»
Home
»
Introduction
»
Activities
»
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Keyword
Category















Press Release
  
सुनचाँदीको कारोवार गर्ने संघहरु बीच आपसी सहकार्यका साथ समस्या समाधान गर्ने सहमती (२०६७/५/९)
 2010-08-25 11:57:40
  
नेपाल उद्योग वाणिज्य महासंघको पहलमा सुनचाँदी व्यवसायीहरुको आन्दोलन स्थगित गरिएको छ । नेपाल राष्ट्र बैंकले सुन कारोवारमा लिएको नयाँ नीतिको विरोधमा नेपाल सुनचाँदी व्यवसायी संघले सुनचाँदी कारोवारलाई विगत केही दिनदेखि बन्द गर्दै आएको थियो । राष्ट्र बैंकले गत शुक्रवार नयाँ निर्देशिका जारी गर्दै सुनचाँदी व्यवसाय संघ सहित अन्य नेपाल रत्न तथा आभुषण संघ तथा नेपाल सुनचाँदी कला व्यवसायी संघलाई पनि आयात गरेको सुनलाई खरिद गर्नका लागि सिफारिस गर्न पाउने व्यवस्था गरेको थियो ।

महासंघले विगत केही दिनदेखी सुनचाँदी व्यवसायीहरुको समस्या समाधानका लागि आफनो तर्फबाट पहल गर्दै आएको र सोही विषयमा आज महासंघ सचिवालयमा नेपाल सुनचाँदी व्यवसायी संघ, नेपाल रत्न तथा आभुषण संघ, नेपाल सुनचाँदी कला व्यवसायी संघ र नेपाल हस्तकला महासंघको बैठकबाट सुनचाँदीको व्यवसाय व्यवस्थित गर्न नेपाल सुनचाँदी व्यवसायी संघको संयोजकत्वमा नेपाल रत्न तथा आभुषण संघ र नेपाल सुन चाँदी कला व्यवसायी संघका अध्यक्षहरु समेत रहेको "सुन चाँदी व्यवस्थापन संयन्त्र" निर्माण गरी सोही संयन्त्र मार्फत यस क्षेत्रका यावत विषयलाई सम्पादन गर्ने सहमती भएको छ ।

सो सम्बन्धमा आज महासंघ सचिवालयमा एक सहमतीपत्रमा हस्ताक्षर समेत भयो । महासंघका अध्यक्ष कुशकुमार जोशीको उपस्थितिमा महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कार तथा नेपाल हस्तकला व्यवसायी महासंघका अध्यक्ष विकास रत्न धाख्वाको रोहवरमा सहमतीपत्रमा तीनै संस्था क्रमशः नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्य, नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष रमेश महर्जन र नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष रुद्र बहादुर बराइलीले हस्ताक्षर गर्नुभयो ।

सो सहमतीपत्र यस प्रकार छः

नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा महासंघका उपाध्यक्ष श्री भाष्करराज कणिर्कारको अध्यक्षतामा आज २०६७ भदौ ९ गते तपसीलका महानुभावहरुको उपस्थितिमा एक संयुक्त वैठक बस्यो । वैठकले निम्नानुसारको निर्णय गर्‍योः

१. सुन चांदी व्यवसायीलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन संयुक्त रुपमा कार्य अघि बढाउने उद्देश्यका लागि सामूहिक रुपमा अघि बढ्न प्रतिवद्धता व्यक्त गरियो ।

२. सुन चांदीको व्यवसाय व्यवस्थित गर्न नेपाल सुन चांदी व्यवसायी संघको अध्यक्षको संयोजकत्वमा नेपाल रत्न तथा आभुषण संघ र नेपाल सुन चांदी कला व्यवसायी संघका अध्यक्षहरु समेत रहेको "सुन चांदी व्यवस्थापन संयन्त्र" स्थापित गर्ने ।

३. सुन चांदीको व्यवसायलाई व्यवस्थित बनाउन यस संयन्त्रले सुन चांदी व्यवसाय सम्बन्धमा एक वृहत कार्यविधि निर्माण गरी सोको अधिनमा रही यो संयन्त्रले आफ्नो कार्य सम्पादन गर्नेछ ।

४. संयन्त्रको सचिवालय नेपाल सुन चांदी व्यवसायी संघमा रहने र सदस्य सचिवका रुपमा नेपाल सुन चांदी व्यवसायी संघको महासचिव रहने ।

५. यस संयुक्त संयन्त्रले नेपाल सरकार, नेपाल राष्ट्र वैंक लगायत सवै निकाय र इकाईहरुमा सवै सुन चांदी व्यवसायीहरुको संयुक्त प्रतिनिधित्व गर्नेछ ।

६. यस संयन्त्रले नै दैनिक रुपमा सुन चांदीको भाउ तोक्ने र वितरण प्रणाली पनि व्यवस्थित गर्नेछ ।

७. सुन चांदीको बजारलाई खुला गर्दै लैजान आवश्यक नीति नियम तर्जुमा गर्न सरकारलाई सघाउने र कोटा बढोत्तरी आवश्यक भएमा सोका लागि पहल गर्नेछ ।

८. निर्यात प्रयोजनका लागि आवश्यक सुन चादीको अतिरिक्त कोटाका लागि नेपाल राष्ट्र वैंकमा नेपाल हस्तकला महासंघको पहललाई संयुक्त संयन्त्रले सहयोग गर्नेछ ।

९. हाल नेपाल सुन चादी व्यवसायी संघले आव्हान गरेको आन्दोलनलाई स्थगित गरी "संयन्त्र" ले तय गर्ने संयुक्त माग सहित नेपाल उद्योग वाणिज्य महासंघको पहलमा नेपाल रत्न तथा आभुषण संघ र नेपाल सुन चादी कला व्यवसायी संघ समेतको संयुक्त प्रयासमा आन्दोलनले सम्बोधन गर्न खोजेको मागहरुलाई सम्बन्धित निकाय मार्फत पूरा गराइने सहमति समेत गरियो ।

सहमतीपत्र हस्ताक्षर कार्यक्रममा महासंघका अध्यक्ष जोशीले निजी क्षेत्र एक भएमा जस्तो सुकै समस्या समाधान पनि सजिलै हुने उदाहरण यस्ले दिएको वताउंदै संयन्त्र मार्फत यस क्षेत्रलाई अझ बढी व्यवस्थित र पारदर्शी वनाएर जान सहज हुने विश्वास दिलाउनु भयो ।

महासंघका उपाध्यक्ष राजकणिर्कारले सरकारको नीतिका कारण सुनचाँदी व्यवसायमा देखा परेको समस्या समाधान सहित यस क्षेत्रको विकासका लागि व्यवसायिक संस्थाहरु बीच भएको सहमती कोशेढुंगा हुने विश्वास प्रकट गर्नुभयो ।

सो अवसरमा नेपाल हस्तकला महासंघ र सहमतीपत्रमा हस्ताक्षर गर्ने तीनै वटा संस्थाका अध्यक्षहरुले यो सहमती सुनचाँदी व्यवसायलाई व्यवस्थित पार्ने एककदम विकसित सफलता भएको बताउनु भयो ।


 
  
नेउवामहासंघका अध्यक्ष जोशीद्वारा तत्काल पूर्ण बजेट ल्याउन आग्रह (२०६७/५/६)
 2010-08-22 04:01:22
  
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले पूर्ण बजेट नआउंदा उद्यमी व्यवसायीहरुमा अन्यौलता छाएको बताउनु भएको छ । लमजुङ उद्योग वाणिज्य संघको २४ औं वाषिर्क साधारण सभाको शनिवार लमजुङमा उद्घाटन गर्नुहुंदै अध्यक्ष जोशीले समयमा बजेट आउन नसक्दाको असर मुलुकले दीर्घकालसम्म भोग्नु पर्ने बताउनु भयो ।

सम्पूर्ण क्षेत्रनै बजेट समयमा नआउंदाको गम्भीर परिणाम भोग्दै छ, उद्योग व्यवसाय क्षेत्रमा त झन ठूलो असर पर्ने छ - अध्यक्ष जोशीले भन्नु भयो - बजेट नहुंदा उद्यमी व्यवसायीहरुमा अन्यौलता बढेको छ । निरन्तर ओरालो लागिरहेको मुलुकको अर्थतन्त्रलाई थप नोक्सानी हुन नदिन तत्काल पूर्ण बजेट ल्याउन सरकारसंग माग गर्नुभयो ।

डरलाग्दो अवस्थाबाट मुलुकलाई सकुशल उद्धार गर्न राजनीतिक दलहरुलाई आव्हान गर्दै उहांले पटकपटकको निर्वाचनबाट समेत प्रधानमन्त्री छान्न नसक्दा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा राम्रो संदेश जान नसकेको बताउनु भयो । यो सबैभन्दा दूर्भाग्य हो । अव चुप लागेर नवस्न नेताहरुलाई आग्रह गर्दै राष्ट्रियहित र जनताको विश्वास जितेर काम गर्न आग्रह समेत गर्नुभयो । निर्धारित समयभित्र संविधान निर्माण गर्नुपर्ने ठूलो अभिभारा बोकेका राजनीतिक दलहरुबाट मूल कार्यमा भएको ढिलाई तथा सत्ता प्राप्तिका लागि भएको किचलोले राम्रो संदेश नदिएको भन्दै निर्धारित मितिमै संविधान निर्माण गरि मुलुकलाई सही दिशा दिन अध्यक्ष जोशीले आग्रह गर्नुभयो ।

अध्यक्ष जोशीले निजी क्षेत्र राष्ट्र निर्माणको संवाहक भएकाले विकासका लागि निजी क्षेत्रसंग साझेदारी गर्नुपर्नेमा जोड दिंदै उद्यमी व्यवसायीहरुलाई सामाजिक उत्तरदायित्व सहितको व्यवसाय गर्न आग्रह समेत गर्नुभयो ।

सो अवसरमा शुभ-कामना मन्तव्य दिंदै व्यवसायीहरुले शान्ति सुरक्षाको स्थायी व्यवस्था सहित निर्धारित समयमा संविधान निर्माण, वर्तमान राजनीतिक अन्यौलता तथा प्रधानमन्त्री निर्वाचन प्रक्रियालाई एउटा निष्कर्षमा पुर्‍याउन आग्रह गर्नुभएको थियो ।

सो अवसरमा संघका पूर्व अध्यक्ष स्व. रमेशकुमार पियालाई मरणोपरान्त सम्मान गरिएको थियो । त्यसैगरि संघका उत्कृष्ट कर्मचारी कुसुम श्रेष्ठलाई पनि सो अवसरमा सम्मान गरिएको थियो । साधारण सभामा संघका इकाईहरु भोटेओडार र उदीपुरलाई सचिवालय निर्माणका लागि रु. १/१ लाख आर्थिक सहयोगको घोषणा गरिएको थियो भने शुन्दरवजार इकाईलाई उत्कृष्ट इकाईको रुपमा सम्मान गरिएको थियो । कार्यक्रम संघका अध्यक्ष प्रमोदकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।


 
  
नेपाली निजी क्षेत्रसंगको सहकार्यलाई अझ मजवुद बनाउन नेदरल्याण्ड सहयोग नियोग इच्छुक (२०६७/५/२)
 2010-08-18 03:56:58
  

स्थानीय जनतालाई आर्थिक क्रियाकलापको मूलधारमा समावेश नगरेसम्म उनीहरुको जीवनस्तर उकास्न नसकिने हुंदा दातृ निकायहरुलाई निजी क्षेत्रसंग अधिकतम सहकार्य गर्न नेपाल उद्योग वाणिज्य महासंघले नेदरल्याण्ड सहयोग नियोग (Netherlands Development Organisation - SNV) का पदाधिकारीहरुलाई सुझाव दिएको छ । स्थानीय जनतालाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन विभिन्न कार्यक्रमहरु मार्फत महासंघ स्थानीय तहमा क्रियाशिल भैरहेको अवस्थामा यो सुझाव दिएको हो ।

महासंघका अध्यक्ष कुशकुमार जोशी, उपाध्यक्ष कृष्णप्रसाद ताम्राकार र एसएनभी - एशिया क्षेत्रीय निर्देशक एण्डी वीकेम्प (Andy Wehkamp - Regional Director, Asia) र अलर्ट भेन डीन हेम (Allert Van den Ham - Regional Director SNV, Asia Region) बीच आज महासंघ सचिवालयमा भएको भेटघाटमा महासंघका तर्फबाट सो सुझाव दिइएको हो ।

नेपालमा व्यावसायिक कृषि विकासमा महासंघको कृषि उद्यम केन्द्रले एसएनभी नेपालसंग मिलेर विभिन्न जिल्लाहरुमा कार्यक्रमहरु संचालन गर्दै आएको छ । सो भेटघाटमा महासंघका अध्यक्ष जोशीले नेपालको विकास प्रयासमा एसएनभीले पुर्‍याउंदै आएको सहयोगको सराहना गर्दै दीगो आर्थिक विकासका लागि ग्रामिण क्षेत्रमा आर्थिक क्रियाकलाप विस्तार गर्दै स्थानीय जनतालाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउनु पर्नेमा जोड दिनु भयो । महासंघले आफना विभिन्न कार्यक्रमहरु मार्फत स्थानीय जनताको शीप विकास, रोजगारी अभिवृद्धि, व्यावसायिक कृषि विकासका लागि कार्यक्रमहरु संचालन गर्दै आएको र कतिपय कार्यक्रममा एसएनभी जस्ता संस्थाहरुसंग सहकार्य गरि जान सकिने सम्भावना रहेको बताउनु भयो ।

स्थानीय तहमा वस्तु उत्पादन विकास गरि निश्चित मुल्य अभिवृद्धिका माध्यमबाट राष्ट्रिय अन्तराष्ट्रिय बजारसम्म पुर्‍याउन महासंघले आफ्ना सदस्य संघहरुको प्रत्यक्ष सहभागितामा "एक गाउँ एक उत्पादन" कार्यक्रम, यूवाहरुको शीप विकासका लागि "ट्रेड स्कूल" जस्ता कार्यक्रमहरु सफल संचालन गरिरहेको र निजी क्षेत्रको सहभागितामा संचालित अधिकांश कार्यक्रमहरु सफल समेत रहेकोले सहकार्यका लागि आग्रह समेत गर्नुभयो । कार्यक्रममा आधारित सहयोग भन्दा पनि महासंघ र एसएनभी जस्ता संस्था बीच निरन्तर सहकार्य र समन्वयको संयन्त्र निर्माण हुनु पर्नेमा जोड दिनु भयो ।

एसएनभी नेपालका देशीय निर्देशक ह्यान्स हेज्रा (Hans Heijdra - Country Director, SNV Nepal), महासंघका महानिर्देशक हेमन्त दवाडी र एसएनभी नेपालका पोर्टफोलियो कोअर्डिनेटर उज्जवलराज पोखरेलको पनि सहभागिता रहेको सो भेटघाटमा उपाध्यक्ष ताम्राकारले कृषिको व्यवसायीकरण तथा वाँसमा आधारित उद्यमशीलता विकासका लागि एसएनभी नेपालसंग मिलेर कार्यक्रम संचालन भएको र सो कार्यक्रम निकै प्रभावकारी भएकाले आगामी दिनमा थप नयाँ क्षेत्रहरुमा कार्यक्रम संचालन हुन आव्हान गर्नु भयो ।

