतिगत सुधार, आर्थिक व्यवसायिक विकासमा सरकार निजी क्षेत्र बीचको सहकार्य लगायतका विषयमा छलफल गरियो । 

माननीय वाणिज्य मन्त्री विश्वकर्मा समक्ष भएको भेटवार्तामा महासंघका तर्फबाट स्वदेशी वस्तुको प्रवद्र्धन, निर्यातमुखी उद्योगहरूलाई प्रोत्साहनका लागि नीतिगत सुधार, भारतले लागू गरेको जीएसटीले पार्न सक्ने प्रभावका विषयमा निरन्तर अध्ययन, चर्को व्यापार घाटा न्यूनीकरणका लागि मुलुकभित्र लगानी तथा उद्यमशीलताको वातावरण निर्माण, उत्पत्तिको प्रमाणपत्रको प्रभावकारी व्यवस्थापन, अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल निर्माण लगायतमा जोड दिइयो ।

सो अवसरमा प्रतिनिधिमण्डललाई संबोधन गर्नुहुँदै वाणिज्य मन्त्री विश्वकर्माले निजी क्षेत्र बिना मुलुकको आर्थिक उन्नती सम्भव नभएकाले आफू र आफ्नो मन्त्रालयको पूर्ण सहयोग निजी क्षेत्रलाई रहने विश्वास दिलाउनु भयो । चुलिँदो वैदेशिक व्यापार घाटा न्यून गर्दै निर्यात बढाउनुपर्ने आजको टड्कारो आवश्यकता रहेको बताउँनुहुँदै मन्त्री विश्वकर्माले निर्यातजन्य वस्तुको प्रवद्र्धन गर्न आफ्नो विशेष जोड रहने प्रतिबद्धता जनाउनु भयो । साथै उहांले मुलुकभित्र लगानीको वातावरण, स्वदेशी उद्योग एवं वस्तुहरूको प्रवद्र्धनमा आफूले महासंघ सहित सिंगो निजी क्षेत्रसंग सहकार्य गर्ने विश्वास दिलाउनु भयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by