Jul 25, 2017
अध्यक्ष राणा र बंगलादेशी राजदूत बीच भेटवार्ता: नेपाल–बंगलादेश बीच संयुक्त लगानी विस्तारमा जोड ( मिति:२०७४/४/९)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि बंगलादेशका राजदूत मास्फी विनित साम्स (Mrs. Mashfee Binte Shams, Amabassador of Bangladesh to Nepal)  बीच आज महासंघ सचिवालयमा औपचारिक भेटवार्ता सम्पन्न भयो । 

महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासचिव सुरेश मान श्रेष्ठ, वंगलादेशी राजदुतावासका अधिकारी सहभागी रहनु भएको सो भेटवार्तामा दुई देश बीचको आर्थिक, व्यापारिक सम्बन्ध, निजी क्षेत्र बीच भएका सहकार्यहरु, आयात निर्यात व्यापार आदिका विषयमा छलफल भयो । महासंघमा प्राप्त पछिल्लो तथ्यांक अनुसार नेपालको वंगलादेशसंगको व्यापार घाटा वर्षेनी बढ्दै गएको पाइन्छ । आर्थिक वर्ष सन् २०१५/१६ मा २ अर्व ७९ करोडको व्यापार घाटा रहेको थियो भने यो तथ्यांक आर्थिक वर्ष सन् २०१४/१५ मा १ अर्व ६४ करोड रहेको थियो । 

सो भेटवार्तामा महासंघका अध्यक्ष राणाले सन् २०१४/१५ अघि व्यापार नाफामा रहेको नेपालले अव बंगलादेशमा निर्यात हुन सक्ने वस्तुहरुको पहिचान गरी व्यापार बढाउन आवश्यक रहेको कुरामा जोडदिनु भयो । उहांले नेपालबाट के कस्ता सामग्रीहरुको निर्यात सम्भाव्यता छ, त्यसमा सहयोग गर्न राजदूत समक्ष विशेष आग्रह गर्नुभयो । अध्यक्ष राणाले औद्योगिक एवं व्यवसायिक सम्बन्ध विस्तारका लागि दुई देशका निजी क्षेत्र बीच बि टु बि मिटिङ गरी अगाडी बढ्नुपर्ने धारणा समेत राख्नु भयो । 
 
नेपालबाट खाद्य तेल, पीना र त्यसबाट बनेका वस्तुहरु, जनावरहरुको खानेकुरा, त्यसका लागि आवश्यक कच्चा पदार्थ, मुसुरोको दाल लगायतका सामग्रीहरु निर्यात हुने गरेको छ भने बंगलादेशबाट जुट तथा जुटका सामानहरु, मेसिनरी सामानहरु,औषधि तथा त्यसका लागि आवश्यक कच्चा पदार्थहरु, ड्राई मसला लगायतका खाद्य सामग्रीहरु आयात हुने गरेको छ । दुवै देशका आवश्यकता के हुन त्यसको सही पहिचान सहित संयुक्त लगानीका उद्योगहरु स्थापना हुनुपर्नेमा सो अवसरमा विशेष जोड दिइएको थियो । 

सो अवसरमा राजदुत मास्फी विनित साम्स (Mrs. Mashfee Binte Shams, Amabassador of Bangladesh to Nepal)  ले महासंघसंगको भेटवार्ता निकै महत्वपूर्ण रहेको र आपसी आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा निजी क्षेत्रको सहकार्यमा जोड दिनु भयो । उहांले दुवै देशका महासंघहरुको नियमित भेटवार्ता, छलफल मार्फत सहकार्यका क्षेत्रहरुको पहिचान गर्न आग्रह गर्नुहुंदै राजदूतावासका तर्फबाट गर्नु पर्ने आवश्यक सहयोग गर्न आफू तयार रहेको विश्वास दिलाउनु भयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by