सो अवसरमा एसएनभीका पदाधिकारीहरुले आफ्नो संस्था र नेपाली निजी क्षेत्र बीच हालसम्म भएको कार्यक्रम एव प्राप्त उपलव्धीका विषयमा जानकारी लिने उद्देश्यले आफूहरुको नेपाल भ्रमण भएको र छिट्टै पुनः भ्रमण गरि महासंघ र यसको मुलुकभर फिजिएर रहेको संजालका पदाधिकारीहरुसंग वसेर थप कार्यक्रमहरु तयगर्ने बताउनु भयो । साथै उहाँहरुले हालसम्म संचालन भएका कार्यक्रमहरुबाट प्राप्त उपलव्धी एवं महासंघको सक्रिय सहभागिताको प्रशंसा समेत गर्नुभयो ।


 
  
नेपाल भारत आर्थिक सम्बन्ध विस्तारमा जोड (२०६७/४/२७)
 2010-08-12 04:40:14
  

नेपाल र छिमेकी देश भारत बीच आर्थिक साझेदारीलाई अझ कसरी प्रगाढ बनाउदै लैजान सकिन्छ र आर्थिक सम्बन्धलाई निरन्तरता दिन सकिन्छ भन्ने सम्बन्धमा आज महासंघ सचिवालयमा दुवै देशका पदाधिकारीहरु बीच वृहद छलफल भयो ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरज वैद्यको नेतृत्वमा महासंघका पदाधिकारीहरु तथा भारतीय सुरक्षा अध्ययन तथा विश्लेषण संस्था (Indian Institute of Defence Studies and Analysis) का तर्फबाट भारतीय परराष्ट्र मन्त्रालयका सहसचिव डा. अरविन्द गुप्ता एवं नेपालका लागि पूर्व भारतीय राजदुत केभी राजन संलग्न उच्च अधिकारीहरु बीच आज भएको छलफलमा राजनीतिक अस्थिरताका बीच आर्थिक मुद्दाले उच्च प्राथमिकता पाउनु पर्नेमा जोड दिइयो ।

महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, उपाध्यक्ष भाष्करराज राजकणिर्कार, कार्यकारिणी समिति सदस्यहरु कुमुदकुमार दुगड, अशोक कुमार तोदी, ज्ञानेन्द्रलाल प्रधान, महासंघका पूर्व महानिर्देशक वद्री प्रसाद ओझा, पूर्व सचिव भरतबहादुर थापा सहभागी रहनु भएको सो छलफलमा आयात निर्यात, संयुक्त लगानी, नेपाली वस्तुहरुको भारत निकासीको क्रममा उत्पन्न समस्या, लगानीका सम्भाव्य क्षेत्रहरु, सिमा क्षेत्रमा उत्पन्न सुरक्षा समस्या, बढ्दो व्यापार घाटा, आर्थिक सम्बन्ध विस्तारका क्रममा देखा परेका नविनतम चुनौती, प्राकृतिक विपत्ति पर्दाका वखत हुनु पर्ने सहयोग लगायतका विषयमा छलफल भयो । आर्थिक व्यावसायिक सम्बन्ध विस्तार गरि दुवै देशका जनताहरुलाई लाभान्वीत गर्ने सम्बन्धमा वाणिज्य तथा पारवहन सन्धिमा उल्लेख भएका प्रावधानहरुलाई अक्षरस कार्यान्वयन गर्न दुवै देशका सरकारहरुलाई दवाव दिनुपर्नेमा पनि जोड दिइयो ।

सो अवसरमा भारतीय प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका कार्यवाहक अध्यक्ष वैद्यले अत्यन्त सही समयमा भएको यो बैठक दुई देश बीचको सम्बन्धलाई अझ नजिक ल्याउन निकै महत्वपूर्ण हुने बताउनु भयो । नेपाली निजी क्षेत्रले यसलाई निकै महत्वका साथ हेरेको छ-अध्यक्ष वैद्यले भन्नुभयो - बढ्दो व्यापार घाटानै यतिखेर नेपालका लागि निकै ठूलो चुनौती हो - यस अवस्थामा नेपालमा सम्भाव्यता रहेको जलविद्युत उत्पादनमा संयुक्त लगानी विस्तार गरि उत्पादित जलविद्युत भारत निकासी गरि व्यापार घाटालाई न्यून गर्न हाम्रो सामूहिक प्रयास होस ।

सो अवसरमा भएको छलफलमा महासंघको तर्फबाट विद्युत प्रशारण लाईन विस्तार, सिमा सुरक्षालाई चुस्त पार्नुपर्ने, नेपाली कृषि उत्पादन भारत निकासीका क्रममा आइपरेका क्वारेन्टाइन, ल्याव परिक्षण प्रणालीलाई प्रभावकारी, सहज सरल बनाउनु पर्ने, सिमा भंसार नाकाहरुलाई सुविधा सम्पन्न र आधुनिक रुपमा संचालन हुन सहयोग हुनु पर्ने, कोशीको बाढी दुवै देशका लागि ठूलो समस्या भएकाले यसको दीर्घकालिन नियन्त्रणका लागि प्रभावकारी कदम चालिनु पर्ने, अनावश्यक र झन्झटिला नीतिगत समस्याहरुलाई हटाउनु पर्नेमा लगायतमा जोड दिइयो ।

सो अवसरमा भारतीय पक्षबाट नेपाली निजी क्षेत्रसंग आर्थिक व्यवसायिक लगायतका विषयमा व्यापक छलफल गरि प्राप्त सुझावहरुलाई आफूहरुले भारतीय सरकार, निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरु र अन्य सरोकारवाला संस्थाहरुसंग वसेर छलफल गरि अगाडी बढ्ने विश्वास दिलाउंदै राजनीतिक तहबाट आर्थिक मुद्दामा न्यूनतम प्रतिवद्धता भएको खण्डमा नेपालको आर्थिक विकास द्रुततर गतिमा अगाडी बढ्न सक्ने र जलविद्युत क्षेत्रलाई लगानी आकर्षाको मुख्य क्षेत्रको रुपमा विकास गरि लैजानु पर्नेमा जोड दिइएको थियो ।


 
  
चिया उद्योगी माथि गरिएको व्यवहारको महासंघद्वारा निन्दा (२०६७/४/२५)
 2010-08-10 03:47:18
  
झापा जिल्लामा संचालित चिया उद्योगहरुमा हाल देखा परेका समस्याहरुलाई नेपाल उद्योग वाणिज्य महासंघ समेतको सहभागितामा वार्ताद्वारा समाधान गर्ने प्रयत्न भईरहेको अवस्था यही २०६७ साल श्रावण १९ का दिन साना किसानहरुको नाउँमा केहि व्यक्तिहरु उद्योगीहरुको घरघरमा गई अशिष्ट व्यवहार भएकोमा महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । वार्ताका माध्यमबाट समस्या समाधान गर्न जोड दिई रहेको अवस्थामा भएका यस्ता अर्मादित कार्यको महासंघ निन्दा एवं भर्त्सना गर्दछ ।

चिया उद्योगमा उत्पन्न विवादहरुलाई विगतदेखिनै बार्ताका माध्यमबाट सफल रुपमा समाधान गर्दै आएको अवस्थामा जवरजस्ती तथा अमर्यादित रुपमा भएको यस प्रकारको व्यवहारले आपसी सम्बन्ध थप असहज बन्न जाने तर्फसचेत भई दीर्घकालिन रुपमा प्रभाव पर्ने यस्ता समस्याको समाधानका दौरानमा मर्यादित तरिकाले प्रस्तुत हुन समेत महासंघ सम्बन्धित पक्षसमक्ष गम्भीर आग्रह गर्दछ ।
 

 
 
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 
 
 



 © Copyright 2005-2010. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.
Designed and Maintained by Yomari