Jul 09, 2017
महिला उद्यमीहरूको राष्ट्रिय अन्तरक्रिया ३७ बुंदे प्रतिबद्धता जाहेर गर्दै हेटौंडामा सम्पन्न (२०७४/३/२५)

नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समिति र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा हेटौंडामा आयोजित महिला उद्यमीहरुको राष्ट्रिय अन्तरक्रिया ३७ बुंदे प्रतिबद्धतापत्र जारी गर्दै सम्पन्न भएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका सम्पूर्ण जिल्ला उद्योग वाणिज्य संघहरुको प्रतिनिधित्व रहेको उक्त कार्यक्रममा ३९ वटा उद्योग वाणिज्य संघहरुको प्रत्यक्ष सहभागिता रहेको थियो भने १ सय २० जना महिला उद्यमीहरुले भाग लिनु भएको थियो । महिला उद्यमीहरुको बृहद सहभागितामा काठमाडौं बाहिर सम्पन्न यो कार्यक्रम ऐतिहासिक रहन गयो । कार्यक्रमको समुद्घाटन समारोहमा महासंघका अध्यक्ष भवानी राणाले टेलिफोन मार्फत कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो । पूर्व निर्धारित कार्यक्रमको व्यस्तताका कारण अध्यक्ष राणा प्रत्यक्ष रुपमा उक्त कार्यक्रममा उपस्थित हुन नसक्नु भए पनि सञ्चार प्रविधिको उच्चत्तम प्रयोग गरी मोवाइल टेलिफोन मार्फत यस प्रकार महासंघको इतिहासमा नै पहिलो पटक वहाँले आफ्नो सन्देश दिनु भई कार्यक्रम मुलुकभरका महिला उद्यमीहरुको व्यबसायिक विकासका लागि कोसेढुंगा हुने विश्वास प्रकट गर्नु भयो । कार्यक्रम असार २३ र २४ गते आयोजना भएको थियो ।



जारी प्रतिवद्धतापत्रमा महिलाहरुका लागि विशेष कर लगायत उद्योग स्थापनामा ५० प्रतिशत सम्मको छुट, व्यवसायिक तालिम, संविधानमा महिलाहरुका लागि बिशेष व्यवस्था रहेको धारा ५१, ५२, ५९ को १ को संवैधानिक व्यवस्थालाई समेत व्यवहारिक रुपमै लागू गर्न सरकारलाई ध्यानाकर्षण लगायतका बुँदाहरु उल्लेख गरिएका छन् । औद्योगिक नीति २०६७ ले पनि महिला उद्यमीहरुको लागि विशेष सहुलियतको व्यवस्था गरेको छ भने औद्योगिक व्यवसाय ऐन २०७३ मा समेत महिलाहरुको लागि सुविधा रहेको छ ।  

महासंघको महिला उद्यमी समितिका सभापति कमला श्रेष्ठले घरघरमा उद्यमशीलता प्रवद्र्धन गर्न नसकेसम्म देश विकास अगाडी बढ्न नसक्ने बताउनु हुंदै महासंघले मुलुकभर महिला उद्यमशीलता प्रवद्र्धनलाई विशेष रुपमा अगाडी बढाएको र यो कार्यक्रम पनि यसैको निरन्तरता भएको स्पष्ट पार्नुभयो । साथै उहांले हेटौंडा घोषणापत्रलाई अक्षरश कार्यान्वयनका लागि महासंघले सम्बन्धित निकायमा बारम्बार दवाव दिने प्रतिवद्धता समेत जनाउनु भयो । 



हिजोबाट शुरु भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर एवम् प्रमुख अतिथि हरिबहादुर महतले स्थानीय रुपमा कार्यान्वयन गर्न सक्ने विषय आफूसम्म आएमा तत्काल लागू गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर मीना लामाले आफू महिला भएकै कारण पनि महिला उद्यमीहरुका लागि गरिने कार्य आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनु भयो । 

हाल नेपालका साना ठूला उद्योग गरि करीब २ लाख उद्योग महिलाहरुले सञ्चालन गरिरहेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले बताउनु भयो । 



कार्यक्रममा महासंघका कार्यकारिणी समितिका सदस्यहरु, मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारी, सदस्य, पूर्व अध्यक्ष, सल्लाहकार, महिला समितिका सदस्य,महासंघका महासचिव सुरेश मान श्रेष्ठ, निर्देशक मीना श्रेष्ठ, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । 

For more photos please click here https://goo.gl/photos/Yxyy2b2PPb6hx6uq5
  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by