Jun 20, 2017
विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै महासंघको कार्यकारिणी समितिको बैठक सम्पन्न (२०७४/०३/०६)
 
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा आज महासंघ सचिवालयमा बसेको महासंघको कार्यकारिणी समितिको दोस्रो बैठक बिभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भयो । 

महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र कार्यकारिणी समितिका सदस्यहरूको उपस्थिति रहेको बैठकले देहायका निर्णयहरू गरेको छ । 

निर्णयहरू

१. महासंघको संशोधित विधानमा रहेको व्यवस्था अनुसार प्रदेशबाट निर्वाचित अध्यक्षहरू र मनोनित सदस्यहरूलाई महासंघको कार्यकारिणी समिति सदस्यको शपथ ग्रहण गराइयो । महासंघको कार्यकारिणी समिति सदस्यमा प्रदेशबाट निर्वाचित भएर आउनु भएका अध्यक्षहरूमा प्रदेश नम्वर १ बाट नरेन्द्र कुमार खड्का, प्रदेश नं २ बाट शिवशंकर साह(हिरा), प्रदेश नं ३ बाट दिनेश श्रेष्ठ, प्रदेश नं ५ बाट गुणनिधि तिवारी, प्रदेश नं ६ बाट पद्म बहादुर शाही, प्रदेश नं ७ बाट शंकर बोगटी र मनोनित सदस्यमा महिला उद्यमी महासंघका अध्यक्ष शारदा रिजाल हुनुहुन्छ ।



२. महासंघको उद्योग वाणिज्य संघ समूहको उपाध्यक्ष पद रिक्त भएको निर्णय सहित उक्त पदमा महासंघको विद्यमान विधानको दफा ५६(३) अनुसार सम्बन्धित क्षेत्रबाट रिक्त उपाध्यक्ष पदपूर्ति गर्ने,

३. मुलुकभित्र केही समयदेखि उद्यमी व्यवसायीहरू माथि भएको हत्या, अपहरण, वलात्कार जस्ता घटनाको तीव्र भत्र्सना गर्दै त्यस्ता घटनाहरू नदोहोरिने वातावरण बनाउन तथा मुलुकभित्र शान्ति सुरक्षाको वहालीको प्रत्याभूति सहित लगानीको वातावरण सुनिश्चित गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउने,

४. अनुसन्धानका नाउंमा आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गई उद्यमी व्यवसायी माथि गरिएका धरपकड तथा मुद्दा लगायतका कार्यहरूबाट उद्यमी व्यवसायीहरूमा त्रासको वातावरण सृजना हुन गएको र उद्योग व्यवसायनै बन्द हुने परिस्थिति निर्माण हुँदै गएकाले तत्काल त्यस्ता गतिविधि रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने,

५. बैंकहरूले पटकपटक चर्कोरुपमा बैंक व्याजदर बढाउँदै जाँदा उद्यमी व्यवसायीसहित आम सर्वसाधारणमा समेत निकै ठूलो मर्का पर्न गएकाले व्याजदर वृद्धिका सम्बन्धमा बैंकर्सहरूसंग अबिलम्व छलफल गरी समाधानका लागि पहल गर्ने,  



६.बिभिन्न राजनीतिक समूहका नाउँमा औद्योगिक क्षेत्रभित्र हालै भएका अभद्र व्यवहार, हातपात गर्ने, कालोमोसो दली उद्यमी व्यवसायीको मान मर्दन गर्ने कार्यको भत्सर्ना गर्दै तत्काल त्यस्ता कार्यमा संलग्नलाई कानूनको कठघरामा ल्याउन माग गर्ने । साथै औद्योगिक क्षेत्रमा गठन गरिएको औद्योगिक सुरक्षा बललाई साधन स्रोत सम्पन्न गर्न सरकारमा अनुरोध गर्ने ।

७. सरकारी इजाजत लिई वर्षौदेखि संचालमा रहेका रोडा ढुंगा वालुवा, प्लाष्टिक्स लगायतका उद्योग व्यवसायहरूलाई अपरझट मापदण्ड परिवर्तन गरी संचालनमा अवरोध गरिँदा यस क्षेत्रमा लगानी गर्ने उद्योगी व्यवसायीहरू संकटमा परेकाले यस सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउने, 

८. चीनसंगको प्रमुख व्यापारिक नाका तातोपानी नाका विनासकारी भुकम्प पश्चात बन्द रहँदा त्यस क्षेत्रको उद्योग व्यवसाय लगायत मुलुकको अर्थतन्त्रमा समेत निकै ठूलो असर पर्न गएकाले उक्त नाका संचालनमा ल्याउने कार्यमा चीन सरकार समक्ष आवश्यक कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउने, 

९. उद्योगी व्यवसायीसंग प्रत्यक्ष सरोकार भएको उपभोक्ता संरक्षण सम्बन्धी कानूनलाई उद्योगी व्यवसायीको सल्लाह, सुझाव र सहमती विनानै अगाडी बढाइएकाले उक्त ऐनका विषयमा निजी क्षेत्रसंग समेत पर्याप्त छलफल गरी उनीहरूका सुझावहरूलाई समेत समावेश गरी अगाडी बढाउन सम्बन्धित निकायमा पहल गर्ने ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